१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन इच्छुक

काठमाडौं – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ। उर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्धिपक्षीय हितका बिषयमा छलफल भएको छ। मन्त्री पुनसँगको भेटमा चिनियं राजदूतले  नेपाल र चीनबीच भावनात्मक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्। 

राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चिनिया सरकार र निजी क्षेत्र इच्छुक रहेको भन्दै त्यसका लागि सरकारले पनि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिइन्। 

चिनिया राजदूतले मन्त्री पुनसँगको भेटमा हाल चिनिया कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी समेत दिइन्।  

उनले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनिया लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको समेत बताइन्। राजदूत होङले चिनिया कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राखेकी थिइन्। 

 उनले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै त्यसका लागी नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दिर्घकालिन रुपमा दुवै देशलाई फाइदा पुग्ने विश्वास समेत व्यक्त गरिन्। चिनिया सरकार नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग गर्न सधै तयार रहेको भन्दै उनले चीन र नेपालको राजनीतिक सम्बन्ध समेत निकै सुमधुर भएकाले उर्जामन्त्रालयसँग काम गर्न चिनिया सरकार इच्छुक रहेको बताएकी थिइन्। 

भेटमा मन्त्री पुनले चीन र नेपालको सम्बन्ध निकै मजबुत भएको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने उल्लेख गरे। उर्जामन्त्री पुनले चिनिया लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफूले समाधानका लागि पहल गर्ने बताए। मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागि पहल गर्न राजदूत होङलाई आग्रह गरेका थिए। 

‘नेपालमा चिनिया कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भिर छौ, त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन्।’ भेटमा मन्त्री पुनले भने। चिनिया कामदारको भिषा प्रक्रिया र लगानीकर्ताले भोगिरहेका समस्या समाधानको लागि उर्जामन्त्रालयले पहल थाल्ने मन्त्री पुनको भनाइ थियो। वान वेल्ट वान रोड परियोजनामा नेपालको सहभागिताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार भएको धारणा राखे। 

पुनले रसुवा–केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले बिजुली आयात र निर्यातमा दुवै देशलाई फाइदा पुग्ने धारणा व्यक्त गरे। नेपालमा चिनिया लगानीकर्तालाई लगानीको वातावरण निमार्ण गर्न सरकार तयार रहेको भन्दै मन्त्री पुनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने समेत जानकारी दिए। 

‘अहिलेसम्मको सहयोगको लागि चिन सरकारलाई म धन्यवाद दिन चाहन्छु, नेपालमा चिनिया लगानीकर्तालाई सहज वातावरण बनाउने जिम्मा हाम्रो भयो, तपाइहरूको तर्फबाट पनि थप लगानी होस्। ’ मन्त्री पुनले भने। 

उनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य भएको भन्दै त्यसका लागी ठूला आयोजना निर्माणमा सरकारको ध्यान जाने धारण राखे। राजदूतसंँको भेटमा मन्त्री पुनले ठूला आयोजना निर्माणको लागि चीनबाट ऋण सहयोग र सहायताको विषयमा समेत छलफल गरेका थिए।

प्रकाशित: १४ चैत्र २०७४ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App