१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अभाव हटाउन दोब्बर पेट्रोल वितरण

काठमाडौं- अभाव देखिएपछि नेपाल आयल निगमले नियमितभन्दा दोब्बरपेट्रोल बजारमा पठाएको छ। बिहीबार बिदाको दिनमा निगमको थानकोट डिपोले पेट्रोल वितरण नगर्दा हाहाकार भएको थियो। अभाव हटाउन आइतबार ६ लाख लिटर पेट्रोल पम्पमा पठाएको निगमले जनाएको छ।

सरकारीसहित निजी पम्पमा पर्याप्त पेट्रोल पठाएको निगम प्रवक्ता भानुभक्त खनालले बताए। 'उपभोक्तालाई सहज रुपमा पेट्रोल वितरणको लागि दोब्बरभन्दा बढी वितरण गरेका छौं,' उनले भने, 'इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट मागेजति तेल आएकोले आत्तिनुपर्दैन।' बजारमा सामान्य अवस्थामा करिब ३ देखि ३ लाख ५० हजार लिटरसम्म पेट्रोल खपत हुन्छ।

बजारमा सामान्य अभावदेखिनासाथ अरु बेला कम इन्धन हाल्ने उपभोक्ताले ट्यांकी भरि हाल्न चाहने भएकोले पनि व्यवस्थापनमा कठिनाइ भएको पम्प सञ्चालक बताउँछन्। लगातार तीन दिन लाइन बसेका उपभोक्ता ढुक्क हुन सकेका छैनन्। आइतबार पनि राजधानीका अधिकांश पम्पमा पेट्रोल भर्नेको लाम देखिएको थियो।

पम्पका मजदुर आन्दोलित रहेकोले पनि वितरणमा केही समस्या देखिएको निगमले जनाएको छ। 'मजदुर आन्दोलनले पनि व्यवस्थापन हुन सकेन,' प्रवक्ता खनालले भने, 'समस्या सल्टाउन पम्प सञ्चालकलाई भनेका छौं।'

पेट्रोल पम्प मजदुर आन्दोलित

सरकारले तोकेको न्यूनतम तलब नपाएको भन्दै पेट्रोल पम्पमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल पेट्रोलियम मजदुर संघको आह्वानमा सुरु भएको आन्दोलनका क्रममा उनीहरुले आइतबार थानकोट डिपोमा दुई घन्टा तेल भर्न रोके। पम्पका कर्मचारीले कालोपट्टि बाँधेर विरोध जनाएका छन्।

सरकारले निर्धारण गरेको न्यूनतम तलब ९ हजार ७ सय रुपैयाँ दिने सुनिश्चित नहुँदासम्म आन्दोलन गर्ने संघको संघर्ष समिति संयोजक लक्ष्मण न्यौपानेले बताए। 'सरकारले ८ हजारमा १७ सय वृद्धि गरेको छ,' उनले भने, 'बढेको सहित तलब पाउनुपर्छ भन्ने हाम्रो माग हो।'

आइतबार दुई घन्टा तेल लोड गर्न रोकेका मजदुरले सोमबारदेखि न्यूनतम तलब नदिने पम्प बन्द गराउने र इन्धन भर्न रोक्ने जनाएको छ। 'न्यूनतम तलब पनि नदिने पम्पलाई तेल उठाउन दिँदैनौं,' अध्यक्ष न्यौपानेले भने, 'माग पूरा गर्ने पम्पमा भने अवरोध गर्दैनौं।'

संघले२०६६ सालमामजदुरसँग पेट्रोलियम डिलर्स एसोसिएसन, निगम लगायत सरोकारवालाले गरेको सम्झौता कार्यान्वयन गर्न माग गरेको छ। पम्पमा काम गर्ने कर्मचारीलाई नियुक्तिपत्र दिने, न्यूनतम तलब लागू गर्ने, सञ्चय कोष र बिमाकोे व्यवस्था गर्ने, सार्वजनिक बिदा दिने, मौसम अनुसारको पोसाकदिने, काममा लगाउँदा खाजा भत्ता दिने गरी भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ। 'विगतमा भएको सम्झौता कार्यान्वयन भएको छैन,' उनले सोधे, 'सम्झौता गर्ने अनि कार्यान्वयन नगर्ने किन?'

उपत्यकामा १ सय ३३ सहित मुलुकभर करिब १३ सय पेट्रोल पम्प छन्। ती पम्पमा करिब ११ हजार मजदुर कार्यरत रहेको उनले बताए।

पम्पमा काम गर्ने मजदुरलाई नियम अनुसार सुविधा दिनुपनेर्ेे पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ। एकाध पम्पमा समस्या भए पनि प्रायःसबै पम्पले न्यायोचित तलब दिइरहेको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। 'कसैले दिएको छैन भने तोकेअनुसार दिनुपर्छ,' प्रधानले भने, 'हामी सहजीकरण गर्न तयार छौं।'

निगम टोली भारत

इन्धन आयातमा आइपर्ने समस्या समाधानको पहल गर्न भन्दै नेपाल आयल निगमको टोली आइतबार भारत गएको छ। निगम प्रवक्ता खनाल, आपूर्ति व्यवस्था तथा वितरण विभागका प्रमुख विरेन्द्र गोइत इन्डियन आयल कर्पोरेसनसँग छलफल गर्नगएका हुन्। नियमित बैठक भए पनि इन्धन लोडलगायत प्राविधिक विषयमा कुरा उठाउने प्रवक्ता खनालले बताए।

प्रकाशित: ६ भाद्र २०७३ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App