१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य क्षेत्रमा ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी

रसुवा – जिल्लाका स्वास्थ्य संस्थाले सञ्चालन गर्ने विभिन्न गतिविधि कार्यालयमा नै बसेर अद्यावधिक गर्नका लागि सुरु गरिएको ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी बनेको छ।

मासिक प्रतिवेदन कार्यालयबाटै अनलाइनमा अद्यावधिक गर्न सकिने भएपछि सहज भएको जिल्लाका स्वास्थ्य संस्थाहरूले जनाएका छन्। अनलाइन रिपोर्टिङ सुरु भएसँगै मासिक प्रतिवेदन बोकेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको गोल्जुङ स्वास्थ्य चौकीका प्रमुख रूपलाल ढकालले जानकारी दिए।

‘यसअघि मासिक प्रतिवेदन बोकेर सदरमुकाम जानुपथ्र्याे,’ ढकालले भने, ‘अहिले कार्यालयमा बसेर अद्यावधिक गर्दा सहज भएको छ।’ इन्टरनेटको पहुँच पुगेका स्थानका स्वास्थ्य संस्थाले गत साउनदेखि अनलाइन रिपोर्टिङ सुरु गरेका थिए।

जिल्लामा रहेका २२ वटा स्वास्थ्य संस्थामध्ये १६ वटा स्वास्थ्य चौकीमा इन्टरनेट जोडिएको छ। इन्टरनेट नपुगेका केही संस्थाले मोबाइल डाटाको प्रयोग गरेर अनलाइन रिपोर्टिङ  गरिरहेका  छन्।

नौकुण्ड गाउँपालिकामा रहेको यार्सा स्वास्थ्य चौकी र लाङ्बु सामुदायिक संस्था एकाइले मोबाइल डाटाको प्रयोग गरेर तथ्यांक अद्यावधिक गरिरहेका छन्। अनलाइन रिपोर्टिङ सुरु भएसँगै मासिक रूपमा फाइल बोकेर सदरमुकाम आउनुपर्ने बाध्यता हटेपछि स्वास्थ्यकर्मी हर्षित भएका छन्।

इन्टरनेट जडान गरिएका जिल्ला अस्पताल, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइले कार्यालयमा नै बसेर अनलाइन रिपोर्टिङ गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका वरिष्ठ स्वास्थ्य प्रशासक गुणनिधि शर्माले जानकारी दिए।

अनलाइनबाट एकै दिनमा रिपोर्टिङ हुने, छिटोछरितो हुने र गुणस्तरीय तथा विश्वसनीयसमेत हुने वरिष्ठ स्वास्थ्य प्रशासक शर्माले बताए।

जिवजिवे प्राथामिक स्वास्थ्य केन्द्र, डाँडागाउँ, थुमन, स्याफ्रुबेसी र गोल्जुङ स्वास्थ्य चौकीले साउनदेखि अनलाइन रिपोर्टिङ सुरु गरेका थिए भने अन्यले असोजपछिका महिनाबाट सुरु गरेका थिए।

इन्टरनेट अभावमा भोर्ले, वृद्धिम र गत्लाङका स्वास्थ्य चौकीले अनलाइन रिपोर्टिङ सुरु गरेका छैन्। अनलाइन रिपोर्टिङका लागि प्रत्येक स्वास्थ्य संस्थाका दुईजना कर्मचारीलाई अनलाइन प्रणालीसम्बन्धी तालिम प्रदान गरिएको थियो। पहिलो चरणमा २७ जना कर्मचारीले तालिम पाइसकेका छन्।

हरेका संस्थामा इन्टरनेट जडान भएसँगै स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन सीधै स्वास्थ्य सेवा विभाग, केन्द्रीय व्यवस्थापन महाशाखामा बुझाउन सक्ने व्यवस्था छ। यसअघि सदरमुकाम धुन्चेबाट टाढा रहेका गाउँबाट मासिक प्रतिवेदन ल्याउन समस्या रहेको थियो।

प्रकाशित: २५ चैत्र २०७४ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App