१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दोर्दी ‘एक’ जलविद्युत आयोजनामा संरचना निर्माण सुरु

दोर्दी गाउँपालिकामा निर्माणाधिन दोर्दी ‘एक’ जलविद्युत आयोजनामा संरचना निर्माण कार्य सुरु भएसँगै टनेलको अग्रभागमा काम हुँदै। तस्बिरः किसान संगीत

लमजुङ – लमजुङकाे पूर्वीभेग स्थित दोर्दी खोलामा निर्माण अनुमति पाएको दोर्दी १ जलविद्युत आयोजनामा संरचना निर्माण कार्यको थालनी भएको छ।

रनअफ रिभर प्रकृतिमा आधारित १२ मेगावाट क्षमताको उक्त आयोजनामा एकसाता देखि निर्माणकार्य भइरहेको हो। दुईवर्षको अवधिमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणकार्य सुरु गरिएको आयोजना प्रमुख उज्वल सिलवालले बताए। उनका अनुसार दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडद्वारा पव्रद्र्धित सो आयोजनामा २ हजार ५ सय मिटर लामो सुरुङ निर्माण गरिनुको साथै ७ सय मिटर लम्बाईको पाईपलाईन रहने छ। दोर्दी गाउँपालिका ६ ढोडेनीको मालेबगरमा आयोजनाको बाँध निर्माण गरिने पनि सिलवालले बताए। आयोजनाको ठेकेदार कम्पनी माउन्टेन ईन्फ्लाले सुरुङ र सिभिल संरचना निर्माणको जिम्मा लिएको बताईएको छ।

२ अर्बको लागतमा निर्माण गरिने यो आयोजनाले सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी बिकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता गरेको छ। आयोजनामा लमजुङ विद्युत विकास कम्पनी(लेड्को)र पब्लिक सेयरबाट संकलित रकमको लगानी छ। निर्माणाधित यो आयोजनालाई पनि ट्रान्समिसन लाईन निर्माण नहुँदाको चिन्ता छ।

आयोजनाले सडकको अवस्था र नौथर शेराबजार नजिकैको दोर्दीखोलामा अलपत्र पक्की पुल बन्न नसक्दा थप सास्ती खेप्नु पर्ने देखिएको जलबिद्युत आयोजना सरोकार समितिका अध्यक्ष नरपति गुरुङ बताउँछन्। वर्षौं अघि निर्माण सम्पन्न गर्ने सम्झौता अनुरुप निर्माणकार्य थालिएको दोर्दीखोलाको पुल निर्माणको काम अलपत्रै छाडिएको र त्यसबारेमा सम्बन्धित निकायले चासो नदिँदा सो भेगका स्थानीय र जलविद्युत आयोजनाहरुलाई समस्या भएको उनको भनाई छ।

आयोजनाले संरचना निर्माणको कामसँगै सामाजिक उत्तरदायित्वका कामलाई पनि अघि बढाएको आयोजना प्रमुख सिलवालले बताए। सम्झौतामा उल्लेख भए अनुरुप स्थानीयसँग परामर्श र समन्वय गर्दै त्यस्ता कार्य गरिने उनको भनाई छ। सरोकारवालाहरूको सहयोग र समन्वयमा निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको पनि उनी बताउँछन्।

प्रकाशित: २३ चैत्र २०७४ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App