१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी संगठनलाई देश र नागरिकको छहारी बनाआैंः अर्याल

जिल्ला प्रहरी कार्यालय खोटाङको भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्याल। तस्बिरः दमन राई/नागरिक

खोटाङ – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले नेपाल प्रहरीलाई देश र नागरिकको छहारी बन्न सुझाव दिएका छन्।

शनिबार जिल्ला प्रहरी कार्यालय खोटाङको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले जनताको सेवाप्रति कटिबद्ध बनेर नागरिकको भरोसा बन्न निर्देशन दिएका हुन्। नेपाल प्रहरीले हरेक अपराध नियन्त्रण, शान्ती सुरक्षा कायम, संकट एवं विपदका समयमा सबैभन्दा पहिला ‘प्रहरीलाई सम्झने’ संगठन बनाएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सेवालाई थप फराकिलो  बनाउन सुझाव दिएका हुन्।

‘बन्दुक र छडीको भरमा चल्दै आएको प्रहरी सेवालाई समय अनुकूल जनताको भरपर्दो अंग बनाउनु हाम्रो दायित्व हो,’ प्रहरी महानिरीक्षक अर्यालले भने, ‘विपदमा सबैभन्दा पहिले प्रहरीलाई सम्झने छवी बनाएका छौँ। अझ प्रहरी सेवालाई देश र नागरिकको छहारी बनाउनु पर्दछ।’

प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको अठोट जनताको सहभागितामा मात्र पुरा हुने उल्लेख गरे। उनले केही प्रहरीको गैर–व्यवसायिक गतिविधिले सिंगो प्रहरी संगठनलाई बदनाम गरेको भन्दै गलत क्रियाकलापमा संलग्नलाई कारबाही हुने बताए। ‘केही प्रहरीबाट मानवीय त्रुटीहरू भएका छन्, त्यसलाई हामी सुधार गर्दै जाने छौँ,’ अर्यालले भने, ‘नियतवस गैर–व्यवसायिक गतिविधिमा लाग्ने प्रहरीलाई क्षमा गर्न सक्दैनौँ।’ अर्यालले सुन्दर भवनमा बस्ने प्रहरीले सुन्दर सेवा दिनुपर्नेमा जोड दिए।

३ करोड २२ लाख ४४ हजारको लागतमा जिल्ला प्रहरी कार्यालयको २२ कोठे भवन निर्माण गरिएको हो। प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाबाट डिजाइन गरिएको भवन साल्पा इन्द्रेणी जेभी गाइघाटले चार वर्ष लगाएर निर्माण गरेको हो।

कार्यक्रममा प्रदेशसभाकी सभासद उषाकला राई, शसस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा भवन निर्माणका क्रममा श्रमदान पुर्याउने प्रहरी तथा जग्गा दातालाई सम्मान गरिएको थियो।

प्रकाशित: २४ चैत्र २०७४ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App