१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आधा मिलको सुरु, आधाकोे बाँकी

काठमाडौं – चैत २२ गतेदेखि भुक्तानी सुरु गर्ने समय तालिका निकाल्ने प्रतिबद्धता जनाएका एक दर्जन चिनी मिलमध्ये आधाले मात्र सूचना प्रकाशित गरेर भुक्तानी सुरु गरेका छन्। बाँकी ६ वटा मिलले भुक्तानी गर्ने सूचना जारी गरेका छैनन्। कतिपय मिल सम्पर्क मै नआएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

चैतको दोस्रो हप्ता उद्योग मन्त्रालयमा उद्योग मन्त्री, चिनी उद्योगी र किसानको बैठकमा मुलुकभर सञ्चालन भएका एक दर्जन चिनी मिलले किसानलाई दिन बाँकी भुक्तानी चैत २२ गतेदेखि सुरु गर्ने प्रतिबद्धता जनाएका थिए। चिनी मिलहरूले किसानलाई उखुको साढे नौ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

एभरेस्ट सुगर मिल, इन्दुशंकर सुगर मिल, रिलायन्स सुगर मिल र हिमालय चिनी मिलले बिहीबारदेखि भुक्तानी सुरु गरेको उद्योगमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले बताए। विष्टका अनुसार श्रीराम सुगर मिल र इस्टर्न सुगर मिलले आइतबारदेखि भुक्तानी सुरु गर्ने जनाएका छन्।

एभरेस्ट र इन्दुशंकरले माघ १५ गतेसम्म क्रसिङ गरेको उखुको भुक्तानी वैशाख २८ गतेसम्म गर्ने र बाँकी अर्को वर्ष गर्ने गरी सूचना निकालेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

बाँकी ६ वटा चिनी मिलले शुक्रबारसम्म भुक्तानी गर्ने सूचना जारी गरेका छैनन्। कतिपय चिनी मिल सञ्चालक सम्पर्कबाहिर छन्। ‘कतिपय चिनी मिलले सूचना निकालेको जानकारीमा आएको छैन,’ विष्टले शुक्रबार नागरिकसँग भने, ‘नवलपरासीको अन्नपूर्ण र इन्दिरा सुगर मिल सम्पर्कबाहिर छन्।’

भुक्तानी दिन सुरु नगर्ने चिनी मिललाई के गर्ने भन्ने विषयमा छिट्टै निर्णय गर्ने उद्योग मन्त्रालयले जनाएको छ। कतिपय चिनी मिलले आफ्नो गोदाममा थुप्रै चिनी नबिकेर थन्किएको बताउँदै भुक्तानी गर्न नसक्ने अडान राखेका छन्। चिनी मिल सञ्चालकहरूले चिनी आयात गर्दा लाग्ने भन्सार महसुल, मूल्य लगायत मुद्दा उठाइरहेकोले त्यो मुद्दा पनि सम्बोधन हुने मन्त्रालयले जनाएको छ।

सरकारले अहिलेसम्म पनि यस वर्षको उखुको मूल्य तोकेको छैन। मूल्य तोक्न बनेको समितिले गरेको सिफारिस अनुसार उद्योग मन्त्रालयले प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोक्न सिफारिस गरेको छ। मूल्य तोक्ने विषय मुख्यसचिव समक्ष पुगिसके पनि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ।

चिनी मिलहरूले किसानबाट उधारोमा उखु किनेर लामो समयसम्म भुक्तानी नगर्दा किसान मर्कामा परेका छन्। मैनालीका अनुसार महोत्तरीको एभरेस्ट सुगर मिलले एक अर्ब ४० करोड, सर्लाहीको इन्दुशंकर सुगर मिलले एक अर्ब ३० करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ। त्यसैगरी, बाराको रिलायन्स सुगर मिलले एक अर्ब, श्रीराम सुगर मिलले ६८ करोड रुपैया तिर्न बाँकी छ । श्रीरामले २३ करोड रुपैयाँ तीन–चार वर्षदेखि कै बाँकी राखको छ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलले ३० देखि ३५ करोड, सुनसरीको इस्टर्न सुगर मिलले ४० देखि ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। नवलपरासीमा रहेका वागमति सुगर मिल, लुम्बिनी चिनी र इन्दिरा चिनी मिल, कञ्चनपुरको महाकाली चिनी मिल र भानेश्वरी चिनी मिलले पनि किसानको पैसा भुक्तानी गर्न बाँकी छ।

उद्योगीले समयमै भुक्तानी नगर्ने र सरकारले समयमै उखुको मूल्य नतोक्ने प्रवृत्ति दोहोरिँदा उखु उत्पादनमा समेत असर गर्दैै आएको छ। गत वर्षसम्म उखु उत्पादन घट्दै गरेकामा यस वर्ष भने बढ्ने अनुमान छ। गत वर्ष स्वदेशमा एक लाख ३० हजार टन चिनी उत्पादन भएको थियो। यस वर्ष बढेर एक लाख ७० हजार टन पुग्ने अनुमान छ । हरेक वर्ष उखु किसान पलायन भइरहेको बेला पोहोर साल सरकारले तोकेको मूल्यमा किसान सन्तुष्ट भएपछि यस वर्ष उत्पादन बढेको किसानको भनाइ छ।

हाल मुलुकमा ८० हजार नौ सय ३१ हेक्टरमा उखु खेती छ। यसबाट वार्षिक ३१ लाख टन उखु उत्पादन हुन्छ। उखुमा झन्डै तीन खर्ब रुपैयाँ बराबर लगानी छ। यस क्षेत्रमा लाख हाराहारी किसान संलग्न रहेका छन्।

मुलुकमा हाल १२ वटा चिनी मिल सञ्चालनमा छन्। नयाँ मिल खोल्ने क्रम पनि जारी छ।

प्रकाशित: २५ चैत्र २०७४ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App