१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किसानको पसिनामा बिचौलियाको रजाई

डोकोमा बोकेर ल्याएको तरकारी व्यापारीलाई राख्न आग्रह गर्दै स्थानीय किसान। तस्बिरः बिरा गडाल/नागरिक

बैतडी – एक किलो फूल गोभीको २० रुपैयाँ त्यो पनि व्यापारीले रोजे जस्तो भएमात्र। दशरथचन्द नगरपालिका–४, जर्गका देवानन्द पाण्डेय उत्पादन गरेको तरकारी डोकोमा बोकेर गोठालापानी पुर्‍याउछन्। व्यापारीले भनेको दरमै दिनुपर्ने उनको बाध्यता छ। तरकारी व्यापारीलाई बिन्ती गर्दा बल्लतल्ल आफ्नो रोजेको भाउमा राख्ने गर्छन्।

किसानले उत्पादन गरेको तरकारीको मूल्य व्यापारी आफैं तोक्छन्। त्यही मूल्यमा किनबेच हुन्छ। त्यही तरकारी बजारमा किन्दा १५–२० रुपैयाँ महँगोमा उपभोक्ताले किन्छन्। किसानले उत्पादन गरेको कृषि उपजमा बिचौलियाले मनपरी गर्दा किसान र उपभोक्ता मारमा परेका छन्। ‘हामीपनि ठगिएका छौं,’ गोठालापानीका उपभोक्ता खेमानन्द भट्टले भने, ‘नाफा जती सबै व्यापारीलाई।’

व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका किसान बिचौलियाको मारमा पर्दै आएका छन्। व्यापारीले सक्दो नाफा लिने उद्देश्यले सस्तोमा लिन थालेपछि उत्पादित तरकारी बजार पुर्‍याउन किसान हच्कचाउने गरेका छन्। ‘सस्तोमा बेच्ने हो भने खर्च पनि उठाउन समस्या हुन्छ,’ किसान किसनसिंह मालले भने,‘ सस्तोमा बेच्न सकिएन, तरकारी बारीमा कुहिँएर सकिने अवस्थामा पुगेको छ।’

बजारमा तरकारीको भाउ दिनानुदिन आकाशिदै गएको छ। तर किसानले भने मूल्य पाउन सकेका छैनन्। तरकारी व्यापारीले मन परी मूल्य निर्धाण गरेको स्थानीयको गुनासो छ। ‘बजारका हरेक तरकारी पसलले आफै मूल्य तोक्छन्,’ गोठालापानीका उपभोक्ता तेजप्रसाद पाण्डेले भने, ‘एउटा तरकारीको बजारमा पसलै पिच्छे फरकफरक दर छ।’

जर्गकै प्रकाश पाण्डेयलाई पनि यस पालाको तरकारी खेतीमा नोक्सानी हुने चिन्ताले सताएको छ। उत्पादित तरकारी बजारमा लगेर सस्तोमा दिनुपर्दा पसिनाको अवमुल्यन भएको भान उनलाई हुने गरेको छ। व्यापारीलाई भाउ नमार्न बिन्ती गर्दा समेत नटेर्ने गरेको किसानको गुनासो छ।

आफू खुसी मूल्य तोक्ने व्यापारीको अर्को मनपरी पनि छ। उनीहरूले पुरै तौलको पैसा पनि दिँदैनन्। एक क्विन्टल तरकारीमा १० किलो घटाएर मात्र दिन्छन्। तरकारी सड्ने, डाँठ र पातको मूल्य घटाएर दिने गरेको किसानको गुनासो छ। मिहेनत गरेर फलाएको तरकारीमा व्यापारीले रजाई गर्दा व्यवसायिक किसान हतोत्साहित भएका छन्। स्थानीय व्यापारीले मूल्य नदिए पनि केही किसान भने तराईका बजारसम्म आफैं लैजाने गरेका छन् तर, सबैले त्यस्तो गर्न सक्तैनन्। झन गाडीभाँडा अन्य खर्चको सीमा बढ्दा किसानलाई मार पर्ने गरेको छ।

जिल्ला कृषि विकास कार्यालय पनि किसानको तरकारीमा बिचौलियाले फाइदा लुटिरहेको बताउँछ। यो समस्या लामो समयदेखि रहिआए पनि समाधान हुन नसकेको कार्यालयको भनाइ छ। किसानको क्षेत्रमा क्रियाशिल एनजिओ/आइएनजिओले पनि ध्यान दिन सकेका छैनन। तरकारी उत्पादनको लागि सहयोग गर्दै आएका संघसंस्था बजार व्यवस्थापनमा भने लागेका छैनन्। ‘तरकारी उत्पादन गर भन्छन्, बीउ बिजन मलखाँद पनि दिन्छन्। पञ्चेश्वर गाउँपालिका–२ का रामी चन्दले भने, कहाँ लगेर बेच्ने बजार खोज्न हामीलाई समस्या पर्छ।’

जिल्लाका केही कृषि सहकारीले भने किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन सहयोग गर्दै आएका छन्। कतीपय सहकारीले किसानको तरकारी किनेर बजारमा लैजाने गरेका छन्, तर सीमित सहकारी यसमा संलग्न छन्। अधिकांश किसानको कृषि उपज कित बिचौलियाले लिएर फाइदा उठाउँछन् भने कि त खेतमै सड्ने गरेको छ।

‘किसानले तरकारी खेती गर्छ तर उसले बजारमा उत्पादन बिक्री गर्ने ठाउँ पाउँदैन,’ जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी कर्णबहादुर चन्दले भने, तरकारी बेच्ने हाट बजारसमेत छैन।’ जिल्लाका स्थानीयतहले कृषिलाई प्राथमिकतामा राखे पनि कृषिउपज बिक्रीका लागि हाट बजारको व्यवस्था गर्न सकेका छैनन्। जनप्रतिनिधि चुनिएर आएको करिव ९ महिना बित्दासमेत बैतडीका १० स्थानीयतहमध्ये एउटामा पनि हाट बजारको व्यवस्था छैन। बजारको व्यवस्था भए किसान आफ्ना उत्पादन सजिलै आफूले चाहेको मूल्यमा बेच्न पाउथे।

किसानलाई मार्का नपार्न मूल्य निर्धारणमा सरकारी निकायको सहभागिता रहन सके किसानले उचित मूल्य पाउने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउँछन्। जिल्लाका तरकारी पकेट क्षेत्रमा शितहाउसको व्यवस्था गर्नसके किसानले फाइदा लिन सक्ने चन्दको भनाइ छ। आफैं उत्पादन गर, बजार खोज अनि उचित मुल्य नपाउँदा व्यवसायिक रुपमा लागेका किसान धरासायी बन्ने क्रम बढेको अध्यक्ष चन्दले बताए।

प्रकाशित: २५ चैत्र २०७४ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App