१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसमा पदाधिकारी मनोनयनको तयारी

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशन भएको २६ महिनापछि पदाधिकारी मनोनयनको गृहकार्य सुरु गरेका छन्। पदाधिकारी अन्य निकाय गठन नहुँदा देउवाको चौतर्फी आलोचना भइरहेका बेला केन्द्रीय समितिको आगामी बैठकमा नाम प्रस्ताव गर्ने गृहकार्यमा उनी जुटेका हुन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट सुरु बैठकको अन्तिम दिन देउवाले पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्नेछन्। प्रस्तावित नाममाथि त्यसको केही दिनभित्र अर्को बैठक राखेर टुंगो लगाउने सभापति देउवाको तयारी छ।

सभापतिको प्रस्तावमा केन्द्रीय समितिले मनोनयन गर्ने एक/एक उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनै पदमा देउवाले निकट नेताको नाम प्रस्ताव गर्ने गृहकार्य छ। नेता रामचन्द्र पौडेल पक्षले पार्टी विधि र विधानअनुसार नचलेको भन्दै सभापति देउवाको आलोचना गरेपछि पदाधिकारीमा निकटको नाम समेटेर प्रस्ताव लैजान लागेका हुन्।

‘सांसद, पदाधिकारी र सरकारमा भाग पनि चाहिने अनि विधि र विधानको कुरा पनि गर्ने सुहाउने कुरा होइन,’ देउवा निकट एक सदस्यले भने, ‘उहाँहरू (रामचन्द्र पौडेल)ले विधानको कुरा गर्दै आउनुभएको सभापतिले पार्टी विधानअनुसारै पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्नुहुन्छ।’

पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई उपसभापतिमा मनोनयन गर्ने सभापति देउवाको आन्तरिक गृहकार्य छ। यद्यपी पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सोही पदको दाबी गर्दै आएका छन्। एक महामन्त्रीमा नेता पूर्णबहादुर खड्काको सम्भावना बढेर गएको छ। केही दिनअघिसम्म पूर्वसहमहामन्त्रीसमेत रहेका खड्काभन्दा नेता ज्ञानेन्द्रबहादुर कार्कीको नाम अघि रहेको निकटहरू बताउँछन्।

‘नाम प्रस्ताव नगरेसम्म उहाँ (सभापति)को भर छैन,’ एक नेताले भने, ‘परिस्थिति बद्लिएको छ महामन्त्रीमा कार्कीभन्दा खड्काको सम्भावना बढेर गएको छ। उपसभापतिमा निधिको नाम जान्छ।’

एक सहमहामन्त्रीमा नेता प्रकाशशरण महतको नाम प्रस्ताव गर्ने देउवाको तयारी छ। पदाधिकारी मनोनयनमा पौडेल पक्षसँग भागबन्डा गर्न नपरे मानबहादुर विकलाई सहमहामन्त्री मनोनित गर्ने देउवाले आश्वासन दिएका थिए। तर निर्वाचनपछि पौडेल पक्षलाई कुनै पनि पदाधिकारी नदिने पक्षमा पुगेका देउवाको प्राथमिकता महतमाथि परेको छ।

कांग्रेस विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक/एक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनका लागि सभापतिले केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्ने व्यवस्था छ। प्रस्तावित नाममा सहमति जुट्न नसके निर्वाचित केन्द्रीय सदस्यको बैठकले त्यसको टुंगो लगाउने प्रावधान विधानमा छ।

८५ सदसीय केन्द्रीय समिति रहेको कांग्रेसमा महाधिवेशनबाट सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था छ। निर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काको केहीदिनअघि मात्र निधन भएकाले हाल कांग्रेसको केन्द्रीय समितिमा ६३ जना मात्र निर्वाचित सदस्य छन्, जसमा देउवा पक्षको स्पष्ट बहुमत छ।

त्यस्तै, सभापति देउवाले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई पार्टी वरिष्ठ नेताको हैसियत दिने तयारी गरेका छन्। विधानमा वरिष्ठ नेता भन्ने पद नभए पनि नेता रामचन्द्र पौडेललाई कांग्रेस जनले वरिष्ठ नेताको सम्मानसहित केन्द्रीय समिति बैठकमा सभापतिसँगै बस्ने व्यवस्था मिलाएको छ। गच्छदारलाई पनि पौडेलकै हैसियतमा राख्ने देउवाको तयारी छ। ‘रामचन्द्र पौडेल जस्तै विजय गच्छदारलाई पनि वरिष्ठ नेताको हैसियतमा राख्ने सभापति तयारी छ,’ निकट नेताले भने, ‘विधानमा व्यवस्था नभए पनि अब कांग्रेसमा पौडेल र गच्छदार दुई वरिष्ठ नेता हुनेछन्।’

नेता खुमबहादुर खड्काको चैत १६ गते निधनपछि स्थगित केन्द्रीय समितिको वैशाख ३ गतेबाट पुनः बस्ने बैठकले असारको पहिलो वा दोस्रो साताका लागि महासमिति बैठकको स्थान र मिति तय गर्नेछ। पार्टी विधानले महाधिवेशन हुने वर्षबाहेक प्रत्येक वर्ष महासमिति बैठक बस्नुपर्ने व्यवस्था छ । तर, १३ औं महाधिवेशनपछि महासमिति बैठक बसेको छैन भने नेताहरुले बैठकको माग गर्दै आएका छन्।

महासमिति बैठकअघि जिल्ला सभापतिहरुको भेला गर्ने तयारीमा रहेको कांग्रेसले विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्नेछ। नयाँ संविधान अनुसार पार्टी संगठनलाई ढाल्ने गरी विधान संशोधनको मस्यौदा समितिले तयार गर्ने महासमितिबाट पारित गराउने सभापति देउवाको तयारी छ। जिल्ला सभापतिहरुको भेलालाई विधान संशोधनका लागि सुझाव संकलनका रुपमा उपयोग गर्ने उनको रणनीति रहेको निकट स्रोतको दाबी छ।

प्रदेश हेर्ने गरी सहमहामन्त्रीसहित महामन्त्री र उपसभापतिको संख्या बढाउने सभापति देउवाको चाहना छ। तर, पौडेल पक्ष त्यसको विपक्षमा उभिए देउवा पदाधिकारी संख्या बढाउने अडानबाट पछि हट्नेछन्।

त्यस्तै, निर्वाचन र अनुशासन समिति गठन र पुर्नगठनको तयारीमा सभापति देउवा जुटेका छन्। निर्वाचन समिति संयोजकबाट राधेश्याम अधिकारीले राजीनामा गरिसकेकाले त्यसलाई तत्काल पूर्णता दिने उनको तयारी छ भने अनुशासन समिति पुर्नगठनको पक्षमा छन्।

महासमिति बैठकअघि नै विभाग गठन गरेर जाने देउवा तयारी छ। ‘सभापतिले केन्द्रीय समितिका दुई वटा बैठकमा सदस्यसँग कुन विभागमा बस्ने भनेर नाम माग्नु भएको छ,’ स्रोतले भन्यो, ‘२/४ जनाले बाहेक नाम दिनुभएको छैन।’

प्रकाशित: २५ चैत्र २०७४ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App