१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आफैं बस्ने छाउपडी गोठ भत्काउँदै अछामका महिला (फाेटाे)

छाउपडी गोठ भत्काउदै अछामको मेल्लेख गाउपालिका–७ नन्देगडास्थित दुपाल्त टोलका महिला। तस्बिरः नागरिक

अछाम – अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन्।

महिनावारी हुँदा घरदेखि टाढा बस्ने काम कुनै पनि हिसाबले ठिक नभएको महसूस गर्दै अछामको मेल्लेख गाउपालिका–७ को दुपाल्तका महिला आफैं छाउपडी गोठ भत्काएका हुन् । गोठमा बस्दा धेरै महिलाले ज्यान गुमाउनुका साथै बिभिन्न खाले हिंसा सहनु परेकाले गाउँमा रहेका पाँच वटै छाउपडी गोठ भत्काएर गाउँका सबै महिला महिनावारी हुँदा घरमै बस्न थालेको स्थानीय अगुवा पुतलीदेबि खत्रीले जानकारी दिइन्।

सोमबार बिहानको खाना खाएर गाउँको पटाकानीमा जम्मा भएका महिलाहरूले गाउँमा रहेका सबै गोठहरू भत्काएको उनले बताइन्। यसअघि आफूहरूले नबुझेर नै गोठमा बसिरहेको सुनाउदै पुतलीले सरसफाइमा विशेष ध्यान दिएर घरमै बस्दा पनि केहि फरक नपर्ने बारेमा गाउँका महिला सचेत बनेको बताइन्।

छाउपडी बार्ने प्रथालाई कुप्रथा घोषित गरि सरकारले यसलाई फौजदारी अपराधसमेत मानेर यस विरुद्ध कानुन निर्माण गरीसकेपछि यहाँका स्थानीयहरू छाउपडी गोठ विरुद्ध उत्रीएका हुन्। छाउपडी गोठमा बस्ने परिवारलाई गाउँपालिका र वडाले प्रदान गर्ने सबै सेवा सुबिधाबाट बञ्चित गर्ने निर्णय गरेपछि आफूहरूले गोठ भत्काएको स्थानीय जिरादेवी विकले बताइन्। 

सरकारले छाउपडी कुप्रथा विरुद्ध कानुन निर्माण गरी आगामी भदौ ५ गते पछि छाउपडी गोठमा राख्नेलाई जेल सजाय सम्मको व्यवस्था गरेपछि यो प्रथा मान्नेहरू निकै डराएका छन्। त्यसै कानुनलाई टेकेर स्थानीय तहले छाउपडी कुप्रथा अन्त्य गर्नका लागि गोठमा बस्नेलाई सेवा सुबिधाबाट समेत बञ्चित गर्ने सम्मको निर्णय गरेपछि मेल्लेख गाउँपालिकाका प्राय सबै गाउँमा गोठ भत्काउने अभियान चलेको छ।महिनावारी भएका महिलाले घरमै बस्दा देविदेउता रिसाउछन् भन्ने मान्यता बोकेका स्थानीयले गोठ भत्काएर घरमै बस्नका लागि देउतालाई समेत पुज्ने काम गरेका छन्।

‘देशकाल अनुसार हामीले अब देखि छाउ भएकी महिलालाई पनि घरमै राख्छौ महाराजा प्रभु केहि नदोस्नु होला भनेर कुले देउतालाई घण्ट, त्रिशुल चढाइसकेका छौ’ धौलपुरा देउताको धामीसमेत रहेका स्थानीय जोगि लुहारले भने–‘सबैले घरमै राखे पछि हामीले पनि त घरमै राख्नु पर्याे, गोठमा राखे त सरकारले जेल हाल्ने भनेको छ रे।’महिनावारी हुँदा गोठमै बसेका कारणले अछाममा थुप्रै महिलाले ज्यान गुमाइसकेपछि सुरु भएको छाउपडी गोठ भत्काउने अभियानले पछिल्लो समय तिब्रता पाएको छ। जिल्लाका केहि गाउँमा गैसस र सरकारी क्षेत्रबाट नै परियोजना संचालन गरेर छाउपडी गोठ भत्काउदा त्यति सफल नभएको यो अभियानमा महिलाले स्वस्फूर्त रुपमा गोठ भत्काउन थाल्दा अवश्य पनि छाउपडी कुप्रथाको अन्त्य हुनेमा सरोकारवालाले विश्वास लिएका छन्।

महिनावारी भएको बेला छाउपडी गोठमा बस्दा तुर्माखादकी गौरी बुढाको केहि महिना पहिले मात्र ज्यान गएको थियो। यस्तै गाज्राकी १५ वर्षीया रोशनी तिरुवाको गत वर्ष गोठमै ज्यान गएको थियो। देबिदेउता रिसाउने डरले नै महिला आफैं घरमा नबसेर गोठमा बस्ने गरेको कतिपय महिलाहरूको भनाई छ। गत मंसिर महिनामा तिमिल्सेनकी २६ वर्षीया डम्बरा उपाध्यायले पनी गोठमै ज्यान गुमाउनु पर्याे। राती खाना खाएर छाउपडी गोठमा सुतेकी २६ वर्षकी डम्बरा उपाध्याय विहान मृत अस्थामा भेटिइन। घर नजिकै बनाइएको छाउगोठमा महिनावारी भएको चौथो दिनको रात उनी एक्लै सुतेकी थिइन्। दिनघर घराएसी काममा ब्यस्त रहेकी उनी राति खाना खाएर सुतेकी थिइन्। बिहान अबेरसम्म नउठेपछि आफैं गई बोलाउदा ढोका नखुलेपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेको पारिवारले जानकारी दिएको छ।

अछाममा पछिल्लो करिव एक दशकमा डम्बरालगायत १२ महिला तथा किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन्। पछिल्लो समय चार वर्षअघि अछामको रिडिकोट गाविस वडा नम्बर ४ की १५ वर्षीय शर्मिला भुलको छाउपडि गोठमै भएका बेला मृत्यु भएको थियो। त्यस अघि जिल्लाको ढकारी, बारला, पायल, हत्तिकोट लगायतमा ठाउँमा ति महिलाले गोठमै ज्यान गुमाएको तथ्यांंक छ। शर्मिला भुलको ज्यान गएपछि अछाममा छाउपडी गोठ भत्काउने अभियान सुरु भएको हो। जिल्लामा गोठमुक्त अभियान चलिरहे पनि महिलाले गोठमा ज्यान गुमाउने क्रम रोकिएको छैन।

सुदूरपश्चिमकै पहिलो खुल्ला दिसामुक्त घोषणा भएको अछाममा महिनावारी भएको समयमा करिव ६४ प्रतिशत महिला शौचालय प्रयोग गर्नबाट बञ्चित हुनु नै पूर्ण सरसफाई जिल्ला नबन्नुको मुख्य चुनौती भएको जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको ठहर छ। महिनावारी हुँदा दहि, मोहि,घ्यू जस्ता पोषिला खानेकुरा खान हुँदैन भन्ने मान्यताका कारण महिलाहरू मात्र हैन उनीहरूका दुधे बालक समेत कुपोषित हुने गरेका छन। राम्रोसँग हावा नछिर्ने, खुट्टा तानेर राम्ररी सुत्न नमिल्ने सानो गोठमा चिसोका कारण बच्चाहरू निमोनियाको सिकार हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ। नेपाल सरकारले यो प्रथालाइ कुप्रथा भनी २०६२ वैशाख २६ गते घोषणा गरिसकेको छ भने निर्देशिका  लागू गरि बिभिन्न कार्यक्रम हरु संचालन भइरहेका छन। तर सबै भन्दा धेरै प्रभावित सुदूरपश्चिमको अछाम जिल्लामा यसको खासैै प्रभाव परेको देखिदैन। अछाममा छाउपडीका बेला कति महिलाले ज्यान गुमाए भन्ने तथ्याङक नभएपनि २०६३ साल यता १२ जना महिलाको छाउपडी गोठमा ज्यान गएको महिला तथा वालवालिका कार्यालय अछामले जनाएको छ।

छाउगोठमा मृत्यु भएका महिला तथा किशोरीहरूको नामावली
१.गौरी बुढा—तुर्माखाद—२०७४ पुष २४
२.रोशनी तिरुवा—गाज्रा—२०७३ असार     
३.डम्मरा उपाध्याय—तिमिल्सेन ७—२०७३ मसिर ४
४.शर्मिला भुल—रिडिकोट ३—२०६९ पुष ४
५लक्ष्मी बुढा—ढकारी ४—२०६८ माघ १९
६.झुमादेबि शाही—बारल १—२०६८ माघ १
७.डिक्रादेबि ढकाल—बिरपथ—२०६७
८.रतन देबि बिक—पायल ५—२०६३ माघ
९.झुप्री ढोली—पायल २—२०६७ फागुन
१०.पार्बती दमाई—पायल
११.हंसा जैसी—नाडा
१२.हंस देबि जोशी—रानीबन

छाउपडी गोठ भत्काउदै अछामको मेल्लेख गाउपालिका–७ नन्देगडास्थित दुपाल्त टोलका महिला। तस्बिरः नागरिक
छाउपडी गोठ भत्काउदै अछामको मेल्लेख गाउपालिका–७ नन्देगडास्थित दुपाल्त टोलका महिला। तस्बिरः नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App