१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाली छुर्पी खान्छन् अमेरिकी कुकुर

इलाम- नेपालका कुन–कुन उत्पादन तेस्रो मुलुक निर्यात होलान्? फरर्र जवाफ आउन सक्छ– चिया, ढाका, हस्तकला, पस्मिना, तयारी कपडालगायत। तर, अमेरिकी घरपालुवा कुकुरको आहारा पनि नेपालबाटै गइरहेको छ भनेको सुन्दा अनौठो लाग्न सक्छ।

अमेरिकामा पालिने कुकुरलाई इलाम, पाँचथर र ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाबाट बेग्लै गुणस्तरको छुर्पी (डग च्यु) बनाएर पठाइन्छ। केही महिनायता त यसको माग धान्नै मुस्किल पर्न थालेको छ। त्यहाँका बासिन्दाले कुकुरलाई खुवाउने छुर्पीको अत्यधिक माग गरिरहेका छन्। तर, मागको तुलनमा उत्पादन ज्यादै न्यून रहेको व्यवसायी बताउँछन्।

जिल्लाको बरबोटे गाउँमा केही वर्षअघि खुलेको नवरत्न अर्गानिक कृषि फार्ममा उत्पादित सबै छुर्पी अमेरिका निर्यात भइरहेको छ। ‘महिनामा करिब ९ सय किलो डग च्यु उत्पादन हुन्छ,' फार्म सञ्चालकमध्येका गौतम गुरुङले भने, ‘अमेरिकाबाट भदौ र असोजलाई मात्रै ३ हजार किलोको माग छ, मागअनुसार हाम्रो उत्पादन छैन।' उनले छुर्पी उत्पादनका लागि फार्ममा ३० गाई पालिएको बताए। त्यसमध्ये २३ ले दूध दिने गरेका छन्। यहाँ उत्पादित छुर्पी प्रतिकिलो ७ सय रुपैयाँले काठमाडौंको एभरेस्ट फुड प्रोडक्टमार्फत अमेरिका पुर्‍याइन्छ।

फार्ममा अहिले दिनको सय लिटर दूध उत्पादन हुन्छ। तर, गाउँका सहकारीहरूबाट समेत ८ सय लिटर दूध खरिद गरेर ३३ किलोजति छुर्पी तयार हुने गरेको गुरुङले बताए। ‘पहिला हामी पंखामा मात्र सुकाएर छुर्पी पठाउँथ्यौ, धुवाँ नलागेको छुर्पी कुकुरले खाएन भन्ने अमेरिकाबाट गुनासो आएकाले अहिले धुवाँ लगाउने भट्टीसमेत बताएका छौं,' उनले भने, ‘भट्टीमा करिब ७० दिन सुकाएरमात्र छुर्पी पठाउने गरिएको छ।' उनले त्यहाँका कुकुरका लागि बनाइने ‘विशेष छुर्पी'मा शून्य प्रतिशत चिल्लो पदार्थ राख्नुपर्ने मापदण्ड रहेको बताए। ‘हामीले अमेरिकीको मागअनुसारकै गुणस्तरमा छुर्पी बनाइरहेकाले माग उच्च छ,' उनले भने, ‘उत्पादन गरेर बेच्दा दूध, घिउ, दहीबाट भन्दा छुर्पीबाटै फाइदा पनि हुन्छ।' गुरुङले छुर्पीको मागअनुसार अन्य उत्पादन घटाउँदै लगेको पनि बताए।

अमेरिकीहरूले करिब दशकयता पूर्वी पहाडी जिल्लाबाट कुकुरका लागि छुर्पी लगिरहेका छन्। इलामका लेकाली गाउँ, पाँचथरको प्राङबुङ र मेमेङबाट बर्सेनि डग च्यु अमेरिका जान्छ। सन् २००६ मा प्राङबुङको भैंसेपोखरीमा खुलेको दुग्ध प्रशोधन उद्योगले उत्पादित छुर्पी अमेरिका पठाउँदै छ। अमेरिकाबाट कुकुरलाई आहारको माग बढेपछि उद्योगले प्राङबुङ र मेमेङमा दर्जनभन्दा बढी शाखा नै खोलिसकेको छ।

स्थानीय सुकेथाम दुग्ध उत्पादक सहकारी संस्थाले उद्योगको व्यवस्थापन गर्दैछ। संस्थाका सदस्य नरबहादुर खपांगीका अनुसार अमेरिकी व्यापारीले कुकुरको आहाराकै लागि महिनाको ४ हजार किलो छुर्पी माग गरिरहेका छन्। अमेरिकी व्यापारीले काठमाडौंस्थित व्यापारीबाट छुर्पी लैजाने गरेका छन्। सुकेथामले अमेरिकामै पनि ‘मनोरम' कम्पनी दर्ता गरेको छ। कम्पनीमार्फत त्यहाँका उपभोक्तालाई पनि छुर्पी बिक्री गर्ने गरेको छ। प्रत्येक वर्षको असार अन्त्यमा अमेरिकी व्यापारीसँग यहाँका छुर्पी व्यापारीको सम्झौता हुने गरेको छ। चौंरी र गाईको दूधबाट मात्र बन्ने यो छुर्पीका लागि भैंसीको दुध भने उपयुक्त मानिँदैन। कुकुरको आहारका लागि उत्पादन गरिने छुर्पीबाट उद्योगलाई दोहारो लाभ हुन्छ। यो छुर्पीका लागि चिल्लो पदार्थ नचाहिने भएकाले त्यही दूधको चिल्लो पदार्थबाट घिउ उत्पादन गरिन्छ।

छुर्पी बिक्री गरिरहेका एभरेस्ट फुडका तरुणप्रताप साहले अमेरिका मात्र नभएर पछिल्लो समय अन्य मुलुकबाट समेत यसको माग आउन थालेको बताए। अन्य मुलुकको मागबारे अध्ययन भइरहेको उनको भनाइ छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा बर्सेनि २ लाख ९२ हजार किलोभन्दा बढी छुर्पी उत्पादन हुन्छ। तर, सबै डग च्यु भने होइन। बढी चिल्लो पदार्थ भएको बाँकी छुर्पी स्थानीय बजारका साथै काठमाडौं, पोखरा, धरान र भारत निकासी हुने गरेको छ।

दूध उत्पादनमा पूर्वमै अगाडि रहेको इलाममा दिनहुँ १ लाख लिटर दूध उत्पादन हुन्छ। गाउँमा उत्पादित दूध स्थानीयस्तरमा खुलेका डेरी, ललीपप र चिज उद्योगले पनि प्रयोग गर्छन्। जिल्लाका २० चिज उद्योगमा मात्रै दिनहुँ २५ हजार लिटर दूध खपत हुन्छ। ३ सय डेरीले करिब १४ हजार लिटर खपत गर्छन्। बाँकी दूध विराटनगरस्थित दुग्ध वितरण आयोजना, जीवन विकास र ऋतिका डेरीले खरिद गर्छन्। पूर्वी नाकाबाट दिनको ५ हजार लिटर भारत निर्यात हुन्छ। दुग्ध वितरण आयोजनामा पूर्वका ८ जिल्लाबाट दिनहुँ संकलन हुने २५ हजार लिटरमध्ये इलामको हिस्सा सबैभन्दा बढी १८ हजार लिटर छ। फार्मका गंगा भुर्तेल भन्छन्, ‘जिल्लामा उत्पादित दूधको डग च्यु बनाएर मागअनुसार तेस्रो मुलुक निर्यात गर्न सके किसानले समेत दूधको राम्रो मूल्य पाउँछन्।' फार्मले दूध खरिदबापत किसानलाई प्रतिलिटर ४० रुपैयाँ दिने गरेको छ।

प्रकाशित: ६ भाद्र २०७३ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App