२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पाटेबाघलाई पानी अभाव

बाँके निकुञ्जमा २ फेब्रुअरी २०१५ को मध्यान्ह १२ बजेर १६ मिनेट ४५ सेकेण्डमा देखिएको पाटेबाघ। तस्बिर सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज

कोहलपुर – बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि पानी अभाव चुनौतीको रूपमा देखा परेको छ। यो निकुञ्ज सुक्खा भएकाले पनि बाघलगायत वन्यजन्तुका लागि गर्मीयाममा पर्याप्त पानी पुग्दैन।

बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको निकुञ्जमा पानी अभाव चुनौतीकै रूपमा देखिन्छ। ५५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पानी अभावकै कारण मानव–वन्यजन्तुबीच द्वन्द्व भइरहेको छ। पानी नहुँदा निकुञ्जबाट जनावरहरू बाहिर निस्कने भएकाले मानवीय क्षति हुने तथा मानिसले प्रतिकार गर्दा जनावर मारिने घटना पनि हुने गरेको निकुञ्जले जनाएको छ। ‘पानीका लागि वन्यजन्तुलाई चुरे पुग्नुपर्छ कि मानववस्ती,’ सहायक संरक्षण अधिकृत रबिन चौधरी भन्छन्, ‘वन्यजन्तु पानीका लागि गाउँघर नजिक आउँदा कुकुरले लखेट्ने र टोक्ने गर्दा वन्यजन्तु घाइते हुने तथा मर्ने गरेका छन्।’

बाँके निकुञ्जमा बाघ र हात्तीसहित चौका, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवालगायत जनावर छन्। पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त मात्रामा चाहिन्छ। कतिपय वन्यजन्तु पानीका लागि राप्ती नदी पुग्ने क्रममा सडक दुर्घटनामा पर्ने गरेका छन्।

कतिपय वन्यजन्तु पानीका लागि राप्ती नदी पुग्ने क्रममा सडक दुर्घटनामा पर्ने गरेका छन्।

निकुञ्जले वन्यजन्तुलाई पानी अभाव हुन नदिन हरसम्भव प्रयास थालेको छ। विभिन्न ठाउँमा पानी पोखरी, तालतलैया निर्माण गरेको छ। निकुञ्जमा झण्डै २१ वटा सानाठूला जलाशय छन्। निकुञ्ज पूर्वीक्षेत्रमा करिब तीनवटा साना पानीपोखरी सुकेका छन्।

विभिन्न ठाउँमा निर्माण गरिएका यस किसिमका जलाशयले केही हदसम्म पानीको मात्रा पूर्ति गरेको निकुञ्जको भनाइ छ। निकुञ्जले अझै विभिन्न ठाउँमा जलाशय निर्माण गर्ने तयारी गरेको छ। तीमध्ये गिद्देनीचौरमा एक सय १० मिटर लम्बाइ, ८५ मिटर चौडाइ र दुई मिटर गहिराइको ठूलो जलाशय निर्माण गरिएको छ। पाटेबाघलगायतका वन्यजन्तुलाई पानी अभाव भएपछि जलाशय निर्माण गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए। उनका अनुसार यो जलाशय निकुञ्जभित्रको सबैभन्दा ठूलो हो। यो जलाशय निर्माणपछि निकुञ्जका पश्चिम सेक्टरका वन्यजन्तुलाई निकै राहत मिलेको निकुञ्जले जनाएको छ। ‘जलाशय वरपर पाटेबाघ, चित्तल, नीलगाई, चितुवाका पाइला भेटिएका छन्,’ उनले भने। पानी पोखरी तल्लो क्षेत्रमा निर्माण गरिए पनि चुरे क्षेत्रमा भने पानी अभाव नै छ। निकुञ्जभित्र विभिन्न घाँसेमैदानहरू बनाउने क्रम जारी रहेको निकुञ्जको भनाइ छ। ‘पहिलेभन्दा अहिले निकुञ्जमा पानीको मात्रा निकै राम्रो छ,’ भण्डारी भन्छन्, ‘तर स्थायी स्रोत नभएकाले पूर्वी क्षेत्रका केही भागमा पानी भने अभाव नै छ।’ गर्मीयाममा ढुवानी गरेर भए पनि पानीको मात्रा पूर्ति गरिने उनको भनाइ छ।

गर्मीयाम सुरु भएसँगै आगलागीका घटना हुने गरेका छन्। यसले पनि पानीको स्रोतलाई प्रभाव पार्ने गरेको छ। ‘डढेलोले चराचुरुङ्गी, खस्रेर हिँड्ने जनावरलगायतलाई प्रभाव पार्ने गरेको छ,’ उनले भने, ‘डढेलो नियन्त्रणका लागि योजना बनाएर लागेका छौं।’

बढ्दैछन् पाटेबाघ
पछिल्लो समय निकुञ्जमा पाटेबाघको संख्यामा वृद्धि हुँदै गएको छ। सन् २०१३ मा बाघको संख्या तीन रहेकोमा पछिल्लो समय बढेर ११ पुगेको छ। बाघ गणनाका क्रममा १३ वटा बाघ देखिए पनि दुईवटा बाघ भने बर्दिया निकुञ्जबाट आउनेजाने गर्ने गरेको निकुञ्जको भनाइ छ। भर्खरै पुनः बाघ गणना सकिएको छ। अहिले तथ्यांक विश्लेषण गर्ने काम भइरहेको निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए। जेठसम्म बाघ गणनाको तथ्यांक प्रकाशन गर्ने तयारी रहेको उनको भनाइ छ। आहारा प्रजाति बढ्दै गएको र बाघका लागि चाहिने वातावरणमा पनि सुधार भइरहेकाले पाटेबाघको संख्या बढ्दै गएको उनी बताउँछन्।

पाटेबाघ संरक्षणका लागि भनिएको बाँके निकुञ्जमा चौका अर्को विशेषताका रुपमा देखिएको छ्। मृगजस्तै देखिने लोपोन्मुख प्रजातिको दुर्लभ वन्यजन्तु चारवटा सिङ भएको चौका पनि अर्को विशेषताका रूपमा देखा परेको उनको भनाइ छ।

प्रकाशित: २० चैत्र २०७४ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App