१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेल्जियम फर्कन क्याटलन पूर्वनेताको इच्छा

बर्लिन – जर्मनीमा रहेका क्याटलोनियाका पूर्व नेता कार्लेस पुइगडेमन्टले आफू बेल्जियम जाने इच्छा व्यक्त गरेका छन्।

सार्वजनिक कोषको दुरुपयोग गरेको आरोप लागेका पुइगडेमन्टलाई स्पेनसमक्ष सुपुदर्गी गर्ने वा नगर्ने भन्ने विषय बर्लिनस्थित एउटा अदालतमा विचाराधीन रहेकै समयमा उनले हाल आफू जर्मनीमै बसेपनि अन्ततः बेल्जियम नै फर्कने बताएका हुन्।

गत साताको बिहीबार जर्मनीको एउटा अदालतले पूर्व क्याटलन राष्ट्रपतिसमेत रहेका पुइगडेमन्टलाई स्पेनसमक्ष सुपुदर्गी गर्न म्याड्रिडले गरेको आग्रहलाई अस्वीकार गरेको थियो। पुइगडेमन्टले क्याटलन क्षेत्रलाई स्पेनबाट स्वतन्त्र बनाउने अभियानमा देशद्रोहको भूमिका निर्वाह गरेको भन्दै म्याड्रिडले उनलाई सुपुदर्गी गर्न जर्मनीसँग आग्रह गरेको थियो । देशद्रोहबारेको जटिल विषयमा यदि पुइगडेमन्ट दोषी ठहर भए भने स्पेनी कानुनअनुसार कम्तीमा २५ वर्ष जेल जीवन बिताउनु पर्नेछ।

‘बेल्जियम फर्कने मेरो इच्छा छ। तर यहाँ जर्मनीमा अदालतको फैसला भएपछि मात्रै म बेल्जियम फर्कने छु,’ बर्लिनमा पत्रकारसमक्ष पुइगडेमन्टले बताए। ‘निश्चय पनि मेरो योजना बर्लिन मै बस्ने रहेको छ। मुद्दाको फैसला नभएसम्म यो मेरो वासस्थान हो,’ उनले बताए।

विवादास्पद जनमत संग्रहमार्फत् एकलौटी ढंगले क्याटलोनियाको संसद्बाट क्याटलन क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि पाँच महिना अघि म्याड्रिडले क्षेत्रीय सरकारमाथि प्रत्यक्ष शासन लागू गरेको थियो। त्यसपछि पुइगडेमन्ट स्पेन छोडेर बेल्जियम भागेका थिए। स्पेनले युरोपेस्तरको पक्राउ पुर्जी जारी गरेपछि डेनमार्क हुँदै जर्मनी छिर्ने बेला उनलाई गत महिना जर्मन प्रहरीले पक्राउ गरेको थियो।

पुइगडेमन्टलाई सुपुदर्गी गर्नेबारे जर्मन अदालतको निर्णयलाई सम्मान गर्ने स्पेन सरकारले बताए पनि त्यहाँको सर्वोच्च अदालतले भने बिहीबारको जर्मन अदालतको निर्णयका विषयमा युरोपेली न्याय अदालतसँग छलफल गर्ने बताउँदै थप विवरण भने दिएको छैन।

गत वर्ष स्वघोषित रूपमा निर्वासनमा गएका क्याटलोनियाका पूर्व राष्ट्रपति पुइगडेमन्ट र अन्य चार जना क्याटलन नेताविरुद्ध स्पेनको सर्वोच्च अदालतले गत महिना अन्तर्राष्ट्रिय पक्राउ वारेन्टलाई पुनः सुचारु गरेको थियो।

प्रकाशित: २५ चैत्र २०७४ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App