१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड

काठमाडौ-  भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ ।

वैशाख कृष्ण तृतीयाका दिन स्थानीय टुँडालदेवीलाई आज भाटभटेनीमा ल्याएर भेट गराइँदैछ ।उक्त मन्दिरमा आजको दिन दर्शन गरेमा बाधा, अवरोध हटेर जाने विश्वासका साथ भाटभटेनी तथा त्यस वरपर क्षेत्रका भक्तजन दर्शनका लागि सहभागी भएका हुन्।

भाटभटेनीमा चैत शुक्ल पूर्णिमाका दिनदेखि देवीदेवतालाई मन्दिर बाहिर सजाएर दर्शनका लागि राखिएको छ । काठमाडौँको मध्यभागमा अवस्थित टुँडालदेवीको मन्दिर इक्षुमतिको किनारमा रहेको छ । भाटभटेनीलाई यिनको छोरी ज्वाइँ मानिएको छ्र । प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमामा टुँडालदेवीको परम्परागत जात्रा गरिने र आजको दिन भाटभटेनीसम्म खटजात्राको परम्परा छ।

परापूर्व कालमा एक कुख्यात तान्त्रिक स्त्रीले आफ्नो विद्या दुरुपयोग गरी स्थानीय बालबच्चालाई रोगब्याधी लगाएर निकै दुःख दिने गरेका कारण टुँडालदेवीको दैवी शक्तिले चील बनेर उनको बच्चालाई लिएर सुरक्षित राखेको र पुत्रवियोगले कुख्यात तान्त्रिक स्त्रीले आत्महत्या गरेको कथा पाइन्छ । टुँडालदेवीले उनीहरुको मृत शरीरलाई पुनःजीवन प्रदान गरी सकारात्मक कार्यका लागि प्रेरणा प्रदान गरेको जनस्रुती छ।

टुँडालदेवीले पुनःजीवन दिएपछि उनीहरुलाई छोरी ज्वाइँका रुपमा उनीहरुलाई स्थापित गरेको र विद्याधारी ब्रह्मायणी देवीका रुपमा उक्त स्थानमा राखेको स्थानीयवासी बताउँछन् । त्यसपछि स्थानीयवासीलाई सुरक्षा भएको विश्वास छ।

विद्याधारी ब्रह्मायणी देवी आमाछोरी रहेको र उनीहरुलाई वर्षमा एकपटक भेट गराउँदा लावा लस्करसहित जात्रा गर्नुपर्ने स्थानीय इञ्जिनियर कृष्ण डंगोलले बताए।शिव पार्वतीको शक्तिका रुपमा भाटभटेनीमा मूर्ति स्थापना गरी जात्रा चलाइएको जनविश्वास रहेको स्थानीयवासी तीर्थबहादुर प्रजापतिले जानकारी दिए।

मन्दिरदेखि बाहिर देवदेवीका साथै उनका सन्तान बालगोपालको पनि मूर्ति दर्शनका लागि परिसरभित्र राखिएको छ । तान्त्रिक विधिअनुसार पूजा गरिने उक्त मन्दिरमा जात्रा अवधिभर सहभागी भई दर्शन गरेमा पाप मोक्ष भई पारिवारिक सुख, शान्ति प्राप्त हुने भक्तजन बताउँछन्।

मन्दिरमा स्थानीयवासीले भजनकीर्तनका साथै विभिन्न बाजागाजा बजाउँदै त्यस आसपास क्षेत्रको परिक्रमा गराइएको छ । वैशाख कृष्णाष्टमीका दिनसम्म विधिविधानअनुसार विभिन्न प्रकारका पूजा तथा जात्रा सम्पन्न गरेपछि मूर्तिलाई पुनः मन्दिरभित्र प्रतिस्थापन गरिने छ।रासस

 

प्रकाशित: २० चैत्र २०७४ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App