१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ज्ञानेन्द्रको काठमाडौं प्लेअफमा

विराटनगरकाे विकेट लिएपछि खुशियाली मनाउँदै काठमाडाै‌का खेलाडी ।

धनगढी– कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम बलमा छक्का प्रहार गर्दै लगातार चौथो जित पक्का गरेपछि शुक्रबार रोमाञ्चक खेलमा विराटनगर किङ्समाथि ५ विकेटको जित हासिल गर्दै काठमाडौंं गोल्डेन्सरुस्लान धनगढी प्रिमियर लिग(डिपीएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

विराटनगरले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य काठमाडौंले अन्तिम बलमा ५ विकेट गुमाउदै पूरा गरेको थियो । जितका लागि काठमाडौंलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो।

रामनरेश गिरीको पहिलो बल डट खेलेका भारतीय खेलाडी सन्नी पटेलले दोस्रो बलमा १ रन जाडे । तेस्रो र चौथो बलमा २–२ रन जोडेका ज्ञानेन्द्रले पाँचौ बल डट खेले । अन्तिम बल जितका लाथि १ रन आवश्यक हुँदा ज्ञानेन्द्रले छक्का प्रहार गर्दै काठमाडौंको विजयी यात्रालाई निरन्तरता दिएका थिए।

४० बल खेलेका ज्ञानेन्द्रले ५ चौका र ४ छक्का मद्दतमा अविजित ६८ रन बनाएर फर्ममा फर्केको संकेत गरे । प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले बुधबार सिवाइसी अत्तरियाविरुद्ध ५७ रन जोडेका थिए । त्यस्तै आक्रमक ब्याटिङ गरेका सन्नीले १० बलमा १ चौका र ३ छक्का मद्दतमा अविजित २५ रन बनाए । ज्ञानेन्द्र र सन्नीले छैटौं विकेटका लागि १६ बलमा अविजित ३७ रनको साझेदारी गरेका थिए।

दोस्रो ओभरको अन्तिम बलमा स्पिनर वसन्त रेग्मीले अमित श्रेष्ठ(५) लाई एल्बीडब्लुको शिकार बनाएपछि ७ रनमा पहिलो विकेट गुमाएको काठमाडौंको इनिङ दोस्रो विकेटका लागि भारतीय ओपनर सुबोथ भाटी र विकेटकिपर भुपेन्द्र थापाले २६ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए ।छैटौं ओभरको अन्तिम बलमा सुबोध(१०) लाई विराटनगरका कप्तान पारस खड्काले बोल्ड गरेपछि ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले तेस्रो विकेटका लागि भुपेन्द्रसँग ३१ रनको साझेदारी गरेका थिए।

२८ बल खेलेका भुपेन्द्रले दशौं ओभरको चौथो बलमा भारतीय खेलाडी सुभम कामतको बलमा रामनरेशबाट क्याच हुनुअघि ३ चौका र २ छक्का मद्दतमा ३६ रनको योगदान दिए । १३औं ओभरको पहिलो बलमा नरेश बुढाएैर  खाता नखोल्दै मञ्तित श्रेष्ठको बलमा हङकङका खेलाडी बाबर हायातबाट क्याच भएपछि काठमाडौंले चौथो विकेट गुमायो । त्यसपछि पुष्प थापासँग ४७ रनको साझेदारी गर्दै ज्ञानेन्द्रले काठमाडौंको जितको आधार खडा गरेका थिए।

वसन्तको बलमा बोल्ड हुनुअघि १७ बल सामना गरेका पुष्पले २ चौका र १ छक्का मद्दतमा २४ रनको योगदान दिए ।विराटनगरका लागि वसन्तले २ तथा कप्तान पारस खड्का, सुभम र मञ्जितले १÷१ विकेट लिए ।यसआघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रनको योगफल तयार पारेको थियो।

विराटनगरका लागि बाबरले सर्बाधिक ६७ रनको योगदान गरे । आक्रामक ब्याटिङ गरेका बाबरले ३३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । प्रतियोगितामा बाबरको यो लगातार दोस्रो अर्धशथतक हो । यसअघि उनले बुधबार रुपन्देही च्यालेन्जर्सविरुद्ध पनि ५८ रन जोडेका थिए ।
पहिलो विकेटका लागि ओपनर अनिल शाह र दिलिप नाथले ३८ रनको साझेदारी गर्दै विराटनगरलाई गतिलो सुरुआत दिलाएका थिए।

सातौं ओभरको तेस्रो बलमा रसिद खानले अनिल(१०)लाई ललित राजवंशीबाट क्याच गराएपछि क्रिजमा आएका बाबरले दोस्रो विकेटका लागि दिलिपसँग ३२ रनको साझेदारी गर्दैै विराटनगरको इनिङ उकास्ने प्रयास गरेका थिए । तर दशौं ओभरमा ललितले दुई विकेट लिएपछि विराटनगर दबाबमा आएको थियो । ओभरको दोस्रो बलमा दिलिपलाई विकेटकिपर भुपेन्द्रबाट क्याच गराएका ललितले पाँचौं बलमा सुभमलाई खाता खोल्नै नदिई साहब आलमबाट क्याच गराएका थिए ।काठमाडौंका लागि ललितले ३, रसिदले २ र सुबोथ भाटीले १ विकेट लिए।

यस जितपछि ४ खेलमा शतप्रतिशत नतिजा निकालेको काठमाडौं ८ अंकका साथ शीर्ष स्थानमा छ  र ३ खेलमा ४ अंक जोडेको मेहेन्द्रनगर युनाइटेड दोस्रो स्थानमा छ। त्यस्तै समान ४ खेलमा ४ अंक जोडेका विराटनगर र टिम चौराह धनगढी क्रमशः तेस्रो र चौथो स्थानमा छन् । २ अंक जोडेको सिवाइसी अत्तरिया पाँचौं स्थानमा छ । अंकविहिन रुपन्देही अन्तिम स्थानमा छ ।

 उच्च साझेदारी
ज्ञानेन्द्र मल्ल र पुष्प थापा ४७ रन काठमाडौं, विरुद्ध विराटनगर
अनिल शाह र दिलिप नाथ ३८ रन विराटनगर, विरुद्ध काठमाडौं
ज्ञानेन्द्र मल्ल र सन्नी पटेल ३७ रन काठमाडौं, विरुद्ध विराटनगर
अर्धशतक
ज्ञानेन्द्र मल्ल (काठमाडौं) ६८ रन, ४० बलमा ५ चौका र ४ छक्का विरुद्ध विराटनगर
बाबर हायात (विराटनगर) ६७ रन, ३३ बलमा ३ चौका र ७ छक्का विरुद्ध काठमाडौं
बलिङ
ललित राजवंशी (काठमाडौं), ४–१८ विरुद्ध विराटनगर

           

डिपिएलमा आज
महेन्द्रनगर युनाइटेडविरुद्ध सिवाएसी अत्तरिया
टिम चौराह धनगढीविरुद्ध रुपन्देही च्यालेन्जर्स

 

 

 

प्रकाशित: २४ चैत्र २०७४ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App