२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानलाई बाली थन्क्याउने चिन्ता

बर्दिवास – चैतेबाली धमाधम काटिन थालेपछि महोत्तरको भंगाहा नगरपालिका–६ हतिसर्वा मदनपट्टीका किसान विष्णुनारायण राय थारु बाली थन्क्याउने चिन्ताले पिरोलिएका छन्।

गहुँ, रहर, चना, मसुरोसहितका चैतेबाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले थारुको पिरोलो बढेको हो। खासमा चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी अब बन्न छाडेपछि यस भेगका किसानलाई बाली सुरक्षित भण्डारण गर्नेबारे चिन्ता हुन थालेको छ।

अन्नपात सुरक्षित भण्डारणका लागि घरघरमा बनाइने गरिएका माटाका कोठी बनाइन छाडिएपछि खासगरी धान र अन्य चैतेबाली सुरक्षित भण्डारणमा समस्या भएको किसानको भनाइ छ। ‘प्रत्येक घर–घरमा माटाका कोठी (भकारी) मा बाली राखेपछि घुन लाग्दैनथ्यो’ बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ७५ वर्षीय बौएलाल यादवले भने,“अब पुराना कोठी फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ।”

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ। ‘माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर न पोखिने चिन्ता।”

भंगाहा–४ थारुटोल बनराकी ६५ वर्षीया रामसुनरदेवी थारुले भने,“अब त घरमै आफै खान राखिने खाद्यान्न घुनबाट बचाउन पनि जानाजान विषादी मिसाउनपर्ने भयो।” चामल, चना, रहर, गहुँ र मुसुरोजस्ता चाँडै घुन लाग्ने खाद्यान्न अब माटाका कोठी बन्न छाडेपछि विषादी मिसाएर राख्नु परेको उनी बताउँछन्।

माटाका कोठीमा खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वषौंसम्म जस्ताको त्यस्तै रहन्छ। मिथिला क्षेत्रमा खासगरी थारु समुदायमा माटाका कोठी बनाउने कुरा कौशलको रुपमा लिने गरिन्छ। माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनुका साथै यो बनाउने कुरा कौशल र थारु संस्कृतिसँग जोडिन्छ।

माटाका कोठी बन्न छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा ओझेलमा परेको छ। कोठी बन्न छाडेपछि भंगाहा, धर्मपुर, भीमगढ, बखरी, मेघरोल, मझौलिया, बनरा, गोरहन्ना, हरखपुर, विशरपुर, पर्सा, निगौल र रजखोरसहितका बस्तीका बासिन्दा खाद्यान्न थन्क्याउन प्लास्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन्।

धर्मपुर थारु बस्तीकी धनमती बछारले भने,“अबका छोरी, बुहारीले यसौ सिकांै भन्ने चासो नै देखाउँदैनन् , अबका केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?” माटोका कोठीमा राखिएका खाद्यान्न वर्षौवर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रने र स्वस्थ्यकर हुने भएकाले यो सीप प्रबद्र्धन गर्न यहाँका स्थानीय तहले चासो बढाउनुपर्ने औरही स्वास्थ्यचौकीमा कार्यरत अनमी कमला राईको धारणा छ।  (रासस)

प्रकाशित: १५ चैत्र २०७४ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App