१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद् भवन असुरक्षित

प्रदेश नं १ को संसद् भवन । यो भवनको पहिलो तला संसद्ले र दोस्रो तला जिसस मोरङले प्रयोग गरिरहेका छन् । तस्बिरः नागरिक

विराटनगर – प्रदेश १ संसद् सचिवालयले प्रदेश संसद् र जिल्ला समन्वय समिति (जिसस) को कार्यालय एउटै भवनमा हुँदा असुरक्षा बढेको ठहर गरेको छ । सचिवालयले संसद् भवनको सुरक्षाका लागि  जिसस कार्यालय अन्यत्रै सार्न प्रदेश सरकारसँग माग गरेको छ। 

मुख्यमन्त्रीको कार्यालयलाई सोमबार पत्राचार गर्दै संसद् सचिवालयले संसद्को ‘शान्तिसुरक्षा, सुव्यवस्था तथा  गोपनीयताका लागि’ तत्कालै जिसस कार्यालय अन्यत्र सार्न माग गरेको हो । मुख्मन्त्री शेरधन राई, सभामुख प्रदीप भण्डारीलगायत सबै राजनीतिक दलको चाहना यस्तै भएकाले यसबारे छिट्टै ठोस निर्णय हुने आशामा संसद् सचिवालय छ। 

जिसस मोरङको अढाईतले भवनको भुइँतला प्रदेशसभाले प्रयोग गरिरहेको छ । प्रदेशसभा गठन भएपछि जिससले ‘केही समयका लागि’ भन्ने सर्त राखेर संसद्का लागि भवन उपलब्ध गराएको थियो । तर, जिसस कार्यालयसँगै रहँदा संसद्को सुरक्षा व्यवस्थामै खतरा उत्पन्न हुने निष्कर्षमा सचिवालय पुगेको हो । ‘संसद्का लागि आवश्यक पर्ने स्पेस नै पुगेको छैन, व्यवस्थापन ज्यादै कठिन भइरहेको छ’, संसद् सचिवालयका सचिव केदारप्रसाद पनेरुले नागरिकसँग भने ‘त्यसैले जिसस सार्न भनेर हामीले पत्राचार गरेका हौं।’ 

सचिव पनेरुका अनुसार जम्मा चारवटा हल भएको जिसस भवनको पहिलो तलामा दुईवटा हल थिए । त्यहीमध्ये एउटा हलमा संसद्को बैठक कक्ष छ भने अर्को हललाई बारेर दुईवटा कोठा बनाइएको छ,  जहाँ संसद्का मर्यादापालक र कर्मचारीको कार्यकक्ष छ । त्यही लहरमा  सभामुख, उपसभामुख तथा अन्य कर्मचारीको कार्यकक्ष रहेको छ । संसद्मा अहिलेसम्म संसद्को बैठक कक्ष र मुख्य विपक्षी दलका नेतालाई मात्रै कार्यकक्ष उपलब्ध छ । ‘अब विभिन्न संसदीय समितिका लागि कोठा चाहिन्छ, संसदीय दललाई पनि कार्यकक्ष दिनुपर्नेछ,’ सचिव पनेरुले भने,‘अहिले उपलब्ध स्पेसले त्यो सबै धान्ने अवस्था भएन ।’ त्यसैगरी मिडिया सेन्टरका लागि पनि स्थान अभाव भएको सचिवालयले जनाएको छ । ९३ सदस्सीय प्रदेशसभाको बैठककक्षमा अहिले कुल १ सय ४० सिटको व्यवस्था गरिएको छ।  

संसद् सचिवालयका अनुसार जिसस र संसद् सचिवालय एकै ठाउँमा रहँदा सबैभन्दा धेरै सुरक्षा चुनौती थपिएको छ। ‘प्रदेशसभा सञ्चालनका विभिन्न नीति, नियम कानुन बनाउने ठाउँ सुरक्षित र गोपनीयतासहितको हुनुपर्छ’, सचिवालयले भनेको छ, ‘तर, यहाँ त्यस्तो वातावरण भएन । यसर्थ सकेसम्म चाँडो जिसस कार्यालय अन्यत्र सार्ने प्रबन्ध गरिनुपर्छ ।’ सचिव पनेरुका अनुसार सुरक्षा व्यवस्था कसिलो पार्दै सकेसम्म गोपनीयता रहनेगरीको संसद् भवनको प्रबन्ध हुनुपर्ने भए पनि सर्वसाधारणको आउजाउ भइरहने जिसस एकै ठाउँमा हुँदा त्यसो हुन नसकेको उल्लेख गरे। 

संसद् सचिवालयको मागबारे जिल्ला समन्वय समिति भने बेखबर छ। २०१९ सालदेखि जिल्ला पञ्चायतले यो भवन प्रयोग गर्दै आएको बताउँदै मोरङ जिसस प्रमुख नरेश पोखरेलले संसद् सचिवालयको मागबारे केही थाहा नभएको बताए । ‘हामीले पहिल्यै यो भवन संसद्का लागि उपयुक्त नहुन सक्छ, व्यवस्थापन गरेर चलाउने हो भने भुइँतला दिन्छौं भनेर अस्थायी प्रयोजनका लागि भवन उपलब्ध गराएका हौं’, संसद्को मागप्रति असन्तोष प्रकट गर्दै उनले भने ‘अहिले हामी निर्वाचित प्रतिनिधिसँग सल्लाह नै नगरी यस्तो माग आएको रहेछ भने कुरा के हो बुझ्नेछौं ।’ जिसस कार्यालयमा ऐतिहासिक दस्तावेजदेखि अन्य महत्वपूर्ण कागजात रहेको, अन्यत्र सार्दा ती कागजातको सुरक्षा कठिन हुने बताउँदै उनले ‘सुरुमा भवन उपलब्ध गराउँदै पनि जिसस रहने गरी संसद् राख्ने सहमति भएको’ स्मरण गरे। 

२० को दशकअघि नै बनेको जिसस भवन संसद् भवनका लागि उपयुक्त र सुरक्षित नहुने प्राविधिकहरूले पटक–पटक सुझाएको जिसस प्रमुख पोखरेलले बताए । उनका अनुसार ज्यादै पुरानो यो भवन निर्माण गर्दा पिल्लर बनाइएको छैन।  त्यसैले भवन बलियो नभएको उनको भनाइ छ । अहिले जिससले प्रयोग गरिरहेको दोस्रो तलामा संसद्का लागि उपयुक्त हुने कोठा पनि उपलब्ध नभएकाले जिससले भन्दा संसद्ले वैकल्पिक स्थान खोज्नु बढी राम्रो हुने उनको सुझाव छ। 

प्रकाशित: ४ चैत्र २०७४ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App