१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आलु गाउँमा आलु महोत्सव

पोखरा –आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेम्जामा आगामी चैत २२ गतदेखि ३० गतेसम्म नवौं राष्ट्रिय हेम्जा आलु महोत्सव हुनेभएको छ। 

‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूलनारका साथ विष्णुपादुका क्लब हेम्जा र प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना व्यवस्थापन इकाइ बसुन्धारा काठमाडौँको आयोजनामा विष्णुपादुका खेल मैदानमा महोत्सव हुन लागेको हो। 

कास्की र आसपासका क्षेत्रमा हेम्जाको आलुको माग बढेसँगै यसले विस्तारै व्यावसायिक रुप लिँदै गएको स्थानीयवासी एवं प्रथम हेम्जा आलु महोत्सवका संयोजक धर्मराज बास्तोला बताउँछन्। 

“लेतेको वर्षे सेतो आलु, घान्द्रुक र छोम्रोङबाट आउने रातो डल्ले आलुको खेतीबाट यहाँ आलुखेतीको शुरुवात भएको पाइन्छ,” उनले भने, “२०४५÷४६ सालदेखि केही मात्रामा आलुखेती विस्तार भई २०५४/५५ सालयता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले आफ्नो बाह्य अनुसन्धानस्थल स्थापना गरेपछि यहाँ पूर्णरुपमा आलुखेतीले व्यावसायिक रुप लिएको हो।” 

आलुखेतीको विस्तार हुँदै जाँदा केन्द्रले यसलाई आलु गाउँको रुपमा परिचित गराएको छ। हेम्जालाई व्यावसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउँदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए। 

हेम्जास्थित बहुउद्देश्यीय किसान सहकारी संस्थाको आयोजनामा वुद्धिजीवी अगुवा, एवं कृषक सरोकारवाला निकायको सक्रियतामा आलु महोत्सव गर्ने निधो गरी सहकारीकै आयोजना एवं संयोजनमा २०६६ साल फागुनमा एक दिवसीय प्रथम आलु महोत्सव गरिएको थियो। 

त्यसपछि दोस्रो हेम्जा आलु महोत्सव साविक हेम्जा गाविसले र त्यस यताका संस्करणलाई विष्णुपादुका क्लबले निरन्तरता दिएको छ। कार्कीकाअनुसार महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हास्य कलाकारको बेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउ कफी, चिया बिक्री एवं प्रदर्शनी, विभिन्न कृषि बीउबीजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी रहने छ। 

त्यस्तै महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट हुनुका साथै रत्यौली प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति र हास्य प्रदर्शन रहने उनले बताए। 

व्यापारिक कक्ष संयोजक राजेन्द्र थापकाअनुसार महोत्वमा कृषि प्रदर्शनी, कृषि उत्पादन बिक्री वितरण, आलुलगायत अन्य कृषि उत्पादनका परिकार, प्राथामिक उपचार, बैकिङ कारोबार, मनोरञ्जन लगायतका ११६ प्रदर्शनी कक्ष रहने छन्। 

महोत्सव सम्पन्न गर्नका लागि करिब रु २४ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरिएको मूलआयोजक समितिका कोषाध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए। 

महोत्सवमा विभिन्न उपसमितिले आ–आफ्नो काम अन्तिमचरणमा पु¥याएको महोत्सव मूलआयोजनक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए। हेम्जामा व्यावसायिक आलुखेती तर्फ आकर्षण भइरहेको बताउने कृषि अनुसन्धान केन्द्र लुम्लेका निर्देशक राम केसी यसलाई नमूना आलु गाउँ बनाउन गुणस्तरीय बीउको खाँचो रहेको धारणा राख्छन्। 

हेम्जामा एम एस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खुमल सेतो र डेजीरे गरी मुख्यतः छ जातका आलु लगाउने गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनोहर कडरियाले हेम्जामा आलुको उत्पादन बढाउनका लागि बीउ उत्पादनमा लागेको जानकारी दिए। 

हेम्जामा आलुको उत्पादकत्व प्रति हेक्टर १८ देखि २० टन सम्म छ भने लगभग चार सयदेखि ४२५ हेक्टर क्षेत्रफलमा खेती गरिएको तथ्यांक छ। हेम्जामा आलु उत्पादनबाट मात्रै वार्षिक रु २० देखि २१ करोडसम्मको कारोबार हुने गरेको महोत्सव मूलआयोजक समितिका महासचिव स्थानीयवासी वसन्तकुमार श्रेष्ठले जानकारी दिए। वासुदेव पौडेल/ रासस

प्रकाशित: १७ चैत्र २०७४ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App