१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जोखिममा किशोरी

पेट दुखाइको उपचारको लागि जिल्ला अस्पताल पुगकी १९ वर्षको उमेरमा १६ महिनाको बच्चाको आमा बनेकी एक किशोरी। तस्बिरः नागरिक

रोल्पा – रोल्पामा बाल विवाह भयाबह बन्दै गएको आकडा जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।

रोल्पा जिल्ला अस्पताल लगायत गाउँ गाउँमा रहेका सरकारी स्वास्थ्य चौकीमा गर्भवती जाच गराउन आउने किशोरीको संख्या ठूलो रहेको छ। जिल्ला अस्पतालका अनुसार कती त १५–१६ वर्षमै गर्भवती जाच गराउन आएका हुन्छन्। ‘हिजो मात्रै १७ वर्षकी एक जनाको नर्मल डेलिभरी भयो। यहाँ सानैमा बच्चा जन्माउनेको संख्या उदेक लाग्दो छ।’ जिल्ला अस्पतालका डा. अनिल केसीले भने। सानो उमेरमा विवाह गरेका कारण विद्यालय छोड्ने, अदालतमा सम्बन्ध बिच्छेद गर्नेहरूको तथ्याङ्क पनि बढिरहेको देखिन्छ।

जिल्ला अस्पतालमा पछिल्लो तीन महिनामा ३ सय ८ गर्भवतीले गर्भ जाच गराएकोमा ६८ जना २० वर्ष मुनिका किशोरीहरू रहेका छन। यो रोल्पामा धेरै वर्ष देखिको प्रतिनिधि तथ्याङ्क हो। ‘साना साना केटीहरू त आइरहन्छन। करिब करिब सबै जसो आफैले विवाह गरेका हुन्छन। काही त लाजले केही बोल्दैनन्। पुषमा १ सय ६ जना गर्भजाच गराउन आएकोमा २९ जना किशोरी थिए। माघ महिनामा १ सय १ जना आएकोमा २४ किशोरी थिए भने फाल्गुनमा १ सय १ मध्ये १५ किशोरी थिए।’ जिल्ला अस्पतालको गर्भजाच कक्षकी इन्चार्ज मिना कवरले बताइन।

उता जिल्लाको तथ्याङ्क हेर्ने हो भने पनि गाउँगाउँबाट आउने रिपोर्टले पनि किशोरीहरूको गर्भजाचको संख्या ठूलो देखाउछ। रोल्पा भरमा पुस र माघमा ५ सय ७ जनाले गर्भजाच गराएकोमा २ सय १० जना २० वर्ष मुनिका किशोरीहरू रहेका छन। ‘बाल विवाह त छदै छ। त्यसपछि पनि परिवार नियोजनको साधन प्रयोग नगर्दा समस्या बढिरहेको छ। रोल्पामा बाल विवाह समाजले सहज स्विकार गरिरहेका कारण पनि यसो भइरहेको देखिन्छ। जिल्ला भरी नै बाल विवाह रोग जस्तै बनेको छ।’ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले भने।

जिल्ला अस्पतालमा हुने जटिल अवस्थाको प्रशुती अपे्रशन सेवा लिनेहरू पनि किशोरीहरू नै बढि हुने गर्दछन। फाल्गुनमा ५ जना जटिल सुत्केरीको अप्रेशन गरेकोमा २ जना २० वर्ष मुनिका किशोरीहरू थिए। ‘हाम्रोमा अप्रेशन गर्नु पर्ने केश प्राय बाल विवाहका परिणामका हुन्छन। धेरै जसो गर्भपतनका केस पनि किशोरीहरूको नै हुन्छ। आमा बच्चाको स्वास्थ्य ख्याल राख्ने हो भने जिल्लामा बाल विवाह रोक्नु पर्छ।’ डा. अनिल केसीले भने। रोल्पामा ईच्छा विपरितको गर्भ पतनका लागि पनि धेरै किशोरीहरू अस्पताल भन्दा पनि निजी मेडिकलमा गएर औषधि खाने गर्दछन। लाज र डरका कारण निशुल्क पाईने औषधि महंङ्गो शुल्क तिरेर प्रयोग गर्नेको संख्या पनि ठूलो छ।

अहिले अहिले पहिलो बच्चा जन्माउने केही किशोरीहरूले परिवार नियोजनको साधन अपनाउन थालेको भए पनि यसको प्रयोग कर्ता दर पनि कम छ। ‘केही किशोरीहरू मात्र जन्मान्तरका लागि परिवार नियोजनको साधन अपनाउन थालेका छन। प्रायले डिपो र ईम्प्लान्ट रोज्छन।’ गर्भजाच कक्षकी ईन्चार्ज कवरले भनिन। रोल्पाका स्वास्थ्य संस्थामा गर्भजाचका आउने १५ बर्ष देखि माथि उमेर समुहका किशोरीहरूको संख्या बढ्दो छ भने सानो उमेरमै विवाहपछिका नकारात्मक प्रभावले आमा बच्चामा पर्ने जटिलता पनि उत्तिकै छ।

‘सानोमा विवाह गरे मात्र हुन्थ्यो। १६–१७ वर्षको उमेरमा फष्ट डेलिभरी गराउन आउछन। धेरै डेलिभरी त घरमा पनि हुन्छन। बच्चा जन्मेको केही समय पछि पेट दुख्ने समस्याले अस्पताल आउने साना साना केटीहरूको संख्या ठूलो छ।’ एक किशोरीको भिडियो एक्सरे गर्दै गरेका डा. अनिल केसीले भने। ‘युएसजि ग¥यो पाठेघरमा समस्या देखिन्छ। कोही रगत बग्ने समस्याले ग्रसित हुन्छन। रोल्पामा पाठेघर खस्ने समस्या पनि उत्तिकै छ। यी धेरै जसो समस्या बाल विवाहका कारण हुन।’

कानुनले अपराध स्वीकार गरेको बाल विवाह जिल्लामा भयाबह बन्दै छ तर यसको नियन्त्रणमा सरोकारवाला कसैको ध्यान गएको देखिदैन। सानोमा विवाह अनि बच्चा जन्माउने क्रम नरोकिदा स्वस्थ बच्चा नजन्मनु, आमा बच्चाको स्वास्थ्यमा निरन्तर समस्या आउनु जस्ता समस्याले रोल्पालीलाई असहज बनाइरहेको छ।

प्रकाशित: १४ चैत्र २०७४ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App