१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘साउदीमा नयाँ कामदार नपठाऊ'

साउदी अरब- वैदेशिक रोजगारक्रममा साउदी अरब आएर दुःख पाएकाको उद्धारका लागि विशेष कार्यदल बनाउन प्रवासी नेपालीले सरकारसँग माग गरेका छन्। उनीहरूले समस्या समाधान नभएसम्म नयाँ कामदार नपठाउन पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले साउदी अरबलगायत मुलुकमा रहेका पीडित नेपालीको उद्धार गर्न निर्देशन दिएको दुई साता भइसक्दा पनि प्रभावकारी काम नभएपछि नेपाली साझा मञ्चमार्फत उनीहरूले विशेष कार्यदल गठनलगायत ७ बुँदे माग राखेका हुन्।

साउदीमा कार्यरत ६ लाख नेपालीको अवस्थाबारे जानकारी लिन र पीडितको उद्धार गर्न कार्यवाहक राजदूतसहित दूतावासका १५ जना कर्मचारीले सम्भव नहुने भन्दै विशेष कार्यदल गठन गरिनुपर्ने माग उनीहरुको छ। परराष्ट्र, श्रम तथा रोजगारमन्त्री, नेपाली राजदूतावास, प्रवासी नेपालीलगायत सम्मिलित कार्यदल बनाउन उनीहरूले सुझाएका छन्।

फ्याक्स र इमेलमार्फत सोमबार उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालय र नेपाली राजदूतावास रियादमा ज्ञापनमार्फत उक्त माग राखेका हुन्। उनीहरूले साउदीका मुख्य सहरमा उद्धार शिविर राख्न पनि माग गरेका छन्। कम्पनी बन्द भएका र तलब नदिएका कारण कम्पनी छाडेका नेपाली कामदारलाई खान–बस्नका लागि तत्काल शिविर स्थापना गर्न जरुरी भएको उल्लेख छ।

साउदी अरबको श्रम कानुनअनुसार कम्पनी छाडेका कामदारलाई अरु कसैले आश्रय दिए १ लाख रियाल र ६ महिना जेल सजाय हुने प्रावधान छ। यसका कारण साथीभाइ तथा आफन्तले पनि पीडित कामदारलाई आश्रय दिन नसकेको उनीहरूले जानकारी गराएका छन्।

प्रधानमन्त्रीलाई पठाइएको मागमा सवारी दुर्घटनाक्रममा जेल परेका नेपालीको तत्काल उद्धार गर्न, विभिन्न कारणले ज्यान गुमाएका नेपालीको लास अन्त्येष्टिको व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन्।

कार्यवाहक राजदूत आनन्द शर्माका अनुसार साउदी सरकारले घर फर्कन चाहनेलाई निःशुल्क अनुमति प्रदान गर्ने, खाना समस्या भएकालाई खान दिने भनेको छ तर बाँकी बक्यौता तलब पाउन भने लेबर कोर्टको फैसलाअनुसार गरिने भनेको छ।

प्रकाशित: ७ भाद्र २०७३ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App