१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

३० करोड बजेट थपियो

म्याग्दी - प्रदेश नम्बर ४ को जीवनरेखा मानिएको बेनी–जोमसोम–कोरला सडक आयोजनालाई थप ३० करोड बजेट प्राप्त भएको छ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत चारवटा प्याकेज सहज बनाउन अर्थ मन्त्रालयले ३० करोड बजेट विनियोजन गरेको हो । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्वको सडक आयोजनालाई गत असोज महिनाबाट बजेट विनियोजन नहुँदा मजदुर काम छोडेर हिँड्न थालेका थिए ।आयोजना प्रमुख नरेन्द्र सुवेदीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत रहेका चारवटा प्याकेजको बिल भुक्तानी गर्न सहज हुने गरी बजेट प्राप्त भएको बताए । ‘जोमसोमदेखि लोमान्थाङसम्मको काम पनि अगाडि बढ्छ,’ सुवेदीले भने ।

राष्ट्रिय गौरवको आयोजनालाई बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धताले समेत काम गर्न सहज भएको उनले बताए । जोमसोमदेखि कोरला नाकासम्म चारवटा प्याकेजमा काम हुने प्रमुख सुवेदीले जानकारी दिए।उपल्लो मुस्ताङको स्थलगत अनुगमनमा रहेका सुवेदीले सडक विस्तारमा स्थानीयवासीको सहभागिताले थप सहज भएको बताए ।थप गरिएको ३० करोड बजेटबाट ठेकेदार कम्पनीको बिल भुक्तानी गरिने आयोजनाले जनाएको छ।

करिडोरअन्तर्गत पहिलो प्याकेज बेनी–भुरुङ तातोपानीसम्म शर्मा युनाइटेड जेभी, दोस्रो र तेस्रो प्याकेज शर्मा गजुरमुखी जेभी र चौथो प्याकेजअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङबाट जोमसोमसम्म कोसी कन्ट्रक्सनले जिम्मा लिएको छ ।लामो समयसम्म आयोजनाबाट खर्च गरिएको बिलको समेत भुक्तानी नभएपछि कम्पनीले आफ्नै कम्पनी र ऋण खोजेर काम गरेको शर्मा गजुरमुखी जेभीका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।

‘बजेट निकासीको जानकारी भएलगत्तै मजदुरसमेत फर्किन थालेका छन् । अब निर्माण कार्य थप सहज हुन्छ,’ शेरचनले भने । बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत एक सय ८६ किलोमिटरमा ११ मिटर फराकिलो दुई लेनको कालोपत्रे सडकका लागि भिर कटिङ, रिटेनिङ वाल, तारजालीसहित सडकलाई दिगो बनाउन इन्जिनियरिङसहित सडक विस्तारमा गरिएको सम्झौताअनुसार काम भइरहेको छ।

अघिल्लो सरकारले आयोजनाका लागि विनियोजन गरेको ५५ करोड बजेट सकिएको थियो । बेनी–घाँसा खण्डमा डिबिएसडी र घाँसादेखि जोमसोमसम्म असपाल्ट प्रविधिको कालोपत्रे गरिनेछ । नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्र गरिनेछ।

छिमेकी देश भारत र चीन जोड्ने सडक खण्डअन्तर्गत उत्तरी म्याग्दीमा सडक आयोजनाका साथै जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइनको निर्माण कार्यले समेत तीव्रता पाएको छ । यसैबीच, सडक खण्डअन्तर्गत रहेका बेलिब्रिजलाई समेत विस्थापित गरी पक्की पुलको कामसमेत भइरहेको छ।

प्रकाशित: ११ चैत्र २०७४ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App