१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मिटरमा नचलाउँदा ५ हजार जरिवाना

काठमाडौं- शुक्रबार दिउँसो राजधानीको मध्यबानेश्वरस्थित ह्वाइट हाउस कलेजअगाडि यात्रु कुरिरहेको बा१ज ८३६५ नम्बर ट्याक्सीमा एउटी महिला आएर चढिन् र भनिन्, 'मीनभवनसम्म जाउँ न!' यातायात व्यवस्था विभागको अगाडि पाँच/सात जना ट्राफिक प्रहरी थिए। उक्त ट्याक्सी त्यहीँ रोकियो। ट्याक्सीमा रहेकी महिला फुत्त ओर्लिइन् र भनिन्, 'यो ट्याक्सी मिटरमा चलेको छैन, यसलाई चिट काटिदिनू।'

ती महिला थिइन्– विमला खनाल, कन्जुमर आई, नेपालकी अध्यक्ष।

ट्राफिक प्रहरीले ट्याक्सीको मिटर हेरे, नभन्दै चलेकै रहेनछ। ट्राफिक प्रहरीसँगै रहेका विभागका निर्देशक वसन्त अधिकारीले पनि चिट काट्नू भनेपछि ट्राफिकले चालकसँग लाइसेन्स मागे र यातायात व्यवस्था विभाग अनुगमन शाखाका नामबाट जारी चिट हातमा थमाउँदै भने, 'अब ट्याक्सी जहिल्यै मिटरमा चलाउनू।'

अधिकारीले थपे, 'लाइसेन्स लिन ५ हजार रुपैयाँ जरिवाना लिएर यातायात व्यवस्था कार्यालय, सानाठूला सवारी, एकान्तकुनामा सम्पर्क राख्नुहोला।'

काठमाडौं मेडिकल कलेज, सिनामंगलबाट पाँच जना यात्रु बोकेर आएको बा१ज १९६१ नम्बर ट्याक्सीलाई पनि उसैगरी रोकियो। किनकि, त्यसको पनि मिटर चलेको थिएन। मिटर नचलेको देखेपछि चालक विजय लामाको लाइसेन्स मागियो। 'मैले मिटरमा जाने कि 'हाउ मच' मा भनेर सोध्दा यात्रुले नै २ सय दिन्छौं भनेपछि म के गरुँ?'

ट्याक्सीभित्रबाटै आवाज आयो, 'मिटरमा हिँड्यो भने घुमाएर लैजान्छ भनेर 'हाउ मच' मै जाउँ्क भनेका हौं।'

'यात्रु चढेपछि गलफती नगरी चालकले सही ढंगबाट मिटर चलाउनुपर्छ। तपार्इंले मिटर चलाएको छैन, त्यसैले तपाईं विभागले गरेको छड्के अनुगमनमा पर्नुभयो,' चालक लामालाई बुझाउँदै कन्जुमर आई नेपालकी अध्यक्ष खनालले ट्राफिकलाई भनिन्, 'चिट काटिदिनू।'

उनले थपिन्, 'मिटर नचलेको पाइए सबैलाई चिट काटिदिनू।'

विभाग मात्र होइन, हेलो सरकार, उपभोक्ता संस्था, ट्राफिक महाशाखामा ट्याक्सीले बढी भाडा लिएको, मिटरमा जान नमानेको जस्ता गुनासा आएपछि विभागले शुक्रबारबाट ट्याक्सीको छड्के अनुगमन थालेको हो। उपत्यकाको सातदोबादो, भैंसेपाटी, चावहिल, बालाजु र बानेश्वर क्षेत्रमा शुक्रबारबाट थालेको अनुगमनमा ५० भन्दा बढी ट्याक्सी कारबाहीमा परेका छन्।

छड्के अनुगमन थालेको टोलीले शुक्रबार बानेश्वर क्षेत्रबाट मात्र १५ वटा ट्याक्सीलाई कारबाही गरेको छ।

कारबाहीमा परेका सबै ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार हदैसम्मको कारबाहीस्वरुप ५ हजार जरिवाना गर्न पाउने व्यवस्थाअनुसार ५ हजार जरिवाना गरिने विभागका प्रवक्तासमेत रहेका निर्देशक अधिकारीले बताए।

'विभाग, ट्राफिक महाशाखाबाट पटकपटक सचेत गरायौं, थोरै रकमको कारबाही गरायौं तर चालकहरु कहिल्यै सुधि्रएनन्,' अधिकारीले भने, 'बाध्य भएर हामीले हदैसम्मको कारबाही गरेका हौं।'

कानुनमा तोकिएका भन्दा बढी भाडा लिए न्यूनतम हजारदेखि ५ हजारसम्म जरिवाना गर्न पाउने व्यवस्था छ। 'ट्याक्सी मिटरमा नचलाउनु भनेको पनि बढी भाडा लिनु नै हो,' अधिकारीले भने, 'कानुनअनुसार नै हामीले ५ हजार जरिवाना गरेका हौं।'

उपत्यकामा चल्ने ट्याक्सीले मिटरमा उठेअनुसार शुल्क लिन पाउने व्यवस्था छ। एक किलोमिटर दुरीमा ३६ रुपैयाँ भाडा तोकिएको छ। उपत्यकाभित्र करिक ८ हजार ट्याक्सी सञ्चालनमा रहेको विभागको अनुमान छ।

'यतिबेला सबैभन्दा बढी गुनासा नै ट्याक्सीबाट आउने गरेको छ,' खनालले थपिन्, 'मिटर राखेकै कोही नठगिऊन् भनेर हो, त्यसैले ट्याक्सीमा कोही चढेपछि चालकले मिटर चलाउनुपर्छ। मिटरभन्दा कम पैसा लेओस् वा बढी, कसैलाई उन्मुक्ति हुँदैन।'

अनुगमन टोलीमा रहेका ट्राफिक प्रहरी नायब निरीक्षक भरतबहादुर जिसीका अनुसार न्यून ट्याक्सी मात्रै मिटरमा हिँड्ने गरेको पाइएको छ। केही यात्रुले भने चालकले मिटर जाउँ्कभन्दा पनि नमानेपछि 'हाउ मच' मा आएको बताएको यात्रुलाई उद्धृत गर्दै जिसीले नागरिकलाई सुनाए।

विभागको चारवटा टोलीले अनुगमन गरिरहेको छ। 'शुक्रबारबाट थालिएको अनुगमन केही समय निरन्तर चलाउने योजनामा छौं,' अधिकारीले भने, 'यो टोली आइतबारबाट अझै सक्रिय भएर लाग्नेछ।' उनका अनुसार ट्याक्सीमा अत्यधिक गुनासो आएकाले ट्याक्सीबाट सुरुआत गरिएको हो। 'केही दिन ट्याक्सीमा केन्द्रित भएर अनुगमन गर्नेछौं,' उनले भने, '७ गतेदेखि भने सबै सार्वजनिक यातायातको अनुगमन गर्ने गरी समिति बनाएका छौं।'

अधिकारीले ट्याक्सीले मिटरमा जान नमाने वा कुनै सार्वजनिक यातायातले तोकिएको भन्दा बढी भाडा लिए विभाग वा ट्राफिक प्रहरी महाशाखामा जानकारी दिनसमेत अनुरोध गरे। अहिले उपत्यकाभित्र न्यूनतम भाडा दर १३ रुपैयाँ रहेको छ तर यातायातले भने न्यूनतम १५ रुपैयाँ उठाउने गरेका छन्।

प्रकाशित: ५ भाद्र २०७३ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App