१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विवादले पुनर्निर्माणमा ढिलाइ

काठमाडौं- गत वर्षको विनाशकारी भूकम्पमा भत्केको ऐतिहासिक र पुरातात्विक सम्पदा काष्ठमण्डप पुनर्निर्माणमा काठमाडौ महानगरपालिका र पुरातत्व विभागबीच विवादका कारण ढिलाइ भइरहेको छ। महानगरपालिका र पुरातत्व विभागबीच काष्ठमण्डप पुनर्निर्माणबारे आरोप प्रत्यारोपको जुहारी चलिरहेको छ। विभागले को नक्सा र डिजाइन स्वीकृत गरेर पठाए पनि महानगरपालिकाले समयमै ठेक्का नदिँदा नगर्दा पुनर्निर्माणमा ढिलाइ भएको आरोप लगाएको छ।

'विभागले को नक्सा र डिजाइन स्वीकृत गरेर पठाइसके पनि महानगरले समयमै टेन्डर नगरी पुनर्निर्माणमा ढिलाइ गरेको छ,' पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए। दाहालका अनुसार दुई महिना अघि नै को ड्रइङ र डिजाइन बनाएर महानगरपालिकालाई बुझाइ सक्दा पनि अझै पुनर्निर्माण सुरु भएको छैन।

महानगरपालिकाले भने विभागबाट प्राप्त नक्सा नमिलेका कारण ढिला भएको दाबी गरेकेा छ। 'नक्सा र डिजाइन पठाएको सातादिन मात्रै भयो,' महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'त्यसमा पनि फल्ट रहेछ। हामीले फेरि संसोधनका लागि फिर्ता पठाएका छौं।'

महानगरपालिकाको सम्पदा विभाग प्रमुख उदयबहादुर श्रेष्ठले विभागबाट दुई महिनाअघि पठाएको ड्रइङ र डिजाइन गलत भएकाले ढिलाइ भएको दाबी गरे। 'एक साताअघि मात्रै विभागले संशोधन गरेर पठाएको छ,' उनले भने।

दाहालले भने महानगरले ढाँटेको भन्दै नक्सा र डिजाइनमा आवश्यक संशोधन गरी अन्तिम स्वरुप दिएर दुई महिनाअघि नै पठाइसकेको दाबी गरे। विभागले सम्पदा पुनर्निर्माण गर्न स्थानीयबाट आएको दबाबलाई ध्यानमा राखेर समयमै काम सके पनि महानगरले काम नथालेको आरोप लगाएको छ। विभागले संासद नविन्द्रराज जोशीको संयोजकत्वमा समिति बनाएर छलफलसहित ड्रइङ र डिजाइनलाई अन्तिम रुप दिएको थियो।

मापदण्ड अनुरुप पुरातात्विक सामाग्री प्रयोग गरी पुरानै शैलीमा काष्ठमण्डप पुनर्निर्माण गर्ने जिम्मेवारी महानगरपालिकाले लिएको थियो।

दाहालका अनुसार काष्ठमण्डपको जग उत्खनन् बेलायतको डर्हम विश्वविद्यालय, पुरातत्व विभाग र युनेस्कोले संयुक्त रुपमा गरेका थिए। त्यसै अनुसार स्ट्रक्चरल इन्जिनियर, आर्किटेक्चर, आर्कियोलोजिस्टसहितको समिति बनाएर पटक–पटक छलफल गरी नक्सा तयार पारिएको थियो।

विभागका अनुसार महानगरपालिकाले आफूसँग बजेटसमेत भएको भन्दै काष्ठमण्डप पुनर्निर्माण गर्न विभागसँग अनुमति मागेको थियो। विभागले सोही आधारमा माजुदेवल र काष्ठमण्डप दुवै पुनर्निर्माण गर्न महानगरपालिकालाई नक्सा दिएको थियो।

दाहालेले भदौभित्र टेन्डर गरी पुनर्निर्माण अघि नबढाए महानगरपालिकालाई दिएको अनुमति रद्द गरी विभागले नै पुनर्निर्माण गर्ने चेतावनी दिए। 'मैले महानगरको सम्पदा प्रमुखसँग कुरासमेत गरेको थिएँ, उहाँहरूको नियम नै अप्ठेरो रहेछ,' दाहालले भने।

महानगर ऐन अनुसार विज्ञ टोलीबाट पुनर्निर्माण गराउँदा उनीहरूको पारिश्रमिक  महानगर बोर्डले पारित गर्नुपर्ने प्रावधान छ। महानगरका कार्यकारी प्रमुख विदेशमा भएकाले दुई सातापछि पारित गराइ टेन्डर निकाल्ने वाचा गरेको दाहालले बताए।

एउटै रुखको काठबाट निर्मित काष्ठमण्डप अब एउटै रुखको काठबाट मात्रै पुनर्निर्माण गर्न असम्भव भएकाले मन्दिरका पुरानै काठ उपयोग गर्ने स्थानीय बासिन्दाको चाहना रहेकाले त्यसै अनुसार पुनर्निर्माण गर्ने योजना छ। विभागका अनुसार अब बन्ने काष्ठमण्डप आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्नसक्ने हुनेछ।

यसको डिजाइन इन्जिनियर प्राडा प्रेमनाथ मास्के, आर्किटेक्चर इन्जिनियर सुदर्शनराज तिवारी र पुरातत्वविद्सहितको समितिले तयार पारेको थियो। काष्ठमण्डप पुनर्निर्माण गर्न 'जस्ताको त्यस्तै र बलियो प्रसस्तै' नारासमेत तयार पारिएको छ।

इतिहास अनुसार काष्ठमण्डपमा बसेर कथा भन्ने, भरिया सुस्ताउने, विदेशी सुस्ताउने भएकाले पुनर्निर्माणमा यसमा समेत ध्यान दिइनेछ। विश्वसम्पदा सूचीमा रहेको र पुरातात्विक महत्वको भएकाले काष्ठमण्डपको स्वरुप र शैलीमा एक इन्च तलमाथि हुन नदिने विभाग दाबी गर्छ।

श्रेष्ठले पुनर्निर्माणको औपचारिक प्रक्रिया पूरा गरेर बोर्ड बैठकमा कागजपत्र पेस गर्नेलगायत लागत अनुमानसमेत पारित भइसकेकाले यसै सातामा टेन्डर निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने बताए।

प्रकाशित: ७ भाद्र २०७३ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App