१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भोजभतेरमै सीमित मुख्यमन्त्री र मन्त्री

महेन्द्रनगर – प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलाई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ। मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन्। 

यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय खाना पनि कार्यक्रममै हुने गरेको देखिएको छ। केही महिना पहिलेसम्म प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, नगरपालिकाका अधिकृत प्रमुख अतिथि हुने गर्थे भने अहिले सहजै ती कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त मन्त्री देखिन थालिएका छन्। अहिले खासै मन्त्रीले गर्नुपर्ने कार्य नभएको हुँदा दिनभरि कार्यक्रममा गएर समय बिताउने गरेको बताइन्छ। 

प्रदेशको लागि जिम्मेवारी तोकिएका सबै कर्मचारी नआउँदा कर्मचारी अभावमा सरकारले दैनिक प्रशासनिक काम सोचेअनुसार अघि बढाउन नसकेको अधिकारी बताउँछन्। संघीय सरकारले प्रदेश नं २ मा २२४ कर्मचारी खटाएकामा ११७ जना कर्मचारी मात्र हाजिर भएको मुख्यसचिव राजेश्वरमान सिंहले बताए। 

प्रदेश नं २ मा फागुन ३ गते सरकार गठन भएको थियो। मुख्यमन्त्रीसहित यहाँको मन्त्रिपरिषद् १० सदस्यीय छ। छ मन्त्री र तीन राज्यमन्त्रीले पदभार सम्हाली सकेका छन्। प्रदेश प्रमुखको कार्यालयमा खटिएका १८ कर्मचारीमध्ये १६ जना हाजिर भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका २१ कर्मचारीमध्ये १२ जना मात्रै आइपुगेका छन्। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका २३ मध्ये १२ जना मात्र कर्मचारी हाजिर भएका छन्। भौतिक पूर्वाधार मन्त्रालयमा २० कर्मचारीमध्ये १४, आर्थिक मामिला तथा कानून मन्त्रालयमा १८ मध्ये १० जना र उद्योग, पर्यटन तथा वन मन्त्रालयमा २० मध्ये १४ जना मात्रै हाजिर भएका छन्। केन्द्रले प्रादेशिक सरकारको दैनिक काम अगाडि बढाउन एकैसाथ सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी खटाएका थिए। 

कृषि तथा सहकारी मन्त्रालयमा खटाइएका ३३ कर्मचारीमध्ये १८ जना मात्र आइपुगेका छन्। मन्त्रालयअन्तर्गतका पशुपक्षी र सहकारी महाशाखा महानिर्देशकविहीन छ। बाँकी दुई महाशाखा सामान्य योजना र कृषिमा भने महानिर्देशक आइसकेका छन्। 

प्रादेशिक सरकारको प्रशासनिक भवन जनकपुर चुरोट कारखानाको आवास क्षेत्रमा राखिएको छ । मन्त्रालय र उच्च पदाधिकारीको आवास तथा कर्मचारीको बसोबासका लागि कारखानाको परिसरकै भवन मर्मतसम्भार र रंगरोगन गरिएको छ। 

बाहिर रहेको भौतिक योजना र कृषि मन्त्रालय पनि त्यहीँ सार्ने तयारी भइरहेको छ। मन्त्रालय र प्रशासनिक भवन एकै परिसरमा हुँदा कर्मचारीलाई काम गर्न सहज नै हुने देखिन्छ। 

मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी नआउँदा प्रशासनिक काम अघि बढाउन समस्या परेको भन्दै प्रधानमन्त्री ओलीलाई पत्र नै लेखेर गुनासो समेत गरेका थिए। तर त्यसपछि मुख्यमन्त्री पनि आफूलाई सभा, समारोह, गोष्ठी र भोजभतेरमा सीमित गरेको देखिएको छ। 

प्रदेश सरकारले विकास निर्माणको कार्य कहिले थालनी गर्ने हो त्यसको प्रतीक्षा प्रदेशका आम जनता पर्खेर बसेका छन्। (अजयकुमार साह/रासस)

प्रकाशित: १४ चैत्र २०७४ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App