१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मेयरले खोसे ठेकेदारको चाबी

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्डविपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको चाँबी खोसेको छ। मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तेल सडक खण्डअन्तर्गत बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल खण्डको कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीको दुइटा जेसिभी र एउटा एक्साभेटरको चाँबी खाेिएको हो।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नवलपुर जाने सडक आसपासबाट मापदण्डविपरित ढुंगा गिटी उत्खनन् गरेकाले बिहीबार ठेकेदारको मेसिनको उपकरण खोसिएको मेयर इवन राईले बताए । एस्काभेटर र जेसिभीको चाँबी प्रहरी चौकी अर्खौलेमा बुझाइएको छ ।प्राकृतिक अवस्थिति तथा स्थानीय सामुदायिक वनलाई समेत असर पुग्नेगरी गिटी ढुंगा उत्खनन् गरेको पाइएकाले रोक लगाइएको नगरपालिकाले जनाएको छ।

यसअघि तीनपटक गरिएको आग्रहलाई बेवास्ता गर्दै ढुंगागिटी निकाली रहेकाले ठेकेदारको चाँबी खोस्नु परेको मेयर राईले बताए । ‘ठेकेदारको लापरबाहीको जवाफदेही हामीले बन्नुपर्छ । त्यही भएर सहकार्य र समन्वय नगरी एउटा गिटी पनि ननिकाल्नुस् भनेका थियौं,’ मेयर राईले भने, ‘हामी त्यहाँ बसुञ्जेल ढुंगा झिक्न छाड्ने र हिँडेपछि पुनः उत्खनन् जारी राख्ने गरेको पाइएकाले चाँबी नियन्त्रणमा लिनु परेको हो।’

नगरपालिकाको खानी तथा स्रोत परिचालन समितिले तयार पारेको मापदण्ड पूरा नगरी नगरभित्रका गिटी तथा ढुंगा उत्खनन् नगर्न चेतावनी दिएको छ । नगरपालिकाले किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुम क्षेत्रको ढुंगा नझिक्नसमेत ठेकेदारलाई सचेत गराएको छ।

मध्यपहाडीकै हलेसी–बिजुले खण्ड कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लुम्बिनी कन्काई सुर्य जेभीले सडक फराकिलो पार्ने नाममा तुवाचुङ–जायाजुमडाँडामुनिबाट प्राकृतिक स्रोत दोहन गरेको भन्दै नगरपालिकाले तुवाचुङ जायाजुमलाई असर नपुग्नेगरी सडक स्नरोन्नतिको काम गर्न भनेको हो।

प्रकाशित: १६ चैत्र २०७४ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App