१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलामा जुत्ताचप्पल किन्नेको भीड

काठमाडौं – निजामति सेवामा काम गर्ने प्रमोद मानन्धरले बिहीबार राजधानीको भृकृटीमण्डमा जारी जुत्ता मेलामा तीन जोर जुत्ता खरिद गरे। मानन्धरले आँफूलाई मात्र नभएर छोराका लागि पनि जुत्ता किनेको बताए।

‘मेलामा जुत्ता सस्तो पाएपछि तीन जोर किनें ,’ मानन्धरले भने, ‘स्वदेशी जुत्ता टिकाउ हुने भएकाले धेरै जोर किनेको हो।’ विगतमा विदेशी ब्रान्डका जुत्ता किन्ने गरेका मानन्धर विगत तीन वर्षदेखि नेपाली जुत्ता नै प्रयोग गर्न थालेको बताउँछन्। ‘नेपाली जुत्ताको फिनिसिङ पनि राम्रो छ,’ उनले भने, ‘अहिले स्वदेशी जुत्ता नै प्रयोग गर्छु।’

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजना र नेपाली जुत्ताघरको सहआयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा जुत्ताचप्पल किन्नेको भीड लागेको छ। मानन्धरमात्र होइन त्रिचन्द्र कलेजमा बिएसस्सी  अध्ययन गर्ने प्रमोद सुवेदी आफ्ना साथीसहित मेलामा जुत्ता किन्न आएका थिए। चारजना साथीसहित आएका सुवेदीको समूह पनि कलेज जाँदा लगाउने दुई–दुई जोर जुत्ता खरिद गरेर फर्किए। ‘मेलामा छुट भएकाले सस्तोमा जुत्ता खरिद ग-यौं,’ सुवेदीले भने, ‘हामी जस्ता विद्यार्थीका लागि मेलाले निकै राहत पुगेको छ।’

१५ देखि ७० प्रतिशतसम्म छुट दिएर फुटवेयर बिजनेस एक्स्पो आयोजना गरेकाले जुत्ताचप्पल प्रयोगकर्ताको आकर्षण बढेको हो।

मेलामा पुरुषमात्र नभएर लेडिज जुत्ता, चप्पल किन्नेको संख्या पनि उत्तिकै बाक्लो थियो। महिलाहरुले छानी–छानी जुत्ताचप्पल किनिरहेका थिए। नयाँ–नयाँ डिजाइन भएकाले नवयुवतीको पनि आकर्षण देखिन्थ्यो। ‘एकै ठाउँमा धेरै डिजाइनबाट रोज्न पाइने भएकाले यहाँ आएका हौं,’ चप्पल छान्दै गरेकी पार्वती अधिकारीले भनिन्, ‘समय–समयमा मेला लगाउँदा सस्तोमा रोजे अनुसार चप्पल किन्न पाएका छौं।’
१५ देखि ७० प्रतिशतसम्म छुट दिएर फुटवेयर बिजनेस एक्स्पो आयोजना गरेकाले चुत्ताचप्पल प्रयोगकर्ताको आकर्षण बढेको हो। २४ उद्योगका करिब तीन हजार डिजाइनका जुत्ता, चप्पल बिक्रीमा राखिएकाले उपभोक्ताले छानी–छानी किन्ने अवसर पाएका छन् । पसल चाहार्न भन्दा एकै ठाउँमा जुत्ता किन्न पाइने भएकाले सँधै यस्तै मेलामा वर्षभरीको लागि जुत्ता किन्ने गरेको व्यवसायी सुन्दर शर्माले बताए।

एक सय ४० स्टलमा  उपभोक्ताको भीड लागेको छ। एक्सोमा जुत्ता किन्नेको संख्या दिनानुदिन बढ्दै गएको व्यापारी बताउँछन्। स्वदेशी नेपाली छाला जुत्ताप्रवद्र्धन गर्ने उद्देश्यले एक्सो आयोजना गरिएको हो।

दैनिक करिब तीन हजार जोडा, जुत्ताचप्पल बिक्री भैरहेको मेलामा संयोजक होमनाथ उपाध्यायले बताए। ‘अफरसहित एक्स्पो आयोजना गर्दा प्रयोगकर्ता निकै लाभान्वित भएका छन्,’ उपाध्यायले भने, ‘अफ सिजन भए पनि अवलोकनकर्ताको पनि उल्लेख्य सहभागिता रहेको छ।’ विदेशबाट गैर कानुनी रुपमा कर छलेर आउने जुत्ता,चप्पलको कारण नेपाली उद्योगलाई प्रतिस्पर्धा गर्न कठिन भएको बताए। ‘सीमा क्षेत्रबाट चोरी निकासी भई जुत्ता, चप्पल आउने भएकाले तराई क्षेत्रमा बिक्री निकै कम छ,’ संयोजक उपाध्यायले भने, ‘भूकम्पमा खस्किएको व्यापार क्रमशः सुधार हुँदैछ।’

उपभोक्तामाझ स्वदेशी ब्राण्डका जुत्ताको छाप राम्रो परेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए। ‘हामीले प्रयोगकर्ताको रोजाई अनुसार जुत्ता, चप्पलका भेराइटी दिन सक्षम छौं,’ न्यौपानेले भने, ‘यसले आकर्षण बढाएको छ।’ नेपाली जुत्ता टिकाउ र गुणस्तरीय रहेको बताए। स्वदेशी जुत्ताले नेपाली बजारको करिब ६० प्रतिशत ओगटेको छ। मेलामा पाँच करोडको व्यापार हुने आयोजकको अपेक्षा छ। आगामि २८ गतेसम्म एक्स्पो सञ्चालन हुने आयोजकले बताएका छन्। २५ गतेसम्मको लागि आयोजना गरेको एक्स्पोमा प्रयोगकर्ताको आकर्षण बढेपछि लम्ब्याएको बताए।

नेपालमा जुत्ताचप्पलको वार्षिक करिब ३५ अर्बको कारोबार हुने व्यवसायी बताउँछन्। फुटवेयर उद्योगमा निजी क्षेत्रले १५ अर्ब रुपैयाँ लगानी गरेको छ।  दुई हजार साना, ठूला उद्योगमा करिब ५५ हजारले प्रत्यक्ष र साढे दुई लाखले अप्रत्यक्ष रोजगारी पाइरहेको एसोसिएसनले जनाएको छ। नेपाली बजारमा वार्षिक सात करोड जुताखपत हुने गरेका छन्।

प्रकाशित: २३ चैत्र २०७४ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App