१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

तयार भयो मेलम्ची पाइपलाइन

उपत्यकामा मेलम्चीको पानी आउने मिति तय नभए पनि पानी वितरण गर्ने पाइपलाइन तयार भएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । निर्देशनालयका अनुसार बिछ्याएको पाइपमा लिकेज तथा प्रेसर परीक्षणको काम समेत अन्तिम चरणमा पुगेको छ ।निर्देशनालयले पहिलेको योजनाअनुसार उपत्यकामा वितरण सञ्जालको लागि ६ सय ७० किलोमिटर र थोक वितरण प्रणालीअन्तर्गत ७७ किलोमिटर पाइप ओछ्याइसकेको छ।

‘हामीले वितरण सञ्जालअन्तर्गत ६ सय ७० किलोमिटरमा पाइप ओछ्याउने काम सक्यौं,’ निर्देशनालयका निर्देशक तिरेश खत्रीले भने, ‘प्राविधिक कारणले वितरण सञ्जालको लागि थप सय किलोमिटरमा पनि पाइप बिछ्याउनु पर्ने भएपछि अहिले त्यसको काम अन्तिम चरणमा छ ।’राजधानीको धुम्बाराही, कलंकी, चक्रपथ आसपासलगायत क्षेत्रमा पाइप बिछ्याउने काम भइरहेको छ । खत्रीका अनुसार पाइप बिछ्याइएका ठाउँमा भने लिकेज तथा प्रेसर परीक्षणको काम भइरहेको छ।

‘अब मेलम्चीको पानी आएमा हाम्रो कारणले समस्या हुँदैन,’ निर्देशक खत्रीले भने, ‘मेलम्ची पानीको लागि उपत्यकामा आवश्यक पूर्वाधार तयार गरिसक्यौं ।’ काठमाडौंमा पानी वितरण गर्न निर्देशनालयबाट कुनै रोकावट नरहेको उनले बताए । खत्रीका अनुसार बिछ्याइएका पाइपमा लिकेज तथा प्रेसर परीक्षणको काम पनि अन्तिम चरणमा पुगेको छ।

पाइपलाइनमा पूर्ण क्षमतामा पानी पठाएर प्रेसर जाँच गरिरहेको उनले बताए । पाइपलाइनमा नियमित वितरण हुनेभन्दा बढी पानी राखेर परीक्षण गर्दा पनि कतै समस्या नभेटिएकाले मेलम्चीको पानी आएमा वितरणमा कुनै समस्या नहुने निर्देशनालयको दाबी छ । मेलम्चीको पानी सुन्दरीजलमा आउनसाथ वितरण थालिने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । मेलम्चीको पानी आएपछि घरघरका धारोमा भने पुरानै प्रणालीबाट पानी पठाउने तयारी गरिएको छ।

त्यसैगरी पानी भण्डारणका लागि सात करोड ४५ लाख लिटर पानी अट्ने ट्यांकी निर्माण पनि अन्तिम चरणमा पुगेको छ । विभिन्न ठाउँमा बनेका नौ ट्यांकीमध्ये आठको निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । बाँकी ट्यांकी पनि निर्माण सम्पन्न क्रममा रहेको उनले बताए।
सुरुङ अझै ७७ मिटर बाँकी
मेलम्चीको पानी उपत्यकामा ल्याउन अझै ७७ मिटर सुरुङ खन्न बाँकी छ । अब सिन्धु–ग्याल्थुम खण्ड सुरुङको ‘ब्रेक थ्रु’ हुनेछ।

मेलम्ची उप–आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार दैनिक सात मिटर सुरुङ खन्ने काम भइरहेको छ । यही गतिलाई निरन्तरता दिँदा सुरुङ खन्ने काम अबको ११ दिनभित्रै सम्पन्न हुने देखिन्छ । आयोजनाले पनि चैतभित्र सिन्धु–ग्याल्थुम खण्डको ‘ब्रेक थ्रु’ गर्ने योजना बनाएको छ ।खानेपानी मन्त्री बिना मगरले समेत अघिल्लो साता कार्यक्षेत्रमै पुगेर सक्दो चाँडो ‘ब्रेक थ्रु’ गराउने निर्देशन दिएकी छन् ।अघिल्लो वर्षमै सुन्दरीजल–सिन्धु खण्डको सुरुङ ‘ब्रेक थ्रु’ भइसकेको छ । गत पुस १४ गते ८.२ किलोमिटर ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थु्र’ भएको थियो ।

सिन्धु–ग्याल्थुम खण्ड ‘ब्रेक थ्रु’ सँगै सुरुङ खन्ने काम सम्पन्न हुनेछ । सुरुङलाई तीन खण्ड गरेर खनिएको थियो ।‘चैतभित्र सुरुङ खन्ने काम सम्पन्न गर्नेछौं,’ उनले भने, ‘त्यसपछि अन्य काम गर्न करिब दुई महिना लाग्छ ।’ निर्देशक देवकोटाका अनुसार दसैँसम्म भने कुनै हालतमा पनि सुन्दरीजलमा पानी आउने छ ।‘हाम्रो मुख्य कार्य मेलम्चीको पानी सुन्दरीजलमा दसैँसम्म खसाल्ने हो,’ उनले भने, ‘त्यसपछि वितरण प्रणालीसम्बन्धी जिम्मेवारी निर्देशनालयले गर्छ।’

आयोजनाका अनुसार मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउने छ । अम्बाथानदेखि सुन्दरीजलसम्म २७.४ किलोमिटर सुरुङमार्ग छिचोल्दै उपत्यकामा पानी आयोजनाले २४ अर्ब रूपैयाँ खर्चिसकेको छ । आयोजना सम्पन्न गर्न २८ अर्ब बजेट विनियोजन गरिएको छ।

प्रकाशित: १९ चैत्र २०७४ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App