१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आन्तरिक पाहुनालाई ‘नयाँ प्याकेज’

पोखरा – पोखरामा आन्तरिक पाहुनाको आगमन बढाउन पश्चिमाञ्चल होटल संघले चार प्रकारका नयाँ प्याकेज सार्वजनिक गरेको छ । नेपाली नयाँवर्ष मनाउन पोखरा आउने स्वदेशी पाहुनालाई लक्षित गर्दै प्याकेज ल्याएको संघले जनाएको छ।

पर्यटन व्यावसायीका अनुसार ‘ट्यारिफ’भन्दा झन्डै आधा सस्तो हुनेगरी यो प्याकेज ल्याइएको छ । संघका अध्यक्ष विकल तुलाचनका अनुसार घुमघाम, शैक्षिक भ्रमण र ‘हनिमुन’ का दुई गरी चारवटा नयाँ प्याकेज संघले सार्वजनिक गरेको हो । यो प्याकेज आन्तरिक पर्यटकका लागि मात्र हो।

‘नयाँवर्ष मनाउने आन्तरिक पाहुनाले पोखरालाई गन्तव्य बनाउन् भनेर प्याकेज ल्याएका हौ,’ उनले भने, ‘यो बेला घुम्न आउन सक्ने सम्भावित आन्तरिक पाहुना प्याकेजमा बस्न सक्छन् ।’ अध्यक्ष तुलाचनका अनुसार चैत अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म (करिब १५ दिन) संघमा आवद्ध होटलमा प्याकेज लागू हुनेछ । संघका अनुसार पर्यटकस्तरदेखि तारेसम्मका होटलको सुविधा प्याकेजमा समेटिएको छ । प्याकेजमा बस्ने पाहुनाले निकै नै सस्तोमा पोखरा घुम्न सक्छन्।

अध्यक्ष तुलाचनका अनुसार कम खर्च गर्न चाहने आन्तरिक पाहुनाका लागि ‘घुमघाम’ प्याकेज ल्याइएको छ । यो प्याकेजमा बस्ने पाहुनाले विमानस्थल वा बसपार्कदेखि होटलसम्म आउजाउको व्यवस्था, वेलकम ड्रिंक्स, दुईजनाका लागि डबल बेडसहितको कोठा पाउनेछन् । यही प्याकेजमा ब्रेकफास्ट, आधा दिन पोखरा आसपास दृश्यावलोकन, फेवातालमा एकघन्टा डुंगा सयर गर्न पाइने सुविधा छ।

‘घुमघाम’ प्याकेज २९ सय ९० रुपैयाँको हो । यसमा दुईजनाले सुविधा लिनसक्ने भएकाले सस्तो पर्छ,’ उनले भने, ‘पर्यटकस्तरीय होटलमा बस्न पाइने र दुईजनाका लागि मिल्ने भएकाले सस्तो पर्न जान्छ । ‘एक्लै आएर होटलमा बस्दा पनि यी सबै सुविधा लिँदा कम्तिमा तीन हजार रुपैयाँ खर्च हुन्छ, दुईजनाका लागि सस्तो प्याकेज हो,’ उनले भने, ‘अरु बेलाको तुलनामा यो प्याकेज आधा सस्तो पर्छ । अरुबेला बस्दा दुईजनाका लागि कम्तिमा ६ हजार रुपैयाँ खर्च हुन्छ ।’ मध्यमस्तरका आन्तरिक पाहुनाका लागि यो प्याकेज लक्षित छ।

त्यस्तै संघले शैक्षिक भ्रमणमा आउने विद्यार्थीका लागि शैक्षिक भ्रमण प्याकेज बनाएको छ । न्यूनतम ४० जना विद्यार्थी लिएर आउने शिक्षण संस्थाले यो प्याकेजमा विद्यार्थी राख्न सक्ने उनले बताए । उनका अनुसार प्याकेजमा बस्दा एक कोठामा तीनजना विद्यार्थी बस्नुपर्नेछ । ब्रेकफास्टसहित दुई रातको प्याकेज हो।

यसमा आधा दिन दृष्यावलोकन, एक घन्टा डुंगा सयर गर्न पाइन्छ । यसमा प्रतिव्यक्ति एक हजार सात सय ७० रुपैयाँ पर्छ । ‘यो प्याकेज विद्यार्थीका लागि मात्र हो,’ उनले भने, ‘दुई रातसम्म बस्न पाउने भएकाले निकै सस्तो पर्न जान्छ ।’ विद्यार्थी लिएर आउने कलेज वा स्कुलले यो प्याकेजमा बसेर पोखरा घुम्ने अवसर पाउने उनले बताए।

त्यसबाहेक हनिमुन मनाउन आउने जोडीका लागि संघले हनिमुन–१ र हनिमुन–२ प्याकेज ल्याएको छ । हनिमुनका दुवै प्याकेजमा विमानस्थल वा बसपार्कबाट होटलसम्म ल्याउने र लैजाने सुविधा हुनेछ । दुई रात बसाइँसहित ब्रेकफास्ट, डिनर (एक रात), आधा दिनको दृष्यावलोकन, एक घन्टा बोटिङ यसमा पाइने उनले बताए । ‘तीन हजार पाँच सय ५० रुपैयाँ पर्ने यो प्याकेज हनिमुन मनाउन पोखरा आउने जोडी सुहाउँदो छ,’ उनले भने, ‘पर्यटकस्तरीय होटलमा बस्न पाइने भएकाले यो निकै नै सस्तो पर्छ ।’हनिमुन–२ मा केही आकर्षक र साहसिक गतिविधि गर्न पाइने सुविधा प्याकेजमा छन।

हनिमुन–१ मा रहेका सबै सुविधासहित यसमा अल्ट्रालाइट वा प्याराग्लाइडिङ वा बञ्जिजम्प गर्न पाइने सुविधा थपिएको उनले बताए । हनिमुन–२ प्याकेजमा बस्दा नौ हजार नौ सय ९० रुपैयाँ पर्नेछ । ‘साहसिक गतिविधिमा रम्न पनि पाइने र पोखरा घुम्न सकिने भएकाले यो निकै नै उपयोगी हुने ठानेका छौं,’ उनले भने ।अध्यक्ष तुलाचनले प्याकेज बाहिरका सुविधा लिएर बस्न पनि पाइन्छ।

तर, यो छुटसहितको भएकाले कम्तिमा दुईजना आउँदा प्याकेज सस्तो पर्ने उनले बताए । ‘पोखराका पाँचतारे होटलमा समेत बस्दा बढीमा २१ हजार एक सय १० रुपैयाँमा यी सुविधा (हनिमुन–२) लिन सकिन्छ,’ उनले भने, ‘प्याकेजमा बस्दा संघले शिफारिस गरेको होटलमा मात्र बस्नुपर्नेछ।’

संस्थाको सदस्य होटलमा यो प्याकेज उपलब्ध हुन उनले बताए । ‘होटलको स्ट्यान्डर्डअनुसार मूल्य फरक पर्न सक्छ,’ उनले भने, ‘तरपनि सस्तोमा बस्न पाउँछन् ।’ व्यावसायीका अनुसार अहिले पोखराका होटलका करिब ५० प्रतिशत पाहुना आन्तरिक हुने गरेका छन् । आन्तरिक पाहुनाको आगमन बढाइराख्न प्याकेज आवश्यक परेको अध्यक्ष तुलाचनको भनाइ छ।

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीका अनुसार पोखरामा सस्तोदेखि महंगो होटल रहेको भन्ने सन्देश दिन यो प्याकेज ल्याएइको हो । ‘धेरैले पोखरालाई महंगो गन्तव्य ठान्छन् । तर, सस्तोमा पनि बस्न र घुम्न पाइन्छ भन्ने सन्देश दिन यो प्याकेज ल्याएका हौ,’ पराजुलीले भने, ‘पर्यटकस्तरीय होटलका कोठामा बस्ने हो । प्याकेज र खुला रुपमा बस्दा केही सुविधामात्र अन्तर पर्ने हो।’

पोखरा भन्नासाथ महंगो सहर भन्ने सन्देश चिर्न यस्तो प्याकेज ल्याएको उनले बताए । ‘प्याकेज बाहिर बस्दा करिब दोब्बर खर्च लाग्छ,’ उनले भने, ‘होटलमा बस्न आउने पाहुनाले प्याकेजमा वा बाहिर बस्छु भनेर बुकिङ गर्न सक्छ ।’ होटल संघमा आवद्धले मात्र प्याकेजमा पाहुना राख्ने उनले बताए । ‘सदस्य होटलले यो प्याकेज दिनुपर्नेछ,’ पराजुलीले भने।

विदेशी आउने सिजन सन्तोषजनक नभएपछि आन्तरिक पाहुना लक्षित गरेर संघले प्याकेज ल्याएको पराजुलीले बताए । उनका अनुसार यतिबेला विदेशीको सिजन हो । तर, पोखराका होटलको अकुपेन्सी बढीमा ५० प्रतिशत मात्र छ । ‘सिजन भएरपनि ५० प्रतिशत अकुपेन्सी कटेको छैन।

नत्र ८० प्रतिशत हाराहारीमा हुनुपर्ने हो,’ उनले भने, ‘अप्रिलका लागि पनि सन्तोषजनक छैन । यो सिजन सोचेजस्तो भएन । त्यही भएर आन्तरिक पाहुनाको प्याकेज सहयोगी बन्नेछ ।’ निर्वाचनको प्रभाव, जहाज दुर्घटनाको कारण पनि पर्यटक झस्केको हुनसक्ने उनले बताए । ‘विमानस्थलमा ट्राफिक होल्डले पनि नराम्रो सन्देश गएको छ,’ उनले भने, ‘पाहुना निर्धक्क भएर आउन सकेका छैनन्।’
 

प्रकाशित: १५ चैत्र २०७४ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App