बलात्कारका घटना बढे

बिहिबार, २२ चैत २०७४, ०६ : १७ नागरिक

पश्चिमेली ब्युरो
नेपालगन्ज – बलात्कार र हत्यासम्बन्धी घटनाका खबर सार्वजनिक हुने क्रम बढिरहेको छ । कानुन र समाजले बलात्कार गर्नेलाई दण्डको भागीदार बनाए पनि मुलुकका विभिन्न भागमा यस्ता घटना बढिरहेका छन्।

पछिल्लो समय मध्यपश्चिमका जिल्लामा स्कुले बालिकादेखि कार्यालयमा काम गर्ने महिलासम्म बलात्कारको सिकार भएको घटना सार्वजनिक भइरहेका छन् ।बाँके, सुर्खेत, दाङलगायत जिल्लामा बलात्कार घटना बढिरहेका छन् । गत साता सुर्खेतमा एक किशोरीको बलात्कारपछि हत्या भयो । दाङमा बाबुबाटै छोरी बलात्कृत भएको घटना सार्वजनिक भयो । बाँकेमा १० वर्षमुनिका दुई बालिका बलात्कृत भए।

कोहलपुर नगरपालिका–११, दसबिघामा सीमा पुन (नाम परिवर्तित) का अभिभावकले होटल व्यवसाय गर्दै आएका छन् । १० वर्षीया पुनका अभिभावक धेरजसो समय होटलमा व्यस्त हुन्छन् । होटलमा आउने धेरै ग्राहकमध्येका एक थमबहादुर बुढा थिए । उनै बुढाले गत शनिबार बेलुका सीमालाई बजार घुमाउन लैजाने बहानामा स्कुटरमा राखेर लगे।

अभिभावकले सधैं आइरहने भएकाले सीमालाई बुढासँग जान रोकेनन् । सीमा अबेर रातिसम्म नआएपछि परिवार झस्कियो । घटनाबारे तत्काल जानकारी पाए पनि राति १ बजेसम्म उनलाई प्रहरीले भेट्टाउन सकेन।

बुढाले कोहलपुर नगरपालिका–९ स्थित खाली चौरमा लगेर सीमालाई बलात्कार गरेछन्। सीमालाई कोहलपुरको कृष्ण होटलअगाडि लगेर छाडेर भाग्ने क्रममा प्रहरीले बुढालाई राति १ बजे नियन्त्रणमा लियो । परिवारका अनुसार त्यतिबेला सीमाको अवस्था नाजुक थियो।  
प्रहरीले बुढालाई पक्राउ गरे पनि घटना गोप्य राख्न खोजेको आरोप पीडित परिवारको छ। महिला अधिकारकर्मीले विरोध गरेपछि प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।

यो घटनाबारे नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयरले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘निर्दोष १० वर्र्षीया बालिकामाथि चैत १० गते शनिबार राति कोहलुरमा भएको बलात्कारजस्तो जघन्य अपराधको घटना लुकाउने, छिपाउने, दबाउने र जबरजस्ती मिलापत्रको प्रयास भइरहेको सूचना आएको छ । यस विषयमा सम्बन्धित सबैको चासो र खबरदारीका लागि हार्दिक अनुरोध छ ।’

अधिकारकर्मीको विरोधपछि बुटवल उपमहानगरपालिका–१६ का बुढामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

सीमा बलात्कृत भएको एक साता नबित्दै बाँकेमा अर्की सात वर्र्षीया बालिका बलात्कारको सिकार भइन् । कोलहपुर–१ निवासी रुपा सुनार (नाम परिवर्तित) लाई बलात्कार गर्ने १२  र ९ वर्षका दुई बालक थिए । आरोपित नाबालक भएकाले मुद्दा दर्ता गरेर अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्षको फागुन अन्त्यसम्म जबरजस्ती करणीका २२ मुद्दा दर्ता भएका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका १७ घटना भए । जबरजस्ती करणीबाट १० वर्षमुनिका ३, १० देखि १६ वर्षमुनिका ५ र १६ वर्ष उमेरमाथिका १४ जना पीडित भएका छन् । त्यस्तै १० वर्षमुनिका १, १० देखि १६ वर्षसम्मका २ र १६ वर्ष उमेरमाथिका १४ जनामा बलात्कार प्रयास भएको छ।

बाँके प्रहरीका अनुसार २०७२-७३ मा २६ बालिका बलात्कृत भएका थिए । २३ जना माथि जबरजस्ती करणी गर्ने प्रयास भएको थियो । त्यो संख्या एक वर्षपछि बढेको तथ्यांकले पुष्टि गर्छ । २०७३–७४ मा बाँकेमा ३९ महिला तथा बालिका बलात्कृत भए । २७ जनामाथि बलात्कार प्रयास भएको उजुरी प्रहरीमा आएको थियो।

बलात्कारका धेरै घटना आर्थिक प्रलोभन र राजनीतिक आडमा मिलाउन दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन् । तर पछिल्लो समय नेपाली समाज चेतनशील र अधिकारबारे जागरुक भएका कारण बलात्कारको घटना लुकाउनु हुन्न भन्ने सोचाइ बढिरहेको बताउँछन् जिल्ला प्रहरी कार्यालय मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक रणबहादुर विष्ट।उनले भने, ‘बलात्कारका बारेमा अहिले खुलेर विरोध गर्ने अवस्था आएको छ। मानवअधिकारका बारेमा मानिस सजग हुँदै गएका छन् । अपराध लुकाउनु हुन्न भन्ने धारणा बढिरहेको छ । दोषीमाथि कारबाही भए बलात्कारका घटना कम हुन सक्छन् ।’

तर केही बलात्कारका घटना व्यक्तिगत स्वार्थ र रिसिबीका कारण हुने गरेको एक प्रहरी अधिकारी बताउँछन् । उनले भने, ‘लामो समयसम्म पुरुष र महिलासँगै बसिरहेका हुन्छन् । सम्बन्ध बिग्रिएपछि महिलाले बलात्कारको आरोप लगाउने गरेका घटना पनि आउने गरेका छन् । केही घटनामा आर्थिक कुरा जोडिएका हुन्छन्।’

गत पुसमा नेपालगन्जको सिग्नेट होटलबाट प्रहरीले राति १९ वर्षीया युवतीलाई उद्धार गरेको थियो । अंग्रेजी नयाँ वर्षका अवसरमा उनी अन्य दुई पुरुष र एक महिलासँग होटलमा गएकी थिइन् । तर राति उनले आफू बलात्कृत भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय मनोज भारती र निरज गुरुङलाई प्रहरीले होटलबाटै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा बलात्कारका घटना कम गर्न अभिभावक, साथीभाइ र छरछिमेकले पीडितका पक्षमा बोल्ने वातावरण विकास गर्नुपर्ने बताउँछिन् । उनले भनिन्, ‘बलात्कृत हुने धेरै बालिका गरिब परिवारका देखिन्छन् । उनीहरुका अभिभावक बलात्कार मुद्दा दर्ता गर्नसमेत डराउँछन् । मुद्दा दर्ता भए पनि त्यसलाई कसरी फितलो बनाउने भन्ने दबाब बढ्छ । सकेसम्म घटना मिलाउन खोजिन्छ । चाहे त्यो राजनीतिक आडमा होस् वा आर्थिक प्रलोभनमा ।’

बलात्कार पीडितले न्यायको अनुभूति गर्ने अवस्था नभएको उनको भनाइ छ । थापाले भनिन्, ‘कानुन अझै भन्झटिलो छ । बलात्कृत बालिकाले घटनाबारे १० ठाउँमा भन्दै हिँड्नुपर्ने अवस्था छ । यसले न्याय प्रदान गर्न अप्ठ्यारो भइरहेको छ । बलात्कार घटनाका दोषीलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्छ।’

न्याय समिति संयोजकसमेत रहेकी थापाले नगरपालिकाले बलात्कारसम्बन्धी कानुन बनाउने योजना बनाइरहेको बताइन । उनले भनिन्, ‘बलात्कारका हामीलाई गुनासो आउने गरेका छन् । फौजदारी मुद्दा भएकाले प्रहरीसमक्ष पठाउने गरेका छौं।’


बालिकामात्र होइन, शिक्षित महिलासमेत बलात्कारको सिकार बनिरहेका छन् बाँकेमा। आर्थिक प्रलोभन र जागिरको लोभ देखाएर कार्यालयकै कर्मचारीबाट महिला बलात्कृत भएका घटना पनि सार्वजनिक भएका छन् । बाँकेको गंगाजमुना कृषि सहकारी संस्थाका अध्यक्ष यमबहादुर श्रेष्ठले आफ्नै कार्यालयकी १९ वर्षीया हीरा तामाङ (नाम परिवर्तन) लाई ५ दिनसम्म काठमाडांैमा राखेर बलात्कार गरेको आरोप लागेको छ । श्रेष्ठ अहिले फरार छन्।

महिला अधिकारकर्मी सपना भट्टराई कानुन कार्यान्वयन गर्ने निकाय संवेदनशील नभएर बलात्कारीको मनोबल बढिरहेको बताउँछिन् । ‘समाजले बलात्कारलाई मनोरञ्जनका रूपमा हेरेको हुन्छ । पीडितको बयानका आधारमा कारबाही हुँदैन।

बयान दिँदासम्म पीडितको मनोबल घटिसकेको हुन्छ । बलात्कार गर्नेको मनोबल बढिसकेको हुन्छ,’ उनले भनिन्, ‘न्याय पाउँदासम्म पीडितको सामाजिक जीवनसमेत अप्ठ्यारो परिसकेको हुन्छ । बलात्कारपछि न्याय पाए पनि समाज र परिवारले पीडितलाई राम्रो व्यवहार गर्दैनन् । पीडित जीवनभर थप पीडित भएर बाँच्नुपर्ने हुन्छ ’

बलात्कार पीडितलाई सुरुदेखि गरिने व्यवहार गलत भएको सपनाको बुझाइ छ । उनले भनिन्, ‘बलात्कार अपराध हो । तर समाजले यसलाई सहज बनाइकसकेको जस्तो देखिन्छ । सुरुमै पीडितको मनोबल गिराउने काम गरिन्छ । बयान लिँदा प्रहरीले गर्ने व्यवहार र अदालतमा पुगेपछि अदालतका कर्मचारीले गर्ने व्यवहारबाट पीडितमाथि मानसिक दबाब बढिरहेको हुन्छ।’

बलात्कारमा प्रहरी संलग्न
गत साता सुर्खेतमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन बसेकी १८ वर्षीया गोरीकला रोकायको बाबियाचौरमा सामूहिक बलात्कारपछि हत्या भयो । बलात्कार र हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया सुरु गरेको छ।

फागुन ८ गते वीरेन्द्रनगर–१४ को एक सामुदायिक विद्यालयमा नौ कक्षामा अध्ययनरत १५ वर्षीया बालिकालाई घर पुर्‍याउने भन्दै एक प्रहरी जवानले वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रको जंगलमा पुर्‍याएर बलात्कार गरे । घटनालगत्तै पक्राउ परेका उनी अहिले धरौटीमा छुटेका छन् । मुद्दाको अन्तिम किनारा लागेको छैन।

सुर्खेत जिल्लामा पछिल्ला दुई महिनामा भएका बलात्कार घटनाका यी दुई उदाहरण हुन् । प्रहरीका अनुसार चालू आर्थिक वर्षको साढे आठ महिनामा बलात्कारका १० घटना दर्ता भएका छन् भने जबरजस्ती करणी उद्योगका ६ वटा घटना दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरी हातहातमा मोबाइल र इन्टरनेटको पहुँचले पनि बलात्कारका घटना बढ्न थालेको तर्क गर्छन् । ‘पछिल्लो पुस्ताले प्रविधिको सदुपयोग हैन दुरुपयोग गरिरहेको छ,’  उनले भने,  ‘समाजमा बलात्कारलगायतका अपराधजन्य घटना बढेका छन्।’

चौधरीका अनुसार फोन तथा इन्टरनेटको दुरुपयोग हुनु, आमा–बुवाले छोराछोरीप्रति कम ध्यान दिनु, यौनवद्र्धक औषधिको खुला व्यापार हुुनुलगायतका कारणले बलात्कारजस्ता आपराधिक घटना बढेका छन्।

बलात्कृतकै दोष !
दाङ फूलबारीका एक परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो।

घरमा एक्लै रहेकी कौशिलाको मुटुले ठाउँ छोड्यो । उनी बोल्न सकिनन् । केहीबेरपछि ढोका फोडेर एकजना भित्र छिरे । बाहिर अरू धेरै जनाको आवाज सुनिन्थ्यो । घर खानतलासी गर्दै माथिल्लो तलामा एक्लै पुगेका नकावधारीले महिलालाई देखेपछि घरका अरु सदस्यका बारेमा सोधे । उनले घरमा कोही नभएको जबाफ दिइन् । नकावधारीले त्यसैको मौका छोपे।

हतियारसहितका ती नकावधारी सुत्केरी कौशिलामाथि जाइलागे । उनी प्रसवपीडामै थिइन् । ती व्यक्तिको जबरजस्ती करणीले पीडा बढ्यो । उनी चिच्याउन खोज्दै थिइन् । ‘कराइस् भने मारिदिन्छु भन्दै धम्की दियो,’ उनले भनिन्, ‘जति दुखे पनि बोल्नै नसक्ने अवस्था भयो।’ उनले आफूमाथि परेको बज्रपात कसैलाई भनिन्।

थाहा पाएमा घरपरिवारले आफूलाई हेला गर्लान् भन्ने डर थियो उनलाई । दुखाइ बढ्दै जान थालेपछि उनले आफूले भोग्नुपरेको पीडा देउरानीलाई सुनाइन् । कौशिलाले भनिन्, ‘घरमा कसैलाई पनि नभन्नु, मलाई हेला गर्न सक्नु हुन्छ भनेकी थिएँ ।’ देउरानीबाट केही दिनसम्म त कुरा फुस्केन । अन्ततः कुरा चुहियो । देउरानीले सासूलाई भनिछन्।

सासूले पीडितका पतलिाई । पति र सासू बारीमा काम गर्दै थिए । त्यहीबेला कौशिलालाई पतिले बारीमै बोलाए । उनी गइन् । ‘पतिले मलाई फरुवाले हान्न थाल्नुभएको थियो,’ उनले भनिन्, ‘सासूले नरोकेको भए त्यही दिन मरिसक्थें ।’ उनकै गल्ती देखाउँदै परिवारका सबै सदस्यले बारम्बार सताउन थाले । पति उनीबाट जसरी पनि मुक्त हुन चाहन्थे।

यही योजनाअनुरुप उनी विदेश गए । दिनरात परिवारका सदस्यहरुको गाली र दुर्यवहार बढ्दै गयो । तीन वर्षपछि घर फर्किए पनि पतिको व्यवहार परिवर्तन भएन । उनीमाथि घरबाट निस्कन दबाब पर्‍यो । त्यसपछि छोरी च्यापेर उनी माइतीको शरणमा पुगिन् । आफूलाई भोगको सबै कष्ट माइतीलाई बताएपछि उनी त्यहीं बस्न थालिन्।

उनका अनुसार पतिले विदेशबाट फर्केलगत्तै दोस्रो विवाह गरेका थिए । बहुविवाहको मुद्दा लाग्ने डरले उनले कान्छी पत्नीलाई घर भित्र्याउन सकेका थिएनन् । कौशिलालाई सम्बन्धविच्छेद गर्न बारम्बार धम्की दिएर उनका पतिले सताउन थाले । अन्ततः उनले पनि सहमति जनाइन् । एक अपरिचितले गरेको बलात्कारको पीडामा उनको परिवारले सहानुभूति देखाउन सकेन । बरु सम्बन्धै तोड्यो सदाका लागि।

कौशीला उदाहरण पात्र हुन् । बलात्कारको असह्य पीडा झेलेका पीडितहरु स्वयं यसको दोषी हुने गरेका घटना जिल्लामा कैयन् छन् । बलात्कार भइसकेपछि उनीहरुको परिवार घरबाट कसरी पन्छाउने भन्ने चिन्तामा रहन्छन्।

तुलसीपुरको एउटा परिवारले एक बलात्कृतलाई १३ वर्षमै विवाह गरी परिवारबाट पन्छायो । मामाघर जाने क्रममा बसमा सामूहिक बलात्कारको सिकार बनेकी ती किशोरीलाई परिवारले नै अलग गराइदियो । बलात्कारपछि रक्ताम्य भएर घर पुगेकी ती किशोरीलाई उपचारका लागि अस्पताल पुर्‍याएपछि परिवारले बलात्कार भएको थाहा पायो । अनि छोरीलाई घर लैजान मानेन । घरपरिवारको इन्कारपछि अस्पतालले पनि ती बालिकालाई परिवारसँग पठाउन कर गरेन।

उनलाई संरक्षण गृहमा राखियो र मनोसामाजिक प्रशिक्षण दिन थालियो । बालिका बिस्तारै शारीरिक तथा मानसिक रुपमा तयार हुँदै गइन् । तर घर लैजना परिवार पटक्कै सहमत भएन । महिला अधिकारकर्मीले परिवारलाई सम्झाउन गरेको सात महिनाको प्रयासपछि परिवार बल्ल छोरी लैजान राजी बन्यो । तर पीडितलाई परिवारका कुनै सदस्यले पनि सकारात्मक नजरले हेरेन । पीडितलाई गाली गर्न थालियो।

उनका अभिभावक केटाको खोजीमा लागे । तर ती बालिकाले विवाह गर्न इन्कार गरिन् ।  उनको बोली कसैले सुन्ने कुरै भएन । अन्ततः छिमेकी गाउँकै एक युवकसँग छोरीको इच्छाबेगर विवाह भयो ।जिल्लामा हुने बलात्कारका घटना र घटनापछिको अवस्था हेर्ने हो भने परिवार तथा समाजले बलात्कारको सम्पूर्ण दोष पीडितलाई नै थोपर्छ । पीडित नै ‘उस्तै’ भएका कारण घटना भएको अपजस लगाइन्छ।

एक वृद्धा आफ्नै भाइबाट बलात्कार हुँदा उनले न घरको आश्रय पाइन् न माइतीको । भारतमा बस्दै आएका भाइलाई दिदी असाध्यै माया गर्थिन् । उनले जीवनको अन्तिम कालखण्डको सहारा भाइ नै हुने सोचेकी थिइन् । तर तिनै भाइ ‘पिशाच’ बनेर प्रस्तुत भए । एउटा सुनसान रात सहोदर भाइले दिदीभाइको पवित्र सम्बन्ध सिध्याएनन् मात्रै, भाइप्रति असाध्यै प्रेम गर्ने दिदीलाई अर्धमृत पारेर छोडे।

पीडित दिदीले आफूमाथि परेको अन्यायको ‘निसाफ’ खोज्न कानुनी बाटो रोजिन् । बलात्कार गर्ने भाइविरुद्ध प्रहरीमा जाहेरी दिइन् । प्रहरीले भाइलाई पक्राउ गर्‍यो । आफूमाथि ‘कुकृत्य’ गर्ने अपराधी भाइ समातिएको खबरले दिदीको मन शान्त हुँदै थियो । तर भाइ पक्राउ परेपछि माइती पक्ष उनीविरुद्ध ओइरिए । उनी  माइतीको नजरमा ठूलो ‘दुश्मन’ भइन् । केही काम बिग्रियो भने उनीतिरै औंला ठड्याइन्छ।

उनी माइतीकै आश्रयमा छिन् । वर्षौंअघि पतिले कान्छी भित्र्याएपछि उनी घरबाट निस्कन बाध्य भएकी थिइन् । अहिले माइती पक्ष नै चिढिएपछि उनलाई सबै बिराना लाग्न थालेका छन् ।बलात्कारका घटनापछि पीडितहरु शारीरिक तथा मानसिक रुपमा विक्षिप्त हुन्छन्।उनीहरुलाई आवश्यक स्वास्थ्योपचारसँगै मानसिक परामर्श आवश्यक हुन्छ।

पीडितलाई मात्रै हैन, पीडितका परिवारलाई पनि मानसिक परामर्श दिनुपर्छ । ‘कुनै परिवारले घटनालाई सहज रुपमा लिएको पाइँदैन । पीडितकै दोष देखाएर परिवार पन्छिन खोज्छ,’ एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन तथा राप्ती उपक्षेत्रीय अस्पतालकी नर्स राधा पौडेलले भनिन्, ‘पीडित र पीडितका परिवारलाई पनि सँगै राखेर परामर्श दिने गरिन्छ ।’ सुरुमा पीडितलाई स्विकार्नै नचाहने परिवार परामर्शपछि सहमत त देखिन्छन् तर पीडित निर्दोष रहेको देख्न चाहँदैनन्।
 







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad