१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

के नेपाल सधैँ गरिब थियो ?

विश्वका गरिब मुलुकहरूमा नेपाल पनि परेको छ। त्यसलाई राष्ट्रसंघीय भाषामा अल्प विकसित देश भनेर भनिएको छ। सो स्तरबाट एक तह माथि उक्लने मुलुकलाई विकासशील देश भन्ने गरेका छन्। नेपाललाई पनि त्यो तहमा लैजाने कुरा गर्दा नेपाल सरकारले अहिलेलाई अल्प विकसित स्तरमा नै रहिरहने निर्णय गरेको छ। यो निर्णय नेपाल कति गरिब छ भन्ने दृष्टिबाट भन्दा राष्ट्र संघबाट कति सहायता पाइन्छ भन्ने दृष्टिबाट गरिएको छ। अल्प विकसित देशको स्तरबाट विकासशील देशको स्तरमा जानेबित्तिकै राष्ट्र संघबाट पाइने सहयोग र ऋणमा कटौती हुन जान्छ । खाईपाई आएको सुविधाबाट नेपाललाई किन वञ्चित गर्ने भनेर गरिएको यो सरकारी निर्णय बुझ्न सकिन्छ। तर गरिबीको मनस्थितिबाट थिचिएका नेपालीहरू यथावत स्थितिमा रहिरहने भयो। हाम्रो पिँढीले गरिबीको चंगुलबाट नेपाल मुक्त भएको देख्न, सुन्न र अनुभव गर्न नपाउने भयो।

तर के नेपालीहरू सधैँ यसरी नै गरिब थिए ? यसको सजिलो उत्तर हो थिएनन् । यदि थिएनन् भने कहिले धनी थिए ? कसले नेपाललाई गरिब बनाए ? यी प्रश्नहरू खडा हुन्छन् । इतिहासले राणाहरूलाई सबभन्दा ठूलो शोषक मानेका छन्। उनीहरूले एक सय वर्षसम्म नेपालको ढुकुटी एकलौटी पारेर राणा परिवारहरूको मात्र पोषण गरेका थिए । त्यसपछिको ६०, ७० वर्षको प्रजातान्त्रिक कालका सत्ताधारीहरू, उनका आसेपासेहरू र भ्रष्टाचारीहरू मात्र आर्थिकरूपले सपन्न भए । नेपाल गरिबै रह्यो, नेपालीहरू गरिब नै रहे । सन् १७६८ मा जब नेपालमा शाह काल सुरु भयो त्यो बेला नेपाललाई गरिब मानिन्थ्योे। पृथ्वीनारायण शाह गोरखाका मात्र राजा हुँदा मनग्य पैसा नभएर त्यस राज्यका परिवारबाट एक रुपियाँको दरले चन्दा उठाइएको थियो। सो रकम गोरखा राज्यको विस्तार गर्न उपयोग गरिएको थियो। पृथ्वीनारायण शाह नेपालको राजा भएपछि राज्य विस्तारको कार्यक्रमले अरू तेजिलो गतिलियो। यसको मुख्य कारण तत्कालीन नेपाल धनी थियो। राज्य ढुकुटी भरिभराउ थियो। यसबाट पृथ्वीनारायण शाहको एकीकरण अभियान दिन दुगुनी रात चौगुनीको हिसाबले अगाडि बढ्यो। 

जे भए पनि नेपाल कुनै दिन धनी थियो र पुनः धनी बनाउन सकिन्छ भनेर आत्मविश्वास लिनुपर्छ । 

इतिहास अन्वेषकहरू रमेश ढुङ्गेल र ऐश्वर्यलाल प्रधानाङ्गले मध्यकाल अथवा मल्लकालको आर्थिक अवस्थाको राम्रो चित्रण गरेका छन् । उनीहरू अनुसार यस कालमा नेपाली मुद्रा तिब्बतमा पठाएर निकै ठूलो धनराशि प्राप्त गर्ने परिपाटी थियो । यस स्रोतबाट वार्षिक पाँच लाख रुपियाँसम्म नेपाल उपत्यकालाई आम्दानी हुने गथ्र्याे । भोटका लागि समेत नेपाली मुद्रा टकमरी गरी पठाउने चलन कान्तिपुरका राजा महीन्द्र मल्लका पालादेखि चलेको थियो । पछिपछि भोटका निमित्त छुट्टै मुद्रा टकमरी गर्ने चलनसमेत चल्यो । यसका अलावा व्यापार, कृषि, पशुपालन,उद्योगधन्दा आदिको माध्यमबाट पनि धेरै नै आम्दानी हुने गथ्र्याे । यस्ता स्रोतमध्ये व्यापार र उद्योगधन्दाबाट नै उपत्यकालाई बढी वैभवपूर्ण बनाएको यथार्थ थियो । उपत्यकाका अन्य आयका स्रोतमध्ये सरकारी आयमा कर र भन्सार महसुलको स्रोत नै ठूलो थियो । मल्लकालमा उत्तरतर्फ निकासी हुने सामग्रीहरूमा सुनचाँदी, तामा, काश्य (ढलौट) आदिका प्रतिमा, सांस्कृतिक महत्वका भाँडाबर्तनहरू, बुद्धधर्मका बहुमूल्य हस्तलिखित ग्रन्थहरू, सुवर्ण तथा अन्य धातुका धात्विक चैत्यहरू, असल जातका घोडा, फलामका तरबार आदि पर्थे । तिनताक नेपालबाट नेपालीहरूले बुनेका कपडा, गहुँ, जौ जस्ता अन्न र खुर्सानी, मरिच आदि हुने गथ्र्याे । नेपालबाट बुद्ध धर्मसँग सम्बन्धित मूर्तिहरू अन्य सांस्कृतिक र धार्मिक महत्वका कलात्मक वस्तुहरूको भोटतर्फ निकासी हुने परम्परा पहिलेदेखि चलिआएको थियो। 

इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालको धन वृद्धि भएको देखेर नै यस कालमा नेपालमाथि बाहिरी शक्तिहरूबाट हमला हुने गरेका थिए। सर्वप्रथम सन् १२८८ मा पश्चिमी सिञ्जाली खस राजा जितारी मल्ल्ले काठमाडौँ उपत्यकामाथि पहिलो पटक आक्रमण गरेका थिए । फलस्वरूप स्वयम्भूमा घमासान युद्ध भएको थियो। यस आक्रमणबाट नेपालका सबै सहरहरू ध्वस्त भएका थिए। अधिकांश नागरिकहरू वनमा शरण लिन पुगेका थिए। केही दिनपछि जितारी मल्ल दलबलसहित धनमाल लिएर स्वदेश फर्केका थिए । यिनको लक्ष्य नेपालस्थित मूल्यवान् वस्तुहरू लिएर जानु मात्र थियो। पृथ्वीनारायण शाहको जस्तो यही राज गरेर बस्ने मनसुवा थिएन । करीब सवा वर्ष जति पछि जितारी मल्लले नेपाल उपत्यकामा पुनः धावा बोले । यो आक्रमण पहिलेको भन्दा भयावह थियो। खस सैनिकहरूले धेरै गाउँबस्ती जलाइदिएका थिए । अन्त्यमा पशुपति, मत्स्येन्द्रनाथ तथा स्वयम्भू महाचैत्यको दर्शन तथा पूजा गरी यहाँबाट लुटिएका धनदौलतहरू लिई केही दिनपछि स्वदेश फर्केका थिए। 

यसको केही वर्षपछि सन् १२९१ मा तिरहुत राज्यबाट नेपालमाथि हमला भयो। त्यसबेलाका कर्णाट राजा शक्तिसिंहदेवका मन्त्री चण्डेश्वर ठाकुरले जोडदार आक्रमण गरेका थिए। यसको उद्देश्य पनि आर्थिक लाभ नै थियो । यस आक्रमणको प्रतिशोध गर्ने आँट तत्कालीन नेपाली राजा अनन्त मल्लले गर्न सकेनन्। आक्रामकहरूसित शान्ति सम्झौता सम्पन्न गरेर युद्ध हर्जाना बुझाएर तिरहुते सैनिकहरूलाई फिर्ता पठाएका थिए। यसपछि पुनः सन् १३१२ मा तिरहुतबाट हमला भयो । तिरहुते सैनिकहरू करिब १० महिनासम्म नेपाल उपत्यकामा बसेका थिए । यस दौरानमा उनीहरूले यहाँका सहर तथा बस्तीहरूमा लुटपाटहरू मच्याउँदै रहेका थिए । आखिरमा उनीहरू फर्केर गए । उनीहरूको मुख्य उद्देश्य नेपालस्थित धनमाल लिएर जानु नै थियो । त्यसबेलाका राजा आनन्द मल्लले यसको प्रतिकार गर्न सकेनन्। 

यसैगरी सन् १३१४ मा दुल्लुका खस राजा रिपु मल्लले नेपाल उपत्यकामा आक्रमण गरे। उनको लक्ष्य पनि लुटपाट नै थियो । यहाँको मत्स्येन्द्रनाथको मन्दिरमा करिब १८ दिनसम्म बसी फर्केका थिए। यो क्रम धेरै वर्षसम्म जारी रह्यो । यसको केही वर्षपछि सन् १३२९ मा दुल्लुका अर्का खस राजा आदित्य मल्लले नेपाल उपत्यकाको वैभव तथा समृद्धिलाई सम्झेर आक्रमण गर्न आइपुगे । यस क्रममा सैनिकहरूलाई तयार गराउन ५ दिन सम्म नुवाकोटमा बसेका थिए । पाटन सहरमा आक्रमण गरी आफ्नो अधिकार पनि स्थापित गरे । तर यिनी पनि धनमाल लुटेर केही दिनपछि स्वदेशतर्फ लागे । यो सिलसिला सन् १३३५ सम्म जारी रह्यो । त्यसबेला त्यहाँका अर्का राजा पुण्य मल्लले नेपाल उपत्यकामा आक्रमण गरेका थिए । यसको उद्देश्य पनि धनमाल प्राप्त गर्नु नै थियो। 

नेपालको धनको ख्यातिले सबभन्दा ठूलो विपत्ति सन् १३५० मा निम्त्याएको थियो । त्यो बेला नेपालमा राज मल्ल राजा थिए । यो आपत्ति थियो नेपाल अधिराज्यमाथि बङ्गालका सुल्तान समसुद्दीन इलियस् शाहको आक्रमण । सिन्धुलीको बाटो भई यिनीहरू नेपाल उपत्यकाभित्र पसेका थिए । यिनीहरूले पहिलो दिनमै भक्तपुर सहरलाई ध्वस्त पारिदिए । दोस्रो दिन कान्तिपुरलाई तहसनहस पारिदिए । तेस्रो दिन पाटनमा लुटपाट मच्चाएका थिए । यिनीहरूबाट ज्यान जोगाउन नगरवासीहरू घरबार र धन सम्पत्तिहरू परित्याग गरेर वनतिर लुक्न गएका थिए । राजा राज मल्ल पनि आफ्ना प्रजाहरूसित वन पसेका थिए । समसुद्दीनका सैनिकहरूले विना प्रतिरोध निर्धक्कसाथ लूटपाट गर्न पाए । ७ दिनसम्म भेटिएका धनदौलतहरू लिई यिनीहरू फर्किए । तर यसैबीच यिनीहरूले मन्दिर र चैत्यहरूलाई खण्डहरमा परिणत गरिदिएका थिए । धनदौलत लुट्नुको साथै यिनीहरूको लक्ष्य धार्मिक स्थलहरू नाश गर्ने पनि थियो । जे भए पनि नेपाल कुनै दिन धनी थियो र पुनः धनी बनाउन सकिन्छ भनेर आत्मविश्वास लिनुपर्छ। 

प्रकाशित: २ चैत्र २०७४ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App