१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘एन्टिरेबिज’ २४ सै घन्टा निःशुल्क

काठमाडौं – कुकुर वा अन्य जनावरको टोकाइपछि लगाइने रेबिजविरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) २४ सै घन्टा उपलब्ध हुने भएको छ। सरकारी कार्यालय खुल्ने दिन ओपिडी समयभित्र मात्रै निःशुल्क पाइने खोप अन्य समयमा खोप आवश्यक पर्दा किन्नुपर्ने बाध्यता थियो।

स्वास्थ्य सेवा विभागले बुधबार नीतिगत निर्णय गरेर कार्यान्वयनका लागि अस्पताललाई पत्राचार गरेको छ। विभागको पत्रका आधारमा बिहीबार बैठक बसेर सो निर्णय कार्यान्वयन सुरु भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए। अस्पताल प्रशासनले बिहीबारै स्टाफ मिटिङ राखेर रातिको ड्युटीमा हुने मेडिकल अफिसरले इमर्जेन्सीमै जाँच गर्ने र ड्युटीमा रहेका स्वास्थ्यकर्मीले खोप लगाइदिने निर्णय गरेको छ । ओपिडी खुल्ने दिन र समयमा खोप लगाउन पर्दा निःशुल्क पाइने खोप अन्य समयमा एक डोजको ६ सय रुपैयाँ तिरेर किन्नुथ्र्यो।

चिकित्सकका अनुसार रेबिजविरुद्धको खोप कुनै नावरले टोक्नासाथ जति छिटो लगाउन सक्यो उति प्रभावकारी हुन्छ। टेकु अस्पतालमा मात्रै कुकुर, बाँदर, बिरालाजस्ता जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउन डेढदेखि दुई सय नयाँ केस आउँछन् भने दुई सय ५० देखि तीन सय थप डोज खोप लगाउन आउने गरेका छन्। ‘रातभर कुकुर वा अन्य जनावरका टोकाइका केस आइरहन्छन्,’ डा. पुनले भने, ‘पछिल्लो निर्णयले धेरै बिरामीलाई राहत पुगेको छ।’

चिकित्सकका अनुसार बहुला कुकुरले टाउको वा हातका औंलामा टोकेको अवस्थामा रेबिजविरुद्धको खोपसँगै भाइरस छिटो नफैलियोस् भन्नका लागि ‘इम्युनोग्लोबिन’ समेत लगाइन्छ। त्यस्ता संवेदनशील केसमा झन् राति खोप निःशुल्क नपाउँदा समस्या पर्ने गरेको थियो। सरकारले किनेको खोप विभिन्न तहका स्वास्थ्य संस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत जाने गरेको छ।

पछिल्ला दिनमा भुस्याहा र घरपालुवा कुकुरको टोकाइको घटना बढ्दै गएका छन्। टेकु अस्पतालमा मात्रै रेबिजविरुद्धको खोपलगाउन प्रत्येक महिना तीनदेखि पाँच हजारसम्म मानिस आउने गरेका छन् । त्यसमा बालबालिकाको संख्या धेरै छ।

तथ्यांकअनुसार टेकु अस्पतालमा मात्रै गत साउनदेखि माघभित्र मात्रै करिब ५७ हजार चार सय ३९ पटक खोप लगाएको तथ्यांक छ। यस आधारमा एक जनाले कम्तीमा चार पटक लगाउँदा पनि कम्तीमा १४ हजार पाँच सयजनालाई कुकुर, बिराला, स्याललगायतका जनावरले टोकेका मानिस खोप लगाउन अस्पताल पुगेको देखिन्छ।

काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा झन्डै २२ हजार भुस्याहा कुकुर छन्। घरपालुवा कुकुरको भने तथ्यांक छैन। प्रत्येक वर्ष उपत्यकामा करिब पाँच हजार टोकाइका घटना हुने गरेका छन्। रेबिज लागेका कुकुर, स्याल वा अन्य जनावरको टोकाइ वा संक्रमित रगत, -यालजस्ता वस्तु कुनै तरिकाबाट शरीरभित्र प्रवेश गरेमा मानिसमा रेबिज सर्छ। रेबिज लागिसकेपछि कुनै उपचार हुन्न। नेपालमा प्रत्येक वर्ष दुई सयदेखि दुई सय ५० जनाको मृत्यु रेबिजकै कारणले हुने गरेको छ।

डा. पुनका अनुसार कुकुरका टोकाइका घटनालाई सामान्य ठानेर खोप लगाउन ढिलाइ वा हेलचेक्र्याइँ गर्दा ज्यानै जाने गरेका छन्।

महाशाखाको तथ्यांकले पनि देशभर कुकुरको टोकाइका घटना वृद्धि भएको देखाएको छ। गत वर्ष करिब ३० हजार दुई सय कुकुरको टोकाइका घटना भएको तथ्यांक महाशाखामा छ। सरकारले देशभरका प्रमुख सरकारी स्वास्थ्य संस्थाबाट रेबिजविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउँछ। गत वर्ष सात करोडको खोप खरिद भएको थियो । यस वर्ष खोपका लागि करिब १० करोड रुपैयाँ छुट्याइएको छ।

रेबिज भएको कुकुरले टोकेपछि हल्का ज्वरो आउने, श्वासप्रश्वास बढ्ने, टाउको दुख्ने, निद्रा नलाग्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, घाँटी दुख्ने, आवाज बदलिने र पानीसँग डराउने जस्ता लक्षण देखिन्छन्। रोग लागिसकेपछि भने बिरामीलाई बचाउन सकिन्न।

विश्व स्वास्थ्य संगठनका अनुसार रेबिजका कारण संसारभर बर्सेनि ५५ हजार मानिसको मृत्यु हुने गरेकोमा ९५ प्रतिशत मृत्यु एसिया र अफ्रिकाका देशमा हुने गरेको छ।

प्रकाशित: २३ चैत्र २०७४ ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App