१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

संघ र प्रदेश सरकारले लगानीको वातावरण बनाउने विश्वास

नेपालगन्ज– नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक समृद्धिको प्रमुख एजेण्डालाई सरकारले पुरा गर्नुपर्ने बताएको छ। आर्थिक समृद्धिको एजेण्डालाई कार्यान्वयन गराउन महासंघले सरकारको ध्यानाकर्षण गराइसकेको पदाधिकारीको भनाई छ। सबै प्रदेशभित्र रहेका प्राकृतिक स्रोत साधनमा आधारित रहेर सञ्चालन गर्न सकिने उद्योग, व्यवसाय स्थापनाका लागि स्वदेशी एवम् विदेशी लगानीकर्तालाई महासंघले आग्रह गरेको छ। 

महासंघले थालेको प्रादेशिक आर्थिक समृद्धि अभियानको सन्दर्भमा मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष भवानी राणाले संघ र प्रदेश सरकार अब लगानीको वातावरण बनाउन केन्द्रीत हुने बिश्वास गरिन्। महासंघ स्वयंले पनि लगानी आकर्षणका लागि अब निरन्तर पहल गर्ने बिश्वास दिलाईन्। ‘हाम्रा सबै प्रदेश प्राकृतिक स्रोत, साधनको हिसाबले उत्तिकै सम्पन्न छन् तर हामीमा कमी छ त केवल सोचको, योजनाको, कार्यान्वयन क्षमताको,’ उनले भनिन् ‘हामी प्रतिबद्धता साथ लाग्न सक्यौं भने हामीले आगामी पाँच वर्षमा मुलुकको मुहार फेर्न सक्छौं,’ अध्यक्ष राणाले भनिन्। 

 ‘प्रदेश लगायत समग्र मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउने एजेण्डा बनाएको सरकारबाट महासंघले यसपटक धेरै ठूलो अपेक्षा गरेको पदाधिकारीले बताएका छन्। यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर महासंघले ध्यानाकर्षण गराइसकेको छ। ‘प्रधानमन्त्री र अर्थमन्त्री सकारात्मक हुनुहुन्छ, आर्थिक समृद्धिका लागि सुरुमा लगानीको वातावरण सरकारले बनाउनुपर्छ भनेर हामीले भनेका छौं,’ राणाले भनिन्।

मुलुकको संक्रमणकाल अन्त्य भइसकेकाले आर्थिक विकास र समृद्धिका लागि उपयुक्त समय आएको उनले जोड दिइन्। यसको लागि सरकार, राजनीतिक दल लगायत सबै पक्ष दृढ ईच्छाशक्तिका साथ अगाडी बढ्नुपर्ने महासंघको निष्कर्ष छ। महासंघले अब प्रत्येक प्रदेशको समृद्धि चाहेको अध्यक्ष राणाले बताईन्। ‘भर्खरै प्रदेश सरकारले पनि पुर्णता पाइरहेको स्थिती छ, प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेश सरकारले नै ठुलो भुमिका निभाउनुपर्छ,’ उनले भनिन् ‘यसको लागि सरकारले प्रदेशमा लगानीको वातावरण बनाउनुपर्छ।’

प्रकाशित: १३ चैत्र २०७४ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App