१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्यालय प्रमुख दुई महिना देखि अनुपस्थित, कामकाज ठप्प

प्रमुख नहुँदा कार्यालय समयमा गफगाफ गरेर समय बिताउँदै कर्मचारीहरू। तस्बिरः नागरिक

अछाम – सदरमुकाम मंगलसेन स्थित सिचाई विकास डिभिजन कार्यालय करिव दुई महिना देखि प्रमुख विहीन हुँदा कार्यालयको कामकाज प्रभावित बनेको छ।

कार्यालय प्रमुख बरुण कुमार कर्ण फागुन ७ गतेदेखि कार्यालयमा अनुपस्थित हुँदा कार्यालयको दैनिक कामकाज देखि योजनाको सम्झौता, भुक्तानी लगायतका कामकाज प्रभावित बनेका छन्। कर्मचारीहरूले दुई महिना देखीको तलब सुविधा लिन नपाएको गुनासो समेत गरेका छन्। कार्यालय प्रमुख नहुँदा कर्मचारी दिनभर घाम तापेर दिन काटिरहेका छन्। सिनियर डिभिजन इन्जिनियरको दरबन्दी रहेको सिंचाई विकास डिभिजन दुई वर्ष पहिले स्थापना भएको हो। यस अवधिमा पाँच जना प्रमुख आइसकेका छन्।

कार्यालय प्रमुख अनुपस्थित हुँदा क्रमागत रुपमा रहेका योजनाको नयाँ सम्झौता तथा ठेकेदारको रकम भुक्तानीको काम पुरै रोकिएको सूचना अधिकारी नरेशबहादुर थापाले जानकारी दिए। केही योजनाको सम्झौता विना नै काम संचालन गरिरहेको जानकारी दिँदै थापाले रकम भुक्तानी र सम्झौताका लागि आफूहरूलाई दिनहुँ फोन गरेर प्रमुख नभएको खवर सुनाउँदै हैरानी बनेको सुनाए। कार्यालय प्रमुख नहँुदा कर्मचारीहरू मनोमानी ढंगले फिल्ड जाने गरेका छन्। सबै समान तहका कर्मचारी हुँदा कसलाई कता खटाउने र कस्ले भनेको कस्ले मान्ने भन्ने समस्या रहेको थापाले सुनाए।

चैत १ गतेबाट नयाँ सारिएको कार्यालय भवनमा फोन लाइनपनि सारिएको छैन भने अन्य सबै व्यवस्थापनको कामपनि लथालिंग छ। पटक पटक कार्यालय प्रमुख फेरबदल भइरहने डिभिजनमा गत आर्थिक वर्ष छ करोडको योजना तथा बजेट स्वीकृति भएपनि जम्मा २ करोड ७९ लाख बराबर मात्रखर्च भएको छ। चालू आर्थिक वर्षमा राज्यको पुनःसंरचना हुँदा नयाँ योजना कार्यान्वयन नगर्न परिपत्र भएकाले गत वर्षकै क्रमागत योजना कार्यान्वयनको चरणमा छन्। चालू आर्थिक वर्षमा चार करोड बराबरको बजेटको अख्तियारी डिभिजनलाई छ। लामो समयसम्म प्रमुख अनुपस्थित हुँदा यो वर्ष पनि खासै बजेट खर्च हुने देखिदैन्।

अधिकांश जमिन आकासे पानीको भरमा खेती गरिने अछाममा सिचाईको सुविधा विस्तारका लागि सरकारले डिभिजन कार्यालय नै स्थापना गरेको भएपनि पटक पटक प्रमुखको फेरबदल र आवश्यक कर्मचारीको व्यवस्थान नहुँदा सिचाई डिभिजनबाट किसानले सोचे अनुसारको फाईदा लिन सकेका छैनन्। इन्जिनियर, लेखा अधिकृत, नासु र कम्प्यूटर अपरेटर गरी चार कर्मचारी काजमा छन्।

प्रकाशित: २२ चैत्र २०७४ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App