१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बाघ मार्नेको खोजी

हजारौँ बिगाहमा फैलिएको दरबारको विशाल क्षेत्रभित्र जंगल, तलाउ, पोखरी, ठूल्ठूला चउर, बगैँचा र अनेक जातका पशुपक्षी थिए। राजारानी, युवराज, युवराज्ञी र राजपरिवारका ‘बच्चा सरकारहरू’ बेलाबखत त्यहाँको चिडियाखाना घुम्ने गर्थे। आठ दशजना अंगरक्षक, शाही पाश्र्ववर्तीहरू, कर्मचारी, सुसारे र छातेहरू राजाका छेउछाउमा हुने नै भए।

राजाले कुनै जनावरका बारेमा प्रश्न गर्दा वन्यजन्तुविद्ले झैँ राजाका ‘सर्वज्ञ’ सचिवहरू त्यो प्राणीको मावली–ससुराली सबै बताइदिन्थे। मानौँ उनीहरूले नजाने केही पनि छैन। बाघका कतिवटा जुँगा हुन्छन् भनेर राजा ठट्टा गर्थे। एउटाले दुई हात जोडेर कुप्रो पर्दै बिन्ती ग-यो, “सरकार, बाघका जुँगा गन्ने क्षमता, शक्ति र साहस त राजामा मात्र हुन्छ भनेर सेवकको जिजुबुबाले मर्जी हुन्थ्यो।”

राजाले हाँसेर भने, “साँच्चै हो त, म पनि बाघका जुँगा गनेर देखाऊँ?” अरूले पनि सोचविचारै नगरी राजालाई सु-याए।

पहिलो घुट्कोमै विष हो भन्ने बुझेपछि सर्बत पिएझैँ तन्तनी पिइरहने हो र? 

चिडियाखानाका वृद्ध कर्मचारी डराइरहेका थिए। कुनै तयारीबेगर राजालाई बाघका जुँगा–गणना गर्न उराल्ने दरबारका ती मूर्ख सचिव र सल्लाहकारहरूसँग ऊ मनमनै रिसायो, मुर्मुरियो। राजाको हुकुम टार्ने कसले? यत्तिकैमा बाघको खोर खोलियो। बाहिर निस्कनासाथ बाघले राजालाई नै चिथोर्न थाल्यो। तीनचारजना सिपाहीबाहेक जर्नेल–कर्नेल सबै भागे। महिला, केटाकेटीको रुवावासी भयो। राजालाई भुँइमा पछारेर बाघले लुछ्न थाल्यो। उनी बाँच्लान् भन्ने आशा नै भएन। यत्तिकैमा एउटा सिपाहीले ड्याङ्ग ‘फायर’ ग-यो र बाघ ढाल्यो। राजा बाँचे।

राजवैद्यले ओखतिमुलो गरेपछि मात्र राजाको होस खुल्यो। उनले ‘मलाई बचाउने को हो’ भनेर सोधे। सुनका असर्फीहरू, घरखेत सबैथोक दिने विचार गरे राजाले। जर्नेलहरूले बाघ मार्नेलाई बर्खास्त गरेर राति नै घर पठाएछन्। रुँदैरुँदै सोझो सिपाहीले घर पुगेर श्रीमतीलाई सबै कहानी सुनाएछ। राजाले आफूहरूलाई नालायक भन्दै जागिर खोसिदेलान् भन्ने डरले जर्नेलहरूले सोझो सिपाहीलाई दण्ड दिएका रहेछन्।

गाउँकी सोझी, अनपढ र निष्कपट थिई सिपाहीकी स्वास्नी। हुन पनि हो, पढेका भन्दा नपढेका मानिस इमानदार र सरल हुन्छन्। ऊ रातभर निदाउन सकिन। सुँक्कसुँक्क रोइरही। सिपाही पनि निदाउन सकेन बिचरा।

बिहान आँखा मिच्दै तामाको गाग्री कम्मरमा बोकेर गैरीगाउँको धारातिर ओरालो लागि सिपाहीकी स्वास्नी। बाटोभरि एक्लै भुत्भुताउँदै गई। बेलाबेला ऊ मजेत्रोले अाँसु पुछ्थी । कुकर्म नगरे पनि दण्ड भोग्नुपर्दा मान्छेको मन अवश्य रुन्छ। त्यसैले ऊ पनि रोई । साह्रै चित्त दुख्यो उसको।

रसगोत्रको पुस्तक सार्वजनिक भएपछि भुटानले त्यहाँको दरबारबारे प्रकाशित कतिपय कुरा मिथ्या भएको भन्दै खण्डन ग-यो। तर नेपालबारे लेखिएका कुरामा यहाँको परराष्ट्र मन्त्रालय बोलेन। पद र पार्टीको चिन्तामा केन्द्रित राजनीतिक नेतृत्व र सत्तालाई रिझाएर जागिर खान पल्केका ‘परराष्ट्रविद्’ सबै मौन बसे।

पँधेरामा आठदशजना ‘छोरी–बुहारी’ पालैपालो पानी भर्दै थिए। सिपाहीकी स्वास्नी धुम्म बादल लागेको दिन जस्तो भएर हेर्दै थिई। यत्तिकैमा एउटी सुबेदार्नीले हिजो बेलुका दरबारमा भएको बाघ–काण्डको नालीबेली सुनाई। ‘मेरा बूढा कस्ता बहादुर हेर त, राजालाई झम्टिने बाघसँग एक घन्टा कुस्ती खेलेर ठहरै मारेछन्। लोग्ने भन्या त्यस्तो सुरो हुनुपर्छ बाबै ...।’ सुबेदार्नीले भनेको कुरा पत्याउँदै अरूले जिब्रो टोके। मुखामुख गरे । सुबेदारको तारिफ गरे।

सिपाहीकी स्वास्नीलाई औडाहा भयो। रिसले आगो भई ऊ। सरासर गएर सुबेदार्नीका जगल्टा लुछ्न थाली। उसलाई भुँइमा पाहा भ्यागुता झैँ पछारेर धमाधम लात्तीले भकुर्न थाली । त्यस्तालाई ‘लाटो रिस’ भन्छन् गाउँतिर।  सिपाहीकी स्वास्नीले पनि लाटो रिस देखाउँदै भनी –“लाज पचेकी नकच्चरी, बाघ मार्ने मेरो पोइ, जुँगामा ताउ लाउने तेरो पोइ ? थुक्क बजिनी ...।”

यो खबर तुरुन्त दरबारमा पुग्यो। उहिले उहिले पँधेरो, खेत, कुवा चौतारो र तलाउ नै ‘सञ्चारकेन्द्र’ हुन्थ्यो, अहिलेको टिभी, रेडियो र अनलाइन जस्तो। राजाले बाघ मार्ने सिपाही र उसकी पत्नीलाई तत्काल बोलाएर प्रशस्त इनाम दिए। सिपाहीलाई दण्ड दिने जर्नेलहरू जेल परे । बाघ मार्ने वीर भन्दै सिपाहीको पदोन्नति भयो।

नेपालमा राजतन्त्ररूपी बाघ आफैँले मारेको दाबी गर्नेहरू धेरै देखिएका छन्। वर्षाैंवर्षसम्म राजाबाट शपथग्रहण गरेर प्रधानमन्त्री भएका र ‘श्री ५ को सरकार’ अन्तर्गत विभिन्न ओहोदा धारणा गरेका हजारौँ अवसरवादीहरू आफू त जन्मिँदै गणतन्त्रको कन्दनी बाँधेर पैदा भएको गफ दिन्छन्। आफैँले गणतन्त्र ल्याउन ‘अप्रत्यक्ष’ मद्दत गरेको भन्दै किताब लेख्ने पनि छन्। लेख लेख्ने र रेडियो–टीभीमा आत्मश्लाघा प्रदर्शन गर्नेहरू त छिचिमिरासरह नै छन्। अहिले आएर बिस्तारै पर्दा खुल्दैछ, गणतन्त्रका स्वामी नेपाली होइन रहेछन्। ‘नाउँ तेरो गाउँ मेरो’ भनेझैँ संविधानका स्वामी पनि अरू नै रहेछन् । एमाले, कांग्रेस, माओवादी आदि त ‘देखिजान्ने–सुनिजान्ने किनाराका साक्षी’ मात्रै पो रहेछन्। त्यसैले होला, नेपाली कांग्रेसका नेता नरहरि आचार्यले पार्टीको केन्द्रीय समितिको बैठकमा न्याउलीझैँ विरह गाए, “गणतन्त्र आएपछि कांग्रेस झन् कमजोर भयो।” पत्रपत्रिकाले फूलबुट्टा भरेका होइनन् भने गणतन्त्रका प्रकाण्ड पण्डित भनेर परिचित आचार्यको गुनासो भावावेशजन्य विचार मात्र होइन। यथार्थ पनि त्यही हो। ‘राजा ढाँट्नु र गाई काट्नू पाप हो’ भन्ने संस्कार त्यागेर पश्चिमाहरूको मार्गचित्रमा हिँड्दा कांग्रेस अनकन्टार भीरमा पुग्यो। अग्रगमन र ‘आगे बढो’ भन्दै क्रिश्चियन फौज भनिने ‘माओवादीको एजेन्डा’अनुसार नै अघि बढेमा दोबाटोमा झुन्ड्याइएको मादलझैँ जसले बजाए पनि कांग्रेस ‘घिन्ताङ–घिन्ताङ’ गर्ला। त्यसपछि ‘कोमिन्ताङ’ बन्छ। बिस्तारै बिलाउँछ अहंकारको बादलभित्र।

सन् १९४९ मा परराष्ट्रसेवामा प्रवेश गरेका प्रथम पुस्ताका भारतीय कूटनीतिज्ञ महाराजकृष्ण रसगोत्रले नेपालको राजनीति नेपालमा बस्ने एउटै भारतीय दूतले हल्लाएको उल्लेख गरेका छन्। ‘अ लाइफ इन् डिप्लोमेसी’ पुस्तकमा उनले नेपालबारे लेखेका सबै कुरा असत्य छैनन्। आज दिल्लीको दिल अरू धड्किएको छ। ऊ भन्दा बलिया पात्रहरू काठमाडौँमा बसेर राजनीतिक दलहरूलाई ‘तोतामैना’ बनाइरहेका छन्।

रसगोत्रको पुस्तक सार्वजनिक भएपछि भुटानले त्यहाँको दरबारबारे प्रकाशित कतिपय कुरा मिथ्या भएको भन्दै सन् २०१६ को अगस्तमै खण्डन ग-यो। तर नेपालबारे लेखिएका कुरामा यहाँको परराष्ट्र मन्त्रालय बोलेन। पद र पार्टीको चिन्तामा केन्द्रित राजनीतिक नेतृत्व र सत्तालाई रिझाएर जागिर खान मात्र पल्केका परराष्ट्रविद् सबै मौन बसे। नेपाल राष्ट्रको अभिभावक त्यो बेला पनि कोही देखिएन।

झन्डै पचास वर्ष पहिले (सन् १९६४) भुटानका प्रधानमन्त्री रहेका जिग्मे दोर्जेको हत्यामा ‘चौथो राजा’ (फोर्थ किङ) की आमा आशी केसाङ वाङचुकको हात रहेको रसगोत्रले आरोप लगाएका छन् । रसगोत्र त्यसबेला नेपाल र भुटान हेर्ने राजदूत थिए। दरबारमा केही कचिंगल भएको हुनसक्छ। किनभने पञ्चायतकालमै ती वृद्ध हजुरआमा र भुटान दरबारका केही सदस्य झापाको दमकस्थित हिमालय टी गार्डेनस्थित आवासगृहमा केही महिना बसेका थिए। यस्तै, काठमाडौँ आएर बसेकी रानी (जिग्मे सिंघे वाङ्चुककी पत्नी) बाट हालका भुटानी राजा जिग्मे केशर काठमाडौँमै पैदा भएका थिए। (जुन कुरा अहिलेसम्म पनि गुप्त राखिएको छ) रसगोत्रका पुस्तकमा जिग्मे सिंघे वाङचुकका बुबा जिग्मे वाङ्चुक (तेस्रो राजा) को हत्या गर्न प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जेले षड्यन्त्र गरेकाले उनको हत्या गरिएको रसगोत्रको आशंका छ। 

दासो लेण्डुप र राजा महेन्द्रका भाइहरू हिमालयविक्रम शाह र वसुन्धराविक्रम शाह दुवै साथी भएको बताइन्छ। आशी केसाङ छोदेन वाङचुकले आफ्नो दाजु लेण्डुप (लेली) नेपाल गएर बसेको उल्लेख गरेकी छिन्। उनले रसगोत्रका नाममा प्रकाशित गरेको खुलापत्र सार्वजनिक भएपछि रसगोत्रले आफ्ना पुस्तकका कुनै कुरा झुटो नभएको दाबी पनि गरेका छन्।

कूटनीतिज्ञ मदनकुमार भट्टराईले ‘डिप्लोम्याटिक हिस्ट्री अफ नेपाल’ पुस्तकमा नेपाली कूटनीतिका आरोह–अवरोहको चर्चा गरेका छन्। सन् १९०१ मा चन्द्रशमशेर प्रधानमन्त्री भएपछि उनले २८ वर्ष एकछत्र शासन गरे। राममणि आचार्य दीक्षित र हेमराज पाण्डे (माहिला गुरुज्यू) उनका राजनीतिक सल्लाहकार थिए । सैनिक सल्लाहकार र प्रमुख अंगरक्षक थिए नरनारायण शाह। ब्रिटेनमा एडवर्ड (सातौँ) राजा भएका बेला चन्द्रले लन्डनको यात्रा गरे।
 
सन् १९११ मा ब्रिटेनका राजा जर्ज (पाँचौँ) दिल्ली भ्रमणमा पुगेका बेला चन्द्रशमेशर पनि ‘दिल्ली दरबार’ पुगे। भारतका ५६५ राजा–रजौटाको पंक्तिमा राख्दा श्री ३ चन्द्रले आपूm स्वतन्त्र देशको प्रतिनिधि (प्रधानमन्त्री) भएकाले भारतीय राजा–रजौटाको लाइनमा बस्न मानेनन्। तर २०४७ सालपछिका अधिकांश प्रधानमन्त्री त वास्तविक शपथग्रहण दिल्लीमै गरिन्छ भनेझैँ प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण दिल्लीबाटै सुरु गर्दा गर्व गर्न थाले।

दाजु देव शमशेरले स्थापना गरेको ‘गोरखापत्र’ सञ्चालन गर्न चन्द्र शमशेरले आफ्ना ज्वाइँ बझाङी राजा जयपृथ्वीबहादुर सिंहलाई हर्ताकर्ता बनाए। नेपालमा पत्रकारिता, भाषा र साहित्यको सबैभन्दा पुरानो ‘विश्वविद्यालय’ नै मानिन्छ गोरखापत्र। यो पंक्तिकार गोरखापत्रको प्रधानसम्पादक छँदा साहित्यकार कमल दीक्षितले कुराकानीका क्रममा भनेका थिए, “देवशमशेर, चन्द्र शमशेर, जयपृथ्वीबहादुर सिंह, पुष्कर शमशेर, बालकृष्ण सम, नरदेव पाण्डे, चिरञ्जीवी पौडल, प्रेमराज पौडल, बैजनाथ सेढाईं, रामराज पौडेल, वालमुकुन्ददेव पाण्डे आदि धेरै योग्य व्यक्तिको मायाले सिञ्चिएको गोरखापत्र नेपालको अर्को सगरमाथा हो।”

“विदेशीले हेप्न थाले” भनेर अहिले रुने नेताहरूले दशवर्ष अघि आफैँले विदेशीलाई धुरीमा चढाएका हुन्। आफ्नै ओछ्यानमा सुताएका हुन्। अफगानिस्तानका शासक महमद घोरीले राष्ट्रवादी शासक पृथ्वीराज चौहानलाई परास्त गरेझैँ वा जयचन्द, मीरजाफर, लेण्डुप दोर्जे, क्विजलिङ आदिलाई राष्ट्रघाती हुँदा आनन्द आएझैँ नेपालका ठूलासाना प्रायः सबै दलका नेताले पटकपटक राष्ट्रघात गरेकै हुन्। वर्तमान संविधानमा सयौँ अर्ब रुपियाँ (प्रत्यक्ष र परोक्ष रूपमा) विदेशीले लगानी गरेकै हुन्। लगानी गर्नेले प्रतिफल पनि खोज्छ। तसर्थ, आज आएर संविधानरूपी वृक्षमा विष फल्न थाल्यो भनेर रुनुभन्दा विषवृक्ष रोप्नै नदिएको भए के हुन्थ्यो?

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नेपाललाई कमजोर बनाउन चाहने भारतीय र इसाई राष्ट्रहरूको दीर्घकालीन योजना रहेछ भन्ने चाल पाएपछि बान्ता गर्न किन नसकेको? पहिलो घुट्कोमै विष हो भन्ने बुझेपछि सर्बत पिएझैँ तन्तनी पिइरहने हो र? तसर्थ, गणतन्त्रले नेपालको प्राणपखेरु उडाउने हो कि भन्ने शंका गर्नेहरू धेरै छन्। सिरियाका अर्बपतिदेखि दरिद्रसम्म लाखौँ जनता पोको बोकेर भागेझैँ गणतन्त्रले हामीलाई शरणार्थी बनाउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ। गणतन्त्र बचाउने हो कि राष्ट्र, यो बहस राजनीतिक क्षेत्रमा निरर्थक ठहरिएला तर बडामहाराजधिराज पृथ्वीनारायण शाहले राष्ट्रकै रक्षाका लागि स्थापना गरेको शक्तिले यसलाई कसरी बुझेको छ, त्यो समयले देखाउला।

विद्वान्हरू भन्छन्, “येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्म, ते मत्र्यलोके भूविभार भूता मनुष्यरूपेण मृगाश्चरन्ति।” (विद्या, तप, दान, ज्ञान, शील, गुण र धर्मरहित मानिस मनुष्यरूपमा पृथ्वीतलमा मृग (पशु) झैँ घुमिरहन्छ मात्र ।) नेपाली राजनीतिमा पनि यस्ता पात्रहरूकै बाहुल्य छ। कुनै क्षेत्रमा पनि काम लाग्न नसक्नेहरू राजनीतिमा ‘सफल’ ठहरिँदैछन्। त्यसैले कूटनीतिमा पनि त्यसको दुष्प्रभाव देखिनु अस्वाभाविक होइन।

नेपाललाई गणतन्त्रमय बनाउने भन्दै हिजो सिन्दुरजात्रा मनाउने पत्रकार, लेखक, अधिकारकर्मी, कर्मचारी, उद्योगी, व्यापारी, प्राध्यापक, मजदुर, शिक्षक, विद्यार्थीदेखि लिएर विभिन्न क्षेत्रका अधिक व्यक्ति राष्ट्र झन् कमजोर भयो भन्ने चिन्ता गर्न थालेका छन्। तर गाँडलाई नै विभूषण र अलंकार मानिरहेका छन्। राजा, राजनीतिक दल, जनता र सुरक्षा निकायले सहर्ष स्वीकार गरेको २०४७ सालको संविधान परित्याग गर्नुको दुष्परिणाम आज हामी भोगिरहेका छौँ। 

राष्ट्रवादको नारा व्यवहारमा देखिनुपर्छ। नेपालको राष्ट्रिय एकता खल्बल्याउन चाहने विदेशी तत्वलाई सरकारले जुन दिन नियन्त्रण गर्छ, त्यसपछि मात्र राष्ट्रवाद प्रबल र प्राञ्जल बन्छ। राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र सामाजिक सद्भाव बिथोल्ने आइएनजिओ÷एनअिजोलाई प्रतिबन्ध लगाउन नसक्ने लाचार छायाँ बन्दै आएका छन्, हालसम्मका गणतन्त्रवादी सरकार। तसर्थ विदेशी पैसामा बुर्कुसी मार्नेहरूको घेरामा बसेर सरकारले केही गर्न सक्ने अवस्था रहँदैन। 

नेपालको अस्तित्व मास्ने दुराशयबाट ल्याइएको गणतन्त्ररूपी एड्सका जीवाणु सजीव राख्न विदेशीहरूले हरेक महिना करोडौँ डलर दिइरहलान्। गणतन्त्र पनि केही वर्ष घिटिघिटी गरिरहला, तर जुन दिन नेपालको स्वतन्त्रता समाप्त हुन्छ, त्यसपछि हाम्रो भविष्य के होला!?

प्रकाशित: १६ चैत्र २०७४ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App