१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वन फँडानीका दोषी छुटाउन प्रदर्शन

वन उपभोक्ता समितिका पदाधिकारीमाथि कार्बाहीको प्रक्रिया रोक्न दबाब दिन बपर्दयाको मैनापोखरस्थित सेक्टर वन कार्यालयमा बुधबार प्रदर्शन गर्दै समितिका पदाधिकारी। तस्बिरः निर्मल/नागरिक

बर्दिया – आफ्नो गल्ती ढाकछोप गर्न बढैयाताल गाउँपालिका –३ स्थित मानझुण्डी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले गरेको प्रर्दशनबाट सेक्टर वन कार्यालय, मैनापोखर बुधबार तनावग्रस्त बन्यो। ‘पदाधिकारी र तस्कर मिलेर वन फँडानी’ भन्ने शीर्षकमा मंगलबार नागरिक दैनिकमा प्रकाशित समाचारमा सेक्टर वन कार्यालय प्रमुख आनन्द साहले दिएको जानकारी र प्रकाशित समाचार गलत भएको भन्दै आक्रोशित भीडले गरेको प्रदर्शनका कारण कार्यालय तनावग्रस्त बनेको हो। वनप्रमुख साह र पत्रकारविरुद्ध नारा लगाउनेका कारण सुरक्षामा असहजता थपिएको कर्मचारीले बताए।

वन फँडानीमा भएको गोप्य सूचनाका आधारमा सेक्टर वन कार्यालय प्रमुख साहको नेतृत्वमा गएको टोली र नागरिक संवाददाता सोमबार फँडानी स्थलमा पुगेर सूचना संकलन गरेका थिए। घटनास्थलमा पुगेका सेक्टर प्रमुख साहले सामुदायिक वनभित्रै फँडानी भएका सिसौका रुख अवैध रूपमा काटिएको पुष्टि गरेका छन्।  सामुदायिक वनमा फँडानी भएका सिसौका रुख वन कार्यालयले छपान नभएको तथ्य फेला परेको थियो।

वन फँडानीमा संलग्न हुनेमाथि मुद्दा चलाउन सेक्टर वन कार्यालयले इलाका वन कार्यालयमा परिपत्र गरेपछि कार्यालय पुगेर सामुदायिक वनका पदाधिकारीले बुधबार प्रर्दशन गरेका हुन्। पदाधिकारीको मिलिमतोमा अधिक रुख कटानी गरेको तथ्य भेटिएपछि कर्मचारी धम्क्याउन उनीहरूले कार्यालय घेराउ तथा प्रर्दशन गरेको साहको भनाइ छ।

बढैयाताल गाउँपालिकामा पर्ने मानझुन्डी सामुदायिक वन उपभोक्ता समितिले यस आर्थिक वर्षमा ‘आन्तरिक खपतका लागि काठदाउरा संकलनलाई रुख कटान सहमति’ प्राप्त गरेको थियो। जसमा ‘सुखाखडा र ढलापडा’ रुख काट्ने उल्लेख थियो । वन कार्यालयको सहमतिमा सिसौ १ हजार ६ सय ५३ क्युबिक फिट काठका लागि १ सय ९ रुख काट्ने उल्लेख थियो। सो सामुदायिक वनमा २७ वटा बढी रुख काटेको स्थानीयको दाबी छ।

मानझुन्डी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर रावलले घर लैजान नभई उपभोक्ताका लागि रुख काटिएको दाबी गर्दे आएका छन्।

गोलियालाई दाउरा बनाउन चलखेल
दाउरा भन्दै संकलन गरेका गोलियालाई पदाधिकारीले काटेर दाउरा बनाउन थालेको खुलासा भएको छ। इलाका वन कार्यालय, बासगढीबाट खटिएका वन कर्मचारीकै अघि दाउरा भन्दै गोलिया चिरान गर्दा भएको विरोधपछि गोलियालाई दाउरा बनाउन चिरान सुरु गरेको तथ्य खुलेको हो। लामा–लामा गोलियालाई चिरान गर्न थाल्दा रोक लगाएको स्थानीय चुणामणि पौडेलले बताए। ‘कर्मचारी सहमतिमा गोलिया चिरान गर्दा हामीले रोक्यौं,’ उनले भने, ‘गोलिया नकाट्न विरोध गर्दा गर्दे पनि केही गोलिया चिरेर दाउरा बनाइयो।’ अनिमियतता लुकाउने प्रयासभइरहेको अर्का स्थानीय उपभोक्ता रामबहादुर खवासले बताए। उनका अनुसार पदाधिकारी छुटाउन वन कार्यालय घेराउ गर्न जान पनि सामुदायिक वनको आम्दानीबाट खर्च गर्ने निर्णय गरिएको छ। सेक्टर वन कार्यालय प्रमुख साहका अनुसार दाउरा भनेर संकलन गरिएको अवैध काठ कम्तीमा दुई सय क्युबिक फिट  छ। उनका अनुसार ८० क्युबिक फिट काठ यसअघि नै वनले नियन्त्रणमा लिइसकेको छ। गोलियालाई दाउरा बनाउन कर्मचारीमाथि पनि दबाब दिइएको स्थानीयको आरोप छ।

प्रकाशित: २२ चैत्र २०७४ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App