१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘चेला’ हिरासतमा, ‘गुरु’लाई रेडकर्नर

काठमाडौं- कोही जेल पर्ने त कोही इन्काउन्टरमा मारिने गरे पनि तीन वर्षयता गणेश लामा राजनीतिक र प्रहरीमा रहेका केही प्रभावशाली अधिकारीको संरक्षणका कारण सुरक्षित थिए। तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रा सुरु गर्दै गुण्डा नाइकेको छवि हटाउने अभ्यासमा लागेका उनी विजयकुमार गच्छदारसँगै नेपाली कांग्रेसमा पुगेका थिए।

फोरममा भन्दा कांग्रेसमा उनी थप सुरक्षित हुने आँकलन भने गलत बन्यो । नेकपा एमाले र माओवादी केन्द्रको सरकार बनेसँगै लामाको हिरासत यात्रा सुरु भयो । उनी अवैध हतियारको अभियोगमा अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको खोरमा छन् ।

प्रहरीले सार्वजनिक गरेको उनको पक्राउको घटनाक्रम केही नमिल्दो देखिए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अवैध हातहतियारको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने अनुमति दिइसकेको छ । प्रशासनको अनुमतिमा लामा प्रहरी हिरासतमा छन् भने उनलाई छुटाउन नेपाली कांग्रेस काभ्रेका नेताहरु आन्दोलनमा ।

फागुन ३० बेलुका उनलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो । प्रहरीले दाबी गरेअनुसार बेलुका १० वजे आसपास होटल पशुपति भिजन क्षेत्रमा गोली पड्किएको आवाज आएपछि खटिएको प्रहरीले लामालाई हतियारसहित फेला पारेको थियो । प्रहरी पुग्दा लामा भागिरहेको देखेपछि लखेटेर पक्राउ गरिएको प्रहरी दाबी छ । 

लामाको साथबाट ७ दशमलब २२ एमएमको ६ राउन्ड गोली र चाइनिज पेस्तोल फेला परेको प्रहरीको भनाइ छ ।

‘लामा रहेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा पेस्तोल र गोली बरामद भयो,’ अहिले उनलाई अवैध हतियारको केसमा अनुसन्धान गरिरहेका छौँ।’
प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेको बेला काभ्रे कांग्रेस लामालाई छुटाउन आन्दोलनमै उत्रिइसकेको छ । लामा प्रदेश सभामा काभ्रेमा प्रदेशतर्फ कांग्रेसको टिकटमा उम्मेदवार बनेर पराजित भएका थिए । उनी फोरममा हुँदासमेत काभ्रेमा संविधान सभाकै उम्मेदवार बनेका थिए ।

लामाले भने दुई युवाले आफूलाई गोली हान्न आएपछि आफूले पेस्तोल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा आफैँलाई पक्राउ गरेको दाबी गरिरहेका छन् । उनले प्रहरी मुचुल्कामा समेत हस्ताक्षर गर्न मानेका छैनन् ।

१४ वर्षीय अपराध यात्रा
लामाको करिब १४ वर्ष लामो आपराधिक पृष्ठभूमि छ । प्रहरी रेकर्डअनुसार उनी २०६० ताका काठमाडौंमा अपराधमा देखिएका थिए । प्रारम्भमा सामान्य गुण्डागर्दीमा संलग्न उनी दीपक मनाङे समूहमा गएर शक्तिशाली भएका थिए । उनको समूहलाई प्रहरीले काभ्रेली ग्याङ नामाकरण गरेको थियो ।

ठमेल र दरबारमार्ग क्षेत्रको रात्रिकालीन व्यवसायबाट आर्थिक रुपमा सबल बन्दै गएका उनी भारतबाट रक्त चन्दन तस्करी सुरु भएपछि आर्थिक रुपमा बलियो बनेका हुन् । मनाङे समूहबाट आपराधिक सञ्जाल बलियो बनाएका उनले पछिल्लो समय आफ्नै समूह बनाएका थिए । प्रहरीको सूचीमा संगठित आपराधिक गतिविधिमा सक्रिय ‘ए’ समूहमा रहेका उनी पछिल्लो समय निर्माण व्यवसायमा संलग्न थिए । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागको संयुक्त अनुसन्धानमा आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोग लागेका ६ गुण्डामध्ये उनको सम्पत्ति सबैभन्दा धेरै देखिएको थियो ।

संगठित आपराधिक गतिविधिमा सक्रिय नाइकेविरुद्ध प्रहरी आक्रामक रुपमा अगाडि बढ्दा उनी सधैँ सुरक्षित रहे । आपराधिक गतिविधि गर्नसक्ने भन्दै दीपक मनाङे, चक्रे मिलन लगायतकाहरु पक्राउ पर्दासमेत उनी सुरक्षित रहेका थिए । राम्रै पहुँच भएका केही प्रहरी अधिकारीसँग उनले स्वतन्त्रताको मूल्य चुकाएको चर्चासमेत चुलिएको थियो ।

मनाङेको नाममा रेडकर्नर

प्रदेश नम्बर ४ मनाङबाट प्रदेश सभामा जितेर पनि सपथ खान नपाएका दीपक मनाङेको नाममा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएको छ । मनाङे प्रदेशको माननीयमा निर्वाचन भएपछि हत्या प्रयासको अभियोगमा कैद सजाय पाए पनि कैद भुक्तान नभएको दोषी रहेको खुलेपछि उनी फरार छन् । 

अर्का प्रतिस्पर्धी चक्रे मिलनको हत्या प्रयासको मुद्दामा २०६९ मै तात्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाए पनि फैसला गुपचुपै राखिएको थियो । कानुनतः दोषी ठहरिएका उनी प्रदेश सभामा उम्मेदवारका लागि अयोग्य भए पनि एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए । विजयी भएलगत्तै उनको अपराध खुलेको थियो ।

लगत्तै प्रहरी खोज्न खटिएपछि सम्पर्कविहीन भएका मनाङे नेपालबाहिर पुगिसकेको सूचनाको आधारमा उनलाई पक्राउ गरी नेपाल ल्याउन प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको समन्वय शाखाले इन्टरपोलको केन्द्रीय कार्यालयमा पत्राचार गरेको थियो । 

प्रहरीको पत्राचारको आधारमा मनाङेविरुद्ध केही दिनअगाडि इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो । अदालतबाट दोषी ठहर भई सजाय तोकिएको तर सो देशको सीमाभन्दा बाहिर रहेका व्यक्तिलाई पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्ने गरेको छ। 

रेडकर्नर जारी भएको व्यक्ति इन्टरपोलको सदस्य राष्ट्र रहेको १ सय ९२ देशका पुगे नियन्त्रणमा लिएर सम्बन्धित देशमा पठाउन सक्छ तर यो बाध्यकारी भने हैन।

शुक्रबार साप्ताहिकबाट

 

प्रकाशित: १० चैत्र २०७४ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App