१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘भूकम्पपीडितको लालपुर्जा नहुँदा समस्या छ’

रामकृष्ण भट्टराई, वडाध्यक्ष
नार्गाजुन नपा– ९

जनप्रतिनिधिको हैसियतले के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आएसँगै नगरपरिषद्बाट नीति तथा कार्यक्रम र बजेट ल्यायौँ नगरपरिषदबाट पारित भएका योजना अहिले कार्यान्वयन चरणमा छन्। सम्पूर्ण टोल विकास समितिमा उपभोक्ता समिति गठन गरेर वडाले अघि सारेका योजनालाई कार्यान्वयन गरिरहेका छौँ । वडा कार्यालयले पञ्चकन्या मार्ग, अमरज्योति मार्ग, भुवनेश्वरीमार्ग लगायत स्थानमा सडक ढलान÷कालोपत्रे सम्पन्न गरिसकेको छ।

यज्ञेश्वरमार्गमा एक सय ३२ फिटको पर्खाल निर्माण गरिसक्यौँ । पञ्चकन्या मार्गमा रहेको गोरेटो बाटोलाई विस्तार गरेर १० फिटे सडक बनाएका छौँ । त्यस्तै, वडा कार्यालयले आफ्नो सेवा–प्रवाहलाई चुस्तदुरुस्त रूपमा सञ्चालनमा ल्याएका छ । जसबाट सेवाग्राहीले सहज र सरल ढंगले सेवा पाइरहेका छन् ।

जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
जनप्रतिनिधि भएर काम गर्न अप्ठेरो छैन । म यहाँकै स्थानीय पनि हुँ । त्यसैले वडाका सम्पूर्ण समस्याबारे म जानकार छु । वडामा विशेषगरी सडक, ढल, खानेपानीलगायत समस्या छन्  । लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्योे । जसकारण जनप्रतिनिधिसँग स्थानीयवासीको चाहना र आकांक्षा धेरै छन् । तर, हामीसँग अत्यन्तै सीमित स्रोत–साधन छन् । यो अप्ठेरोबीच पनि जनताका आवश्यकता र चाहनालाई मध्यनजर गर्दै योजना बनाएर कार्यान्वयनको चरणमा पुगेका छौँ ।

खानेपानीको समस्या कसरी समाधान गर्दै हुनुहुन्छ ?
वडाका आदर्शनगर, रिसालटोल, बिडारीगाउँ, यज्ञेश्वरमार्ग लगायत स्थानमा खानेपानीको समस्या छ । कतै पानी नै नआउने, कतै धमिलो पानी आउने समस्या पनि देखिएको छ। नगरपालिकाले वडा ९ र १० मा खानेपानीको आपूर्तिका लागि तीन लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिरहेको छ । उक्त योजनाका लागि ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । सम्भवतः अबको चार महिनाभित्रै निर्माण सम्पन्न गरेर वडावासीको घर–घरमा पानी पुर्‍याउनेछौँ । उक्त योजनाबाट करिब पाँच सय घरधुरी लाभान्वित हुने अपेक्षा गरेका छौँ । त्यसैगरी, वडा कार्यालयमा रहेका चारवटा डिप बोरिङलाई मर्मत–सम्भार गरेर सञ्चालनमा ल्याएका छौँ ।

वडाका लथालिंग सडकलाई कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ ?
मेरो वडा गाउँ र सहर मिश्रित छ । अधिकांश सडक ग्राभेल र कच्ची छन् । वर्षात्का वेला सडक हिलाम्मे र हिउँदका वेला धुलाम्मे हुने अवस्था देखिएको छ । आगामी जेठसम्म वडामा रहेका साना–ठूला गरेर करिब दुई किलोमिटर सडक कालोपत्रे गर्ने योजनासहित काम भइरहेको छ । त्यसैले वडा कार्यालयले पाँच वर्षभित्रै वडाका सम्पूर्ण सडक ढलान÷कालोपत्रे गर्ने योजनासहित काम गरिरहेका छौँ । वडा कार्यालयले सडकलाई मुख्य प्राथमिकतामा राखेको छ ।

विकास निर्माणमा जनताको सहभागिता कस्तो छ ?
वडा कार्यालयले विकास निर्माणको हरेक गतिविधिमा स्थानीय जनतालाई प्रत्यक्ष सहभागी गराउँदै आएको छ । जसले गर्दा विकास निर्माणमा जनताको उत्साहजनक सहभागिता भएको छ । उपभोक्ता आफैँ जागरुक भएर उपभोक्ता समितिमार्फत विकास निर्माणमा सरिक भएकाले नै काम गर्न सहज भएको छ।

भूकम्पपीडितले अझैसम्म राहत पाएका छैनन्, कहिले पाउँछन् ?
वडाका भूकम्पपीडितले लामो समयदेखि राहत रकम पाउन सकेका छैनन् । वडामा एक सय ८७ घर–परिवार भूकम्पपीडित छन् । तीमध्ये २० जनाले मात्रै दोस्रो किस्ताबापतको रकम पाएका छन् । तर, अन्यले पाउन सकेका छैनन् । अधिकांश भूकम्पपीडितको लालपुर्जा नहुँदा समस्या भइरहेको छ । वडा कार्यालयले भूकम्पपीडितको समस्याबारे बारम्बार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरिरहेको छ । हामीले प्रक्रिया सहज गराउन प्राधिकरणलाई अनुरोध गरिसक्यौँ ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । वडा कार्यालयले सडक, खानेपानी, ढल निर्माण, स्वास्थ्य, शिक्षालगायत योजनालाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर काम अगाडि बढाएको छ ।

कृषकका लागि कस्तो योजना अघि सार्नुभएको छ ?
हाम्रो वडाभित्र प्रशस्त कृषियोग्य  जमिन  छ । वडा कार्यालयले समय–समयमा किसानका लागि बीउविजनदेखि तालिमलगायत अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । वडामा आलु, धान, गहुँ, मकै, सागसब्जी, तरकारीलगायत कृषि उपज उत्पादन हुँदै आइरहेको छ । वडाका केही किसानले निर्वाहमुखीभन्दा पनि व्यवसायीमुखी खेती गर्दै आइरहेका छन् ।
कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
मेरो कार्यकालमा वडा कार्यालयलाई नमुना वडाको रूपमा स्थापित गर्ने लक्ष्य राखेर काम गरिरहेको छु । वडामा रहेका सम्पूर्ण कच्ची तथा ग्राभेल सडकलाई कालोपत्रे वा ढलान गरेर चिल्लो सडकका रूपमा परिणत गर्नेछु । प्रत्येक वडावासीको घर–घरमा पानीसहितको धारा ल्याएर खानीपानी सरल रूपमा वितरण गर्नेछु ।
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १६ चैत्र २०७४ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App