१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘भुरभुरा रहर’ मा थारु युवतीको पीडा

फिल्मबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलन । तस्बिर : नागरिक

नेपालगन्ज – आदिवासी जनजाति थारु समुदायको संस्कृतिलाई समेटेर निर्माण गर्न लागिएको फिल्म ‘भुरभुरा रहर’को टोली छायांकनका लागि पश्चिम क्षेत्रमा आइपुगेको छ । फिल्मको छायांकन सोमबारबाट पाँच नम्बर प्रदेशको बर्दियास्थित ठाकुरबाबा नगरपालिकाको पत्थरबोझी गाउँमा हुदैछ। 

फिल्म पश्चिम नेपालका थारु समुदायले दशैंमा नाच्ने सखिया नाचसँग सम्बन्धित छ । फिल्मका निर्माता रामलाल चौधरीले सखिया नाच्नका लागि चाहिने सामान (भुरभुरा) नहुँदा गरिब परिवारकी किशोरीलाई हुने मानसिक पीडालाई फिल्ममा प्रस्तुत गरिने बताए । ‘यो फिल्म थारु समुदायको परम्परा र भेषभुषा जोगाउने उद्देश्यले निर्माण गर्न लागेका हौं,’ उनले भने । थारु समुदायमा ‘भुरभुरा’ भन्नाले युवतीको ‘रुमानी सपना’लाई बुझिन्छ । जुन रंगीविरंगी रिवन हो।

फिल्मका लेखक सुशिल चौधरीले थारु गाउँ, परिवार र संस्कृतिसँग सम्बन्धित कथामा आधारित रहेर एक थारु किशोरीको पीडालाई फिल्ममा देखाइने बताए । ‘आर्थिक अवस्था निकै कमजोर भएको परिवारलाई गाउँमा हुने नृत्यमा सहभागी हुनु कल्पनाको कुरा हुन्छ । भुरभुरा रहर त्यसैको सेरोफेरोमा घुम्छ,’ लेखक चौधरीले आइतबार पत्रकारमाझ भने। उनका अनुसार फिल्मले गाउँमा हुर्किएका एउटै उमेरका युवतीको मनोविज्ञानलाई देखाउनेछ।

निर्देशक मदन चौधरीले थारु समुदायको फिल्मलाई उद्योगको रुपमा विकास गर्न ‘भुरभुरा रहर’ ल्याउन लागिएको बताए । ‘थारु भाषाको फिल्म न्यून रुपमा बन्छन् । किनकि यि फिल्ममा लगानी कम छ। अहिलेसम्म बनेका फिल्मको पनि गुणस्तर छैन,’ मदनले भने ‘हामीले गुणस्तरीय फिल्म बनाएर उद्योगकै रुपमा विकास गर्न ‘भुरभुरा रहर’ ल्याउन लागेका हौं।’ 

फिल्मको छायांकनमा ड्रोन क्यामेरासहित उच्च खालको प्रविधि प्रयोग गरिने उनले बताए। करिब एक महिनाको समय तालिका लिएर फ्लोरमा जान लागेको फिल्म ९० प्रतिशत बर्दिया र १० प्रतिशत बाँकेमा खिचिनेछ । फिल्मका क्रियटिभ निर्देशक प्रणव आकाशले फिल्मले नारी मनोविज्ञानलाई प्रस्तुत गर्नेे बताए। 

फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, लक्ष्मीमान चौधरी, सिवानी चौधरी, छबिलाल कोपिला, निरज चौधरी, भुमिका थारु, सुनिता चौधरी, शान्ति चौधरी, सुदीप चौधरी, तिजाराम चौधरी, लहिया चौधरी, रामलाल चौधरी, जानकी चौधरी, चेत थारु, सितापति थारु, धनिराम थारु, प्रधान थारु लगायतको अभिनय हुनेछ।

नेपाल पत्रकार महासंघ बाँकीका अध्यक्ष ठाकुरसिंह थारु र थारु पत्रकार संघ बाँकेका अध्यक्ष विमला चौधरीले फिल्मले थारु समुदायमा हराउँदै गएको सखिया नाचको संरक्षणसँगै संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । फिल्म ४० लाखको बजेटमा बन्ने निर्माण पक्षले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७४ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App