१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थ्रीस्टार मदन भण्डारी गोल्डकपको फाइनलमा

बुटवल– थ्री स्टार क्लब बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। उसले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय टिमलाई १—० ले पाखा लगाउँदै उपाधिको दावेदारी प्रस्तुत गरेको हो।

बुटवल १२ रामनगर स्थित मानवज्ञान माविको खेल मैदानमा भएको खेलमा थ्री स्टारका बुद्ध चेमजोङ्गले ३५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। बिमल घर्तीको फ्रि किक पासलाई चेमजोङ्गले गोलमा परिणत गरेका थिए। 

एक गोल गरेको थ्री स्टारका डिफेन्डर विदेशी खेलाडी र किपरले आयोजकका धेरै वटा प्रहारलाई जाली चुम्नबाट रोकेका थिए। दोस्रो हाफपछि मदन भण्डारीका खेलाडी केही आक्रामक देखिएपनि थ्री स्टारका खेलाडीले उनीहरुलाई रोक्न सफल भए। आयोजक टिमले गोल गर्ने तीनवटा सुन्दर मौका गुमाएको थियो। दोस्रो हाफ सुरु भएको केही मिनेटमै मदन भण्डारीका खेलाडीले गोलपोष्ट नजिकैबाट हानेको बललाई गोलपोष्ट भित्रैबाट छातीले फर्काएर टिमको अग्रता कायम राख्न सफल भएका थ्री स्टारका विदेशी खेलाडी पिटर खेलको म्यान अफ द म्याच भए। उनले १० हजार नगद पुरस्कार पाए। 

थ्री स्टारका कोच मेघराज केसीले आफना अनुभवी खेलाडीको मेहनत र उत्कृष्ट प्रदर्शनले जित दिलाएको प्रतिक्रिया दिए। उपाधिको दाबेदारी प्रस्तुत गर्न नपाएको आयोजक मदन भण्डारी स्र्पोट एकेडेमीका कोच सुन्दर थापाले आफ्नो टिममा राष्ट्रिय खेलाडी कम भएको, राम्रा अवसरहरु क्याच गर्न नसकेको र लगातारको खेलका कारण खेलाडीहरु थाकेको प्रतिक्रिया दिए। मदन भण्डारीले शुक्रबार कटारी गोल्डकप खेलेर फर्केको थियो। सेमीफाइनलबाट बाहिरिएको आयोजकले नगद ५० हजार पुरस्कार पाएको छ। 

करिब दुई साता अघि बुटवलमै भएको तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थ्री स्टारलाई मदन भण्डारी गोल्डकपको बलियो दावेदारको रुपमा हेरिएको छ। उसले उपाधिका लागि सोमबार मनाङ मर्स्याङ्गीको सामना गर्नेछ। 

मनाङ्गले शनिबार भएको सेमीफाइनलमा घरेलु टिम सुनौलो संगमलाई ५—० को फराकिलो अन्तरले पराजित गरेर फाइनमा पुगको हो। मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा भइरहेको प्रतियोगितामा प्रथम हुनेले नगद १५ लाख, द्धितीय हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। सेमिफाइनलमा पुग्ने टिमलाई नगद ५० हजार पुरस्कार राखिएको थियो।

प्रकाशित: १८ चैत्र २०७४ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App