१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मौरी बाजे तालिम दिन व्यस्त

नुवाकोट – जसको घरमा मौरी बस्छ उसको घर लक्षिनको हो भन्ने धार्मिक विस्वास रहेको छ । कुनै एक ठाउँ छाडेर अर्को ठाउँ जादै गरेको मौरीको हुल देखियो भने कहाँ बस्छ भन्ने चासो अझै पनि धेरैले राख्छन्।

कसैले धार्मिक प्रयोजनका लागि मौरीपालन गर्दै आएपनि पछिल्लो समय यसले व्यावसायिक रुप लिँदै आएको छ । मौरीपालनसम्बन्धी तालिम पनि ठाउँठाउँमा सञ्चालन हुँदै आइरहेको छ । यस व्यवसायमा किसानको मोह पनि उत्तिकै बढेको छ।

मौरी बाजेको नामले परिचित नुवाकोट सामरीका ध्रुवप्रसाद सापकोटा अहिले नुवाकोटसहित छिमेकी जिल्लाका विभिन्न क्षेत्रमा पुगेर मौरीपालनसम्बन्धी तालिम दिन व्यस्त छन् । २०६६ देखि निरन्तर रुपमा मौरीपालन व्यवसायमा संलग्न सापकोटा थोरै लगानीमा धेरै आम्दानी लिन सकिने व्यवसायको रुपमा यसलाई लिन्छन् ।

साथै उनले अन्य किसानलाई पनि यो व्यवसायमा लाग्न प्रेरणा दिइरहेका छन् ।परम्परागत रुपमा रहेको एक घार मौरी र तालिम लिएपछि प्राप्त भएको एक घार गरी दुई घारबाट मौरी व्यसायमा लागेका सापकोटा घारको घार मौरी बेचिरहेका छन् । ‘धेरै मौरीको घार बनाएर आफू मात्र राख्दिन । मबाट २० वटा घार कहिल्यै टुट्दैन,’ उनले भने, ‘अहिले चाहीं २७ घार छन् । केही दिन अघिमात्र ४० घार मौरी बेचिसके ।’ मौरीपालन व्यवसायबाट आयआर्जनको काम गर्न सरकारदेखि विभिन्न संघसस्थाले सहयोग गरिरहेको उनको भनाइ छ।

मौरीपालन व्यवसायलाई बढावा दिन बेलाबेलामा तालिम पनि सञ्चालन भइरहेको सापकोटाले बताए । ‘प्रशिक्षकको रुपमा मलाई पनि छान्छन् । प्रशिक्षार्थीलाई वितरण गर्ने मौरीको घार पनि मेरै उद्योगबाट लैजान्छन्,’ उनले भने । सापकोटा मौरी उद्योग नाममा व्यवसायलाई अघि बढाइरहेका उनले मौरीसहितको प्रतिघार सात देखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । शुद्ध एक माना मह सात सय रुपैयाँसम्म बिक्री हुने गरेको उनी बताउँछन्।

जिल्लाको सुन्दरादेवी, शिखरवेंसी, बेतिनि, लिखु, तलाखु, समुन्द्राटार, खरानीटारदेखि धादिङको विभिन्न क्षेत्रमा पुगेर तालिम दिएको उनी बताउँछन् । ‘तालिममा मैले मौरी समात्ने तरिका सिकाउदै आएको छु । मौरीलाई रत्याउनेदेखि लिएर घारभित्र राख्ने प्रक्रियाबारे जानकारी गराउदै आएको छु,’ पछिल्लो समय मौरीपालनमा आकर्षण बढेको बताउँदै उनी भन्छन्, ‘थोरै लगानीमै मनग्य फाइदा  हुने भएर पनि हो । यस पेसामा लाग्नेको संख्या बढ्दो छ ।’ सोध्दै खोज्दै मेरो फर्ममा पनि आएर धेरैले जानकारी लिने गरेको उनले बताए।

मौरीपालनबाट प्रत्यक्ष–अप्रत्यक्ष दुवै किसिमबाट लाभ लिन सकिने उनको बुझाइ छ । वरीपरी फलफूल खेती गर्दा वातावरण स्वच्छ र सुन्दर हुनुका साथै मौरीबाट फूलमा हुने परागसेचनको माध्यमबाट फलफूलको समेत राम्रो उत्पादन हुने गर्छ । विदेश जान तम्सिएका दुई छोरालाई समेत मौरीपालनमा लाग्न उत्प्रेरणा जगाइरहेको मौरी बाजे बताउँछन् । ‘भूकम्पपछि धेरै संघसस्था जीविकोपार्जनसम्बन्धी कार्यक्रम लिएर जिल्ला आएर तालिम दिइरहेका छन्,’ उनले भने, ‘यसको फाइदा उठाउँदै मौरीपालन व्यवसायमा लागेर आर्थिक उपार्जनको बाटो रोजौं भन्ने मेरो भनाइ हो।’

जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अनुसार जिल्लाको म्याघङ, किस्पाङ, ककनी, शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, लिखु गाउँपालिका र बेलकोटगढी नगरपालिकामा मौरी व्यवसाय राम्रो हुन्छ।  यस्तै घरेलु उद्योग शाखा नुवाकोटका अनुसार व्यवसाय सुरु गरेको एक वर्षमा नै लगानी उठाउन सकिन्छ।फलफूल पर्याप्त उत्पादन गर्नका लागि किटनासक औषधि अत्यधिक प्रयोग गर्दा मौरीलाई चरनमा समस्या पर्दै आएको छ ।
 

प्रकाशित: ११ चैत्र २०७४ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App