१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेटिङको तस्करी नियन्त्रणमा स्थानीय उत्रिए

धनगढी – सीमानाकामा हुने गरेको तस्करी नियन्त्रणमा यहाँका स्थानीयले सक्रियता देखाएका छन् । तस्करी रोक्न सरोकारवालाले चासो नदेखाएको भन्दै धनगढी उपमहानगरपालिका– २ का स्थानीय यसको नियन्त्रणमा जुटेका हुन्।

उनीहरूले प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीलाई लगेर नाका क्षेत्रमा गस्ती थालेका छन् । गस्तीका क्रममा सोमबार राति अवैध रूपमा भित्र्याइएका ३० बोरा सामान प्रहरीको सहयोगमा बरामद् गरिएको स्थानीयले बताए ।स्थानीयका अनुसार यहाँका विभिन्न नाकाबाट ‘सेटिङ’मा प्रतिमहिना करोडौंको मालसामान अवैध रूपमा भित्रिने गरेको छ।

‘खुल्लमखुला तस्करी हुँदा पनि प्रहरीले ध्यान नदिएपछि प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीलाई लगेर तस्करीको सामान बरामद गर्न लगाएका हौं,’ धनगढी–२, पुरानो भन्सार टोल समिति अध्यक्ष मणिराज जोशीले भने, ‘तस्करी रोक्नुपर्ने निकाय मौन बसेपछि हामी सक्रिय भएका हौं ।’तस्करी नियन्त्रण गर्न प्रहरीले सहयोग नगरेको स्थानीयको गुनासो छ । तस्करीको मालसामान समातिए पनि प्रहरीले तस्करलाई कारबाही नगरेको उनीहरू बताउँछन्।

तस्करी नियन्त्रणमा खटिएका महिलालाई तस्करले आक्रमण गर्दा पनि प्रहरीले कारवाही नगरेको जोशीले बताए । ‘वडालाई तस्करीको केन्द्र बनाउन नदिन स्थानीय जुटेका हौं,’ स्थानीय धर्मराज ओझाले भने ।
तस्करीबारे जानकारी दिँदा पनि प्रहरीले मासिक रूपमा रकम असुलेर संरक्षण दिने गरेको स्थानीयको आरोप छ । उनीहरूले तस्करी नियन्त्रण गर्न र यसमा संलग्नलाई कारवाही हुनुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

धनगढी उपमहानगरपालिका १ का अध्यक्ष सन्तोष मुडभरी संस्थागत र ‘सेटिङ’मा खुल्लमखुला तस्करी भइरहेको बताउँछन् । केही दिनअघि भारतबाट अवैध रूपमा भित्रिएका १८ थान इन्भर्टरका ब्याट्री जफत गरेको उनले बताए।

‘खुल्लमखुला अवैध सामान आइरहेको छ । यसलाई रोक्न राज्यका निकायले चासो नदिएपछि जनता बाध्य भएर तस्करीका सामान समात्न थालेका हुन्,’ उनले भने । तस्करी बढेपछि चोरी समेत बढेको वडा नम्बर २ का स्थानीय बताउँछन्।

अध्यक्ष भुडभरीका अनुसार उपमहानगरका २, ३, ८, ९, १०, १२, १४, १८ र १९ का नाकाबाट अवैध रूपमा मालसामान भित्रिरहेको छ । तर, यसतर्फ सरोकारवालाले चासो नदेखाएको स्थानीयको दुखेसो छ ।
स्थानीयका अनुसार लुगाकपडा, हार्डवेयर सामग्री, मोटरपार्टस, सिमेन्ट, ब्याट्री, चिनीलगायत सामान यी नाकाबाट अवैध रूपमा भित्रिने गरेको छ । यहाँका नाकामा रातभर सामान बोक्ने गाडी चल्ने गरेको स्थानीय बताउँछन्।

कैलालीका बजारमा भारतीय सामान छ्यापछ्याप्ती छन् । स्थानीयका अनुसार धनगढीका अधिकांश पसलमा अवैध रूपमा भित्रिएका सामान छन् । उनीहरुले भारतीय र नेपाली एजेन्ट प्रयोग गरेर भारतबाट अवैधरूपमा सामान भिœयाउने गरेको स्थानीय बताउँछन्।

धनगढीको अंकित ट्रेडर्सबाहेक कुनै पनि व्यवसायीले भारतबाट लुगाकपडा ल्याएको भन्सारमा तथ्यांक छैन । धनगढीमा ग्वासी समैजी जनरल स्टोर, सिंह जनरल स्टोर, मिश्रा जनरल स्टोर, एबिआर जनरल स्टोर, रेखा फेन्सीलगायत होलसेल पसलले प्रदेश ७ का सबै बजारका व्यवसायीलाई ठूलो परिमाणमा लुगाकपडा बिक्री गर्ने गरेका छन् । यी पसलमा ठूलो परिमाणमा भारतीय सामान छन् । त्यस्तै ठूलो परिमाणमा हार्डवेयरका सामान बिक्री गर्ने पसलमा बालाजी ट्रेडर्स, हरिओम हार्डवेयर, पृती इन्जिनियरिङ हार्डवेयरलगायत पसल छन्।

यीनीहरुको पसलमा ठूलो परिमाणमा भारतीय सामान भेटिन्छन् । धेरै एजेन्ट भए पनि मुख्य रुपमा गौरिफन्टा नाकाबाट सामान भित्र्याउन काम गर्ने एजेन्ट गौरव गुप्ता (भारतिय), सन्तोष गुप्ता (भारतीय), सावना गुप्ता (भारतीय) जयनारायण, भीम खड्कालगायत एजेन्ट छन् भने खग्रौलामा धनसिंह साउँद रहेको सीमा प्रहरी चौकीमा कार्यरत एक प्रहरीले बताए।

कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे प्रहरीको पहुँच नभएको ठाउँबाट मात्रै अवैध सामान भित्रिएको दाबी गर्छन् । उनका अनुसार कैलालीमा भारतीय सीमा जोडिएको १ सय १ किलोमिटरमा २३ नाका छन् । तीमध्ये पाँचमा मात्रै प्रहरीको उपस्थिति छ।

तस्करी नियन्त्रणमा स्थानीयको सक्रियता सकारात्मक भएको उनको प्रतिक्रिया छ । सबै क्षेत्रका स्थानीयले चासो दिए तस्करी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।नाकामा खटिने प्रहरी कर्मचारी ‘पैसा असुल्ने’ गरेको स्थानीयको आरोप छ ।
तस्करीमा संलग्नलाई कारवाही गर : प्रजिअ
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सुरक्षा समितिको बैठक डाकेर तस्करमा संलग्न जो कोहीलाई कारवाही गर्न कडा निर्देशन दिएको बताएका छन् । ‘दुई सातामा नतिजा देखिने गरी तस्करी नियन्त्रण गर्न भनेको छु,’ उनले भने।

धनगढी वडा नम्बर २ का स्थानीयले तस्करीमा संलग्नलाई कारवाही हुनुपर्ने माग गरी ज्ञापनपत्र बुझाएको उनले बताए ।

 

प्रकाशित: १५ चैत्र २०७४ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App