१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टनेलभित्र बेमौसमी तरकारी खेती

धादिङ – थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन्। उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी गोलभेडा खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छन्। उनले दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन्। तरकारीको राम्रो मूल्य पाइने भएकाले बेमौसमी तरकारीतर्फ आकर्षित भएको कार्कीले बताए। ‘प्लास्टिक घरभित्र बेमौसममा लगाएको तरकारीको भाउ पनि छ’, कार्कीले भने, ‘बजारको पनि समस्या छैन, घरधन्दा यसैबाट राम्रो चलेको छ।’

कार्कीले पहिले आफ्नै शैलीमा सिजन अनुसारको तरकारी लगाउँथे। तरकारीले राम्रो मूल्य पनि पाउथेन। पानीको समस्या भएपछि बीचमा उनले दुई बर्ष तरकारी खेती नै गरेनन्। अहिले सिचाँईको उपयुक्त सुविधा भएसँगै कार्की बेमौसमी तरकारी खेती गर्न थालेका हुन्। २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले पानीको मुहान सुकाएपछि आफूले खाने तरकारी समेत लगाउन धौ–धौ हुने गरेको उनले बताए। अहिले गाउँलेहरुले नै मिलेर गाउँमा पानी ल्याएका छन्। आकासे पानी पनि संकलन गरेर राख्ने गरेका छन्। तरकारी खेतीबाट बर्षमा ४ लाखसम्म आम्दानी गर्ने गरेको किसानहरु बताउँछन्।

२७ घरधुरी रहेको रानीबारीका प्राय किसानको दैनिकी तरकारी खेतीमा नै बित्ने गर्छ। यहाँका प्रायसबै किसानले बेमौसमी तरकारी खेती गरेका छन्। किसानहरुलाई नै सहज होस भनेर गाउँमा नमुना कृषक समूह पनि गठन गरिएको छ। समूहमा बसेर बीउविजन, रोगकिरा तथा विषादीका बारेमा छलफल गर्ने गरेका छन्। समूहमा गठित कृषि समूहमा आबद्ध किसान धेरैजसो बेमौसमी तरकारी खेतीमा लागेको समूहमा आबद्ध किसान सीता सुवेदीले बताइन्। ‘समूहमा बेमौसमी तरकारी खेतीका बारेमा छलफल गर्ने गछौ’, सुवेदीले भनिन्, ‘एउटा किसानलाई परेको समस्या अरुले सजिलै थाहा पाउँछन्।’ समूहगत छलफल, योजना निर्माण र कार्यन्वयनका बारेमा पनि छलफल गर्ने गरेका छन्।

सीताको बारीभरी गोलभेडाको टर्नेलहरु छन्। ‘पहिले खुल्ला रुपमा तरकारी खेती गर्दा रोग, किराले उत्पादन कम हुन्थ्यो,’ सीताले भनिन्, ‘अहिले प्लास्टिकको घरभित्र तरकारी खेती गर्दा त्यो समस्या हटेको छ।’ कृषकहरुले उत्पादन भएको तरकारी महादेवबेसीमा रहेको संकलन केन्द्रमा लैजाने गरेको बताए। यहाँ उत्पादन गरिएको तरकारी काठमाडौंको कालीमाटी, चितवन, पोखरा, धादिङबेसीसम्म पुग्ने गरेको छ।

यहाँका किसान पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन्। आर्थिक अवस्था कमजोर भएकाहरु पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन्। बाँसका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानको भनाई छ। यस ठाउँमा पोखरी पनि निर्माण गरिएको छ। तरकारी उत्पादनमा सहजताका लागि जिल्ला कृषि विकास कार्यालय धादिङले पनि अुनदानमा बीउ प्रदान गर्दै आइरहेका छन्। बेलाबेलामा अनुुगमन गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए। समग्र तरकारी उत्पादन घटे पनि बेमौसमी तरकारीको उत्पादनमा सुधार भएको कार्यालयले जानकारी दिएको छ। अब स्थानीय तहबाट नै सेवा प्रदान गरिने देवकोटाले बताए।

प्रकाशित: २२ चैत्र २०७४ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App