१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्णाली–रारा पर्यटन वर्ष : लोगो र नारा सार्वजनिक

कर्णाली–रारा पर्यटक वर्ष–२०७५ को लागो।

सुर्खेत- मुगुको रारातालबाट वैशाख १ गते उदघाटन हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को लोगो र नारा प्रदेश सरकारले सार्वजनिक गरेको छ। शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन वर्षको लोगो र नारा सार्वजनिक गरेका हुन्।

कर्णाली पर्यटन वर्षको नारा ‘कर्णाली समृद्धिको आधारः पर्यटन र पूर्वाधार’ राखिएको छ भने राराताल, हिमालय र उदाउँदै गरेको सूर्य चिन्हसहितको लोगो छ। कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्। उद्घाटन कार्यक्रममा संघीय सरकारका सबै मन्त्रीहरु र सबै प्रदेशका मुख्यमन्त्रीहरु रारा पुग्ने कार्यक्रम तय भएको छ।

लोगो र नारा सार्वनजिक गर्दै मुख्यमन्त्री शाहीले प्रकृतिसँग संघर्ष गर्ने मन भएका पर्यटकलाई कर्णालीको रारा आउन निम्ता दिए। उनले भौतिक पूर्वाधार प्रयाप्त नभएपनि प्रकृतिको सुन्दरता अवलोकन गर्न रारा पुग्नैपर्ने बताए। ‘भौतिक पूर्वाधारको अभाव छ, चौरमा सुत्ने र ढुंगाको सिरानी बनाउन सक्ने पर्यटकलाई रारा आइदिन आग्रह गर्छु’ उनले भने, ‘यो नै कर्णाली प्रदेश र राराको विशेषता हो।’

उनले कर्णाली प्रदेश आफैंमा अनुपम पर्यटकीय क्षेत्र भएको बताउँदै कर्णाली पर्यटन वर्षले जनतालाई आत्मनिर्भर बनाउन र गरिबी घटाउन सहयोग पुग्ने दावी गरे। ‘राराबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा सम्वोधन गर्नुहुनेछ’ उनले भने, ‘ बैशाख १ गतेबाट देश समृद्धिको यात्रामा अघि बढ्छ।’ उनले रारालगायतका पर्यटकीय गन्तब्यमा पर्यटकीय रुट निर्माण गर्ने, त्यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार–प्रसार गर्ने र आवश्यक प्रर्वद्धनात्मक कार्यक्रमहरु ल्याइने बताए। उनले पर्यटन वर्षकै अवसर पारेर रारामा टेलिफोन र इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको पनि जानकारी दिए।

पर्यटन वर्षका प्रचार–प्रसार संयोजक एवम् सामाजिक विकास मन्त्री दल रावलले पर्यटन वर्षको उद्घाटनपछि प्रदेश मन्त्रिपरिषद्को तेस्रो बैठक रारामै बस्ने तय भएको बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ’ उनले भने, ‘सो बैठकले प्रदेशको समृद्धि र विकासका लागि महत्वपूर्ण निर्णयहरु गर्नेछ।’

उनले पर्यटन वर्षभरी रारामा पाँच लाख पर्यटकहरु भित्र्याइने बताए । ‘वार्षिक ५० हजारको हाराहारीमा पर्यटकहरु रारामा पुगेको तथ्याङ्क हामीहरुसँग छ’ उनले भने, ‘पर्यटन वर्षमा पाँच लाख पर्यटक रारा पुर्‍याउँछौं।’

भौतिक योजना मन्त्री खड्क खत्रीले सुर्खेतदेखि रारासम्मको स्थलमार्ग सुधारको काम भइरहेको बताए। ‘रारा जाने पर्यटकहरुको सहजताका लागि कर्णाली राजमार्ग सुधारको काम भइरहेको छ’ उनले भने, ‘बाह्रै महिना पर्यटकहरुलाई सहज रुपमा गन्तव्यसम्म पु¥याउने गरेर हामीले काम गरिरहेका छौं।’

 

 

 

प्रकाशित: १७ चैत्र २०७४ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App