१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

एक पाटो समाज

कुमारी लामा

मनभरि असहजता बोकेकी छ एक उत्साही युवा ।फ्याट्टै निस्किजान्छ असन्तुष्टिका केही झिल्का ।प्रत्येक व्यक्तिमा फरक क्षमता छैन र ?फेरि किन शारीरिक अपांगता भएका व्यक्तिलाई फरक क्षमता भएका भनी सम्बोधन गरिन्छ ?निःशब्दता छाउँछ, एकछिन अघिको सलबल माहोलमा।

उनी अपांगता अधिकारकर्मी अमृता ज्ञवाली । प्रश्न सोचनीय छ । हामी प्रत्येक व्यक्ति फरक छौँ, एकअर्काबाट र हाम्रा विशिष्टता र क्षमता पनि फरक छन् । तर, पछिल्लो समय शारीरिक अपांगता भएका व्यक्तिलाई फरक क्षमता भएका व्यक्ति भनी सम्बोधन गरिने शब्दप्रति नै पनि उनीहरूको चित्त नबुझेको भान हुन्छ । यो त एक उदाहरण हो, असन्तुष्टिको।

तर गाह्रा, अप्ठेरा पाटा त कति छन् कति, उनीहरूका । अपांगताभित्र पनि विविधता छन् । शारीरिक मात्र नभई बौद्धिक अपांगता भएकाको समस्या झन् विकराल छ ।अपांगता भएका व्यक्तिहरूलाई आजको समाजले हेर्ने दृष्टि र गर्ने व्यवहार कस्तो छ ?सम्बन्धित निकाय के कति संवेदनशील छन्, उनीहरूका हक, अधिकारप्रति ? जस्ता प्रश्न मेरो मनभरि छ ।

समाज दृष्टि
नेपालका मुख्य सहरमा बनेका पछिल्ला भौतिक संरचना र बढ्दै गरेको इन्टरनेटको प्रयोग देख्दा लाग्छ, देशले विकास र प्रविधिमा छलाङ मारिसक्यो । तर, भित्री कुरा बुझ्दै जाँदा यति विघ्न विकासप्रेमी र प्रविधिमैत्री देखिने हामीभित्रको सोच र दृष्टिकोणमा भने खासै परिवर्तन आएको पाइँदैन।

समाजले मानेको भन्दा अलिकति फरक हुनेबित्तिकै उनीहरूलाई हेर्ने दृष्टिकोण केही हदसम्म नकारात्मकतातिर ढल्किहाल्छ । कोमल स्वभावका केटाहरू हुन् या अलि जब्बरे केटी, समाजले आँखीभौँ उचालिहाल्छ । पहिलो सन्तान छोरा जन्मँदा ढुक्क हुने परिवार छोरी जन्मँदा चाहिँ अर्को जन्माउनुपर्ने भयो भन्ने मानसिकता तयार पार्न थाल्छ । त्यसमा पनि शारीरिक अपांगता भएका सन्तान जन्मियो भने त पूर्वजन्मको फल र भाग्यको कुरासम्म जोडिन पुगिहाल्छ।

अपांगता भएका छोराछोरीहरू सामान्य अवस्थाका नानीभन्दा धेरै कुराबाट कटौतीमा पर्दै जान्छन् । एक हिसाबले उनीहरूको अस्तित्वलाई नै बेवास्ता गरिन्छ । शारीरिक अपांगता भएका छोराछोरीको शिक्षा, स्वास्थ्य, खानपान, इच्छा, चाहनालगायत धेरै कुरामा कतिपय अभिभावक चिसो व्यवहार देखाउन पछि पर्दैनन् । शारीरिक अपांगताका कारण परिवारबाटै हेलाहोचो साथै शिक्षाबाट वञ्चित हुनुपरेको कुरा चर्चित लेखक झमक घिमिरेले आफ्नो आत्मकथा ‘जीवन काँडा कि फूल’मा लेखेकी छन्।

घिमिरेले त लेखिन्, तर नलेखिएका, नभनिएका त्यस्ता अनेकन् कथाहरू, पीडाहरू छन्, जो अपांगता भएका व्यक्तिले दैनिक झेलिरहेका छन् । शारीरिक अपांगता नै उनीहरूको बौद्धिकता र क्षमता नाप्ने कसी भइदिन्छ ।शारीरिक अपांगता असक्षमता होइन भन्छन्, सिनेमा निर्देशक प्रवीण श्रेष्ठ । उनी स्पाइनल कर्ड इन्जुरीका कारण ह्विलचेयरमा छन्, मोक्षजस्तो सफल सिनेमाले उनको निर्देशकीय क्षमता र सिर्जनशीलता नेपाली दर्शकमाझ पस्किसकेको छ । आज उनी म्युजिक भिडियो र विज्ञापनमा निकै व्यस्त छन्।

पहिलो सन्तान छोरा जन्मँदा ढुक्क हुने परिवार छोरी जन्मँदा चाहिँ अर्को जन्माउनुपर्ने भयो भन्ने मानसिकता तयार पार्न थाल्छ । त्यसमा पनि शारीरिक अपांगता भएका सन्तान जन्मियो भने त पूर्वजन्मको फल र भाग्यको कुरासम्म जोडिन पुगिहाल्छ।

कामको चापले गर्दा कैयौँ प्रोजेक्ट छाड्नुपरेको अवस्था छ । तर, यस अवस्थामा पुग्नका लागि भने उनले निकै पीडादायी र संघर्षपूर्ण यात्रा तय गरेका छन् । आफूमा भएको क्षमता प्रमाणित गर्न मात्र उनलाई सात वर्ष लाग्यो । शारीरिक अपांगता त छँदै छ, अझ समाज साथीभाइले देखाउने असंवेदनशीलतादेखि उनी दिक्क हुन्छन् । सधैँ सँगै हिँड्ने साथीभाइले सम्म उनीहरूप्रति खासै संवेदनशीलता नदेखाउने उनको भोगाइ छ । उनका नजिकमा मित्रले बनाएको घरमा पनि ह्विलचेयर जान सक्ने स्लोप बनाएनन् ।

उनी प्रश्नील छन्, मसँग यति नजिक भएर पनि ती साथीले प्रवीण पनि मेरो घरमा आउँछ भन्ने किन सोचेन होला ?प्रश्न निकै गम्भीर छ, प्रवीणको । हामी या भनौँ समाजले यसैगरी बेवास्ता गरिदिन्छौँ, उनीहरूलाई । शारीरिक अपांगताका बाबजुद पनि आफ्नो बौद्धिक क्षमताले गर्दा विभिन्न पेसा व्यवसाय र निकायमा आफूलाई अब्बल साबित गरिसकेका छन् धेरैले ।

समाज आज पनि बौद्धिकताको मापन शारीरिक अवस्थाका आधारमा गरिरहेको छ । स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर साँगाका मेडिकल डिरेक्टर डाक्टर राजु ढकालले पोलियोका कारण निम्तिएको शारीरिक अपांगताका कारण निकै अप्ठेरा भोगेका छन्, पढाइ र कामको सिलसिलामा।

पहिलो कुरा त एसएलसीपछि साइन्स पढ्ने इच्छा राख्दा धेरैले प्राक्टिकलका लागि समस्या हुन्छ, पढ्न सक्दैनौँ जस्ता कुरा सुनाएर हतोत्साहित गरिदिन्थे । डाक्टर भइसकेपछि पनि प्राक्टिसका बेला होस् या इमर्जेन्सीमा काम गर्ने विषयमा पनि उनको शारीरिक अपांगता इस्यु बन्ने गथ्र्यो । तर, उनले ती सबैलाई चिर्दै आज एक सफल डाक्टरका रूपमा आफूलाई उभ्याइसकेका छन्।

अपांगता भएकामा पनि शारीरिक मात्र नभई बौद्धिक अपांगता भएका पनि धेरै छन् । उनीहरूलाई हरेक कुराका लागि अरुकै सहयोगको जरुरत पर्ने हुँदा व्यक्ति स्वयम् र परिवारले पनि सबै कुरा मिलाउन गाह्रो पर्छ नै । अपांगता भएकामा पनि महिलाको विषय निकै संवेदनशील छ । उनीहरू त अझ यौनजन्य हिंसासम्ममा पर्न सक्ने खतरा धेरै हुन्छ ।

महिला मर्म
बौद्धिक अपांगता भएकी १५ वर्षीया किशोरिमाथि हालै भएको यौनहिंसाको चरमरूप छापाभरि छरिएको छ । हप्तौँसम्म बन्धक बनाएर सामूहिक बलात्कार भएको घटनाले जो–कोहीको मनमा गतिलो धक्का दिएको छ । यो त एक उदाहरण मात्र हो।

नआएका त्यस्ता अनेकौँ दर्दनाक पीडा व्यहोरिहेका छन्, अपांगता भएका महिलाले । बोल्न नसक्ने, श्रवण शक्ति कमजोर भएका, शारीरिक या बौद्धिक अपांगता भएका महिलाहरू यौनजन्य हिंसामा पर्ने निकै ठूलो खतरा छ । एउटा सामान्य अवस्थाकी महिलाले त आफ्नो सुरक्षा र हक–अधिकारका लागि यति संघर्षमा छन् भने ती अनेकौँ अपांगता भएका महिलाको पीडा कुन हदको होला भनेर सहजै आकलन गर्न सकिन्छ।

छोरी त्यसमाथि पनि शारीरिक अथवा बौद्धिक अपांगता परिवारका लागि निकै ठूलो टाउको दुखाइ बनिदिन्छ । महिलाका सन्दर्भमा मुख्यतः बिहेबारी र प्रजनन क्षमता भीमकाय प्रश्न भई खडा हुन्छ । शरीरको कुनै अंगमा भएको समस्याका कारण उनीहरूको सम्पूर्ण क्षमता र मानवजन्य आवश्यकतामाथि शंका हुन्छ । खाने, लाउने, अलिकति अन्य युवतीजस्तै शृंगारपटार गर्ने उनीहरूका उमेरजन्य चाहना पूरै नजरअन्दाजमा पर्छन् ।शारीरिक अपांगता भएका पुरुष प्रायःको एक सामान्य शारीरिक अवस्थाको महिलासँग बिहे हुने र श्रीमतीको सहयोगमा सहज जीवन अगाडि बढिरहेको देखिन्छ । तर, यही कुरा महिलाका लागि खासै लागू हुन्न।

शारीरिक अपांगता भए पनि छोराले नै वंश अगाडि बढाउने कारण आमाबाले पनि छोराको बिहे गरिदिने विषयमा विशेष चासो राख्ने गरेको विचार नेपाल अपांग महिला संघका अध्यक्ष निर्मला धितालको छ । महिलाका विषयमा भने बिहेको कुरा त निकै परको कुरा भयो, उनीहरूको नागरिकता बनाइदिनेसम्म परिवारले ख्याल नराख्ने कुरा थप्छिन्, धिताल । नागरिकता नै नभएपछि राज्यबाट पाउने सेवा–सुविधाबाट उनीहरू स्वतः वञ्चित हुने नै भए।

उचित शिक्षा र अवसर पाए अपांगता भएका महिला पनि अगाडि बढ्न सक्छन् भन्ने उदाहरण धेरै छन् हाम्रा वरपर । आत्मनिर्भरता र उज्यालो भविष्यका लागि शिक्षामा पहुँच हुनुपर्छ भन्ने विचार छ, अपांगता अधिकारकर्मी अमृता ज्ञवालीको । उनको परिचय अधिकारर्मीसम्म मात्र सीमित छैन । महिलाहरूको सौन्दर्यलाई उनीहरूको शरीरको नाप–नक्सासम्म मात्र सीमित राख्ने आममानसिकतालाई च्यालेन्ज गर्दै उनले ह्विलचेयरमा बसेर नै मोडेलिङ गरेकी छन्।

अनेकौँ फोटो सुटदेखि मिस नेपालको जजका रूपमा पनि उनले काम गरिसकेकी छन् । अहिले पनि शारीरिक अपांगता भएकालाई प्रयोग गरिने भाषादेखि मिडिया, म्युजिक भिडियो, पुस्तकहरूमा प्रस्तुत गरिने तरिकाप्रति उनको गुनासो छ । शारीरिक अपांगता भएकाहरूलाई सधैँ गरिब, निरीह र दयाका पात्रका रूपमा मात्र किन हेरिन्छ या देखाइन्छ ? उनको प्रश्न।

उचित शिक्षादीक्षा र अवसर प्रधान गरेर उनीहरूको जीवनस्तर उकास्नुपर्ने साथै सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्छ भन्ने धारणा उनको छ । त्यही आमबुझाइमा परिवर्तन ल्याउन उनले अनेकौँ जनचेतनामूलक म्युजिक भिडियोहरूमा पनि काम गरेकी छन् ।शारीरिक या बौद्धिक अपांगता भएका महिलाको समस्या अनगिन्ती छन् । त्यसमा पनि दलित महिलाले झेल्नुपर्ने समस्या झन्, डरलाग्दो छ । पत्रकार शर्मिला परियार त्यस्तै अनेक समस्यासँग जुध्दै अगाडि बढिरहेकी छन्।

शारीरिक अपांगता साथै दलित भएका कारण पोखरामा रोजगारी पाउन गाह्रो भयो। उनी काठमाडौं आइन् । यहाँ पनि उनलाई जातका कारण कोठा पाउन निकै गाह्रो परेको गुनासो पोख्छिन् । अपांगता भएकाप्रति समाजको दृष्टिकोण केही हदसम्म सकारात्मक उन्मुख भए पनि अझै शारीरिक अपांगतालाई कमजोरीकै रूपमा समाजले लिने गरेको उनको भनाइ छ । उनीहरू पनि यसै देशका नागरिक हुन् भन्ने ख्याल राख्दै राज्यले दिने सम्पूर्ण सुविधाहरू उनीहरूले पनि सर्वसुलभ प्राप्त गर्नु पर्छ भन्ने कुरो थप्छिन् शर्मिला।

जातीय, लैंगिक, शारीरिक अवस्थालगायत कुरामा गरिने भेदभाव सामाजिक अपराध हो र यस्ता भेदभाव कानुनबमोजिम दण्डनीय हुनेछ भन्छ, संविधान तर ती कुरा हाम्रो समाजमा पूर्णरूपमा लागू हुन नसक्दा दण्डहीनताकै अवस्था देखिन्छ ।

सवाल संवेदनशीलताको
शारीरिक र बौद्धिक अपांगता भएका व्यक्तिको हक–अधिकारका लागि काम गर्ने अनेक संघ–संस्था र निकाय छन् । उनीहरूको आवाजलाई बुलन्द पार्न प्रदेशदेखि राष्ट्रिय सभासम्म पनि सांसद पुगिसकेको अवस्था छ ।

आज पनि सार्वजनिक यातायातका साधनदेखि बाटो, सार्वजनिक स्थल, सरकारी कार्यालयहरू, सार्वजनिक शौचालय, बैंक, सपिङ कम्प्लेक्स, रेस्टुरा लगायत स्थल अपांगमैत्री हुन सकेका छैनन् । महानगरका खाल्डाखुल्डी सडक र खतनरनाक सार्वजनिक सवारी–चालकका अधिल्तिर ह्विलचेयर प्रयोगकर्ताको अवस्था के होला ? जेब्रा क्रसिङमा नै धेरैले ज्यान गुमाइसकेका छन् । दृष्टिविहीनका लागि प्रशस्त ट्याकटाइल सर्फेस र ह्विलचेयर प्रयोगकर्ताका लागि विशेष लेनका अभावका कारण उनीहरूलाई सार्वजनिक ठाउँमा आवतजावतका लागि निकै अप्ठेरो परेको देखिन्छ ।

भौतिक संरचनाका कारण पनि शारीरिक अपांगता भएका व्यक्ति सहज रूपमा बाहिर निस्कन सकिरहेका छैनन् । बैंक, पसलहरू, होटल रेस्टुराँ पनि अपांगमैत्री नहुँदा उनीहरूले ग्राहक गुमाइरहेको दाबी गर्छन्, ह्विलचेयर प्रयोगकर्ता प्रवीण श्रेष्ठ । अझै पनि स्कुल–कलेजहरू अपांगमैत्री बनिसकेका छैनन् । शारीरिक अपांगता भएका व्यक्तिका लागि पाइला पाइलामा संघर्ष छ।

अपांग अधिकारका अभियन्ता जावेद अविदीले सुगम्य भारत अथवा सबैका लागि पहुचयुक्त भौतिक संरचना नामक अभियान चलाएका थिए । नेपालमा पनि जरुरी छ, सबैको पहुँचमा हुने भौतिक संरचनाहरूको । पछिल्लो समय केही सार्वजनिक सवारी अपांगमैत्री भित्रिएका छन् । राज्यले अपांगता भएका व्यक्तिका लागि समावेशी शिक्षा र उनीहरूको स्वास्थ्यका लागि अनेक कार्यक्रम ल्याएका छन् । अपांगताको वर्गीकरण गरी भत्ताको व्यवस्था पनि भएको छ।

उनीहरूको हक–अधिकारका लागि बोल्न सक्नेहरू राज्यका निकायमा पनि प्रतिनिधित्व बढेको अवस्था छ । यति हुँदाहुँदै पनि अपांगता नर्मलाइज भएको अवस्था भने छैन । उनीहरूलाई अझै पनि फरक रूपमा नै हेर्ने र बुझ्ने गरिएको छ । समस्या यसमै छ । समस्या हाम्रो सोचमा छ।  

रोबोट मानव सोफियाको आर्टिफिसियल इन्टेलिजेन्स र उनले पाएको नागरिकता विषयले संसारभरि हल्लिखल्ली मच्चाइरहेको अवस्थामा शारीरिक या बौद्धिक अपांगता भएका हाम्रा रियल मानवहरूको हक–अधिकार साथै अन्य नागरिकसरह जीवनयापन गर्न पाउने सवालमा समाज, परिवार र सम्बन्धित निकाय अलि बढी संवेदनशील हुने बेला भएन त?

प्रकाशित: १७ चैत्र २०७४ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App