१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रूप्से झरना मास्ने गरी दुई जलविद्युत आयोजनाको चलखेल

म्याग्दी- रुप्से झरनालाई असर गर्ने गरी जलविद्युत कम्पनीले झरनाबाटै विद्युत उत्पादन गर्ने चलखेल गरेका छन्। जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै चर्चित रुप्से झरनालाई जोखिममा पारेर विद्युत उत्पादन गर्ने प्रस्ताव गरेका हुन्। प्रस्तावित ४ मेगावाटको जलविद्युत आयोजना सञ्चालनका लागि मुक्तिनाथ हाइड्रो पावर कम्पनी लिमिटेडले गाउँमा भेला गरी जलविद्युतले झरनालाई कुनै असर नगर्ने गरी  स्थानीयलाई लगानीमा प्राथमिकता दिने आश्वासन समेत दिएका थिए।

आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने जिल्लाकै प्रमुख झरनाको बीचमा बाँध बाधेर टनेल मार्फत दानाकै तितर भन्ने ठाउँमा पावर हाउस बनाएर विद्युत उत्पादन गर्ने प्रस्ताव गरेपछि स्थानीय समेत विभाजित भएका छन्। कम्पनीका रमेश पौडेलले स्थानीयको सहभागितालाई प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए। ‘स्थानीयलाई लगानीमा प्राथमिकता दिने प्रतिबद्धता आएको छ। झरनालाई पनि कुनै असर नगर्ने उहाँहरूले बताउनुभएको छ’ वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाले भने। उनले विद्युत उत्पादनमा सहयोग गर्ने निर्णय गरिएको बताउँदै वडा कार्यालयबाट आवश्यकता अनुसार सहयोग गर्ने बताए। गाउँमा जलविद्युत आयोजनाले प्रवेशले लगानी, रोजगारी र आन्तरिक आम्दानी समेत बढ्ने बताउँदै स्थानीयको अनुरोधमा सहमति जनाएको बताए।

आयोजनापक्षसंग वडा अध्यक्ष पुर्जा, स्थानीय पुस्कल शेरचन लगाएतले सहमति जनाएपनि झरना आसपासका बस्ती अन्तर्गत पर्ने काभ्रेका बासिन्दाले झरनालाई संकटमा पार्ने गरी आयोजना बन्न नदिने भन्दै विरोध जनाएका थिए। छलफलबाटै वडा सदस्य हस्त बहादुर पुनको नेतृत्वमा श्याम पुन, तुलप्रसाद गौचन, नविन जिसी लगाएतले राष्ट्रिय सम्पदाको रुपमा रहेको झरनालाई कुनै कम्पनी मार्फत नाफा कमाउने माध्यमको रुपमा प्रयोग गर्ने नदिने बताउँदै छलफल बहिस्कार गरेका थिए। ‘झरना भासिने खतरा छ। उत्तरी क्षेत्रमा प्रस्तस्तै खेला हुदाँहुदै झरनामा आँखा लगाएका छन्’ वडा सदस्य हस्त बहादुर पुनले भने।

चिरुवा सामुदायीक बनका अध्यक्ष समेत रहेका पुर्जाले सामुदायीक बनलाई समेत विना अनुमति मास्ने प्रयास भएमा स्थानीयले प्रतिकार गर्ने चेतावनी समेत दिएका छन्। ४ नं प्रदेश सरकारले जलस्रोत सम्बन्धि कानून तथा राष्ट्रिय महत्वका सम्पदाको प्रयोगका विषयमा आवश्यक कानुन बनाइनसकेको अवस्थामा आफुँखुसी झरनामा चलखेलको प्रयास भएको बताए। धौलागिरी हिमालको फेदबाट बग्ने झरना आसपासमा विद्युत उत्पादनको प्रयास गरिएमा पानीको मुहान भासिने सम्भावना रहेको स्थानीयको भनाई छ । आयोजना पक्षले विकास निर्माणमा सहयोग, लगानीमा स्थानीयलाई प्राथमिकता, रोजगारी लगाएतका आश्वासन दिएपनि झरनाको आयोजना निर्माणको क्रममा मुहान भासिएमा पर्यटनको क्षेत्रमा अपूरणीय क्षती पुग्ने स्थानीय सुन बहादुर विश्वकर्माले भने।

‘विद्युत उत्पादनको नाममा आसपासका महत्वपूर्ण ठाउँ समेत कब्जा गर्ने दाउमा छन् । झरनामा स्थानीयले संरक्षण गरेका छन्’ शिक्षक सुन बहादुर विश्वकर्माले भने । उनले कालिगण्डकी नदीबाट विद्युत उत्पादन नगरी झरनालाई रोज्नुमा ठूलो चलखेल रहेको बताउँदै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई समेत जानकारी गराइएको बताए। जिल्ला बाहिरका जलविद्युत ब्यापारीको प्रलोभनमा स्थानीय केही ब्यक्तिले जनतालाई भ्रममा पारेको उनको आरोप छ। उनले झरनाको बीचमा रहेका पोखरीको पानीलाई संरक्षण गरी पूर्वाधार विस्तार गरिए बेनी–जोमसोम सडक हुदै मुस्ताङ र मनाङ जाने आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आर्कषण हुने बताए। उनले जलविद्युतले संसारकै सबैभन्दा गहिरो अन्धगल्छीलाई समेत असर गर्ने बताए । झरना आसपासको जमिन, माटो समेत कमजोर रहेको स्थानीयको भनाई छ । यता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनले झरनालाई असर गर्ने गरी विद्युतगृह सञ्चालन गर्न नदिने बताए । ‘झरना सम्पत्ती हो, मैले पुलभन्दा तलबाट गर्ने गरी प्रस्ताव गर्न अनुरोध गरेको छु’ उनले भने । स्थानीयले सहमति जनाउँदैमा आयोजना अगाडि नबढ्ने बताए । उनले बेनी–जोमसोम सडक कालोपत्रे लगत्तै झरना मात्रै अवलोकन गर्न आउनेको पर्यटक समेत अत्याधिक हुने बताए । झरना माथी दुईवटा आर्कषक पोखरी छन्।

झरना माथी पनि ४ मेगावाटको अर्को जलविद्युत कम्पनी

झरनाको बीचबाट विद्युत उत्पादनका लागि चलखेल भइरहेको अवस्थामा एकदशक अगाडी दर्ता भएको रिर्चस एण्ड डेभलपमेन्टले समेत चार मेगावाटको जलविद्युतको तयारी समेत सुरू गरेको छ। वि.स २०६४ सालमा दर्ता भएको डेभलपमेन्ट कम्पनीले पानीको जाँच, तत्कालिन दाना गाविसबाट आवश्यक प्रक्रियाका साथै विद्युत खरिद सम्झौता ( पिपिए) समेत गरेको जनाइएको छ । तत्कालिन समयमा गाउँमा प्रभाव भएका दलका नेताहरुलाई प्रभावमा पारी विभिन्न काम गरेको स्थानीयको भनाई छ । झरनाको २० मिटर माथि पानी खसाल्ने कम्पनीको भनाई छ। जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा समावेश गरेको रुप्से झरना, अन्धगल्छी र नारच्याङको भालेबास्ने लगाएत आसपासका क्षेत्र प्रभावित क्षेत्र राखेको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्न महत्वपूर्ण मानिएका ठाउँलाई स्थानीयलाई जानकारी बिना प्रयोग गर्ने बताएपछि विरोध भएको थियो । रन अफदि रिभर प्रकारको आयोजनामा प्रति मेगावाट १७ करोड लागत अनुमान गरिएको छ । दुवै कम्पनीले सस्तोमा लगानी गर्न सकिने आयोजना भएकाले पनि झरनामा आँखा लगाएको जलविद्युतका जानकार बताउँछन् । झरनाबाट विद्युत उत्पादनमा लागत र समय कम लाग्छ। कम्पनीले स्थानीयबासीलाई एकबर्ष अगाडी प्रति रोपनी ८०  हजार मुआब्जा दिने निर्णय गरेको थियो। १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा समेत समावेश गरिएको रुप्से झरना र संसारकै गहिरो अन्धगल्छीलाई संरक्षण गर्न स्थानीयले संघर्ष समिति समेत बनाउने बताएका छन्।

प्रकाशित: ३ चैत्र २०७४ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App