२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार सञ्चालन सहयोग संयन्त्र गठन

काठमाडौँ-नेकपा(माओवादी केन्द्र)ले सरकार सञ्चालनका लागि सहयोग संयन्त्र गठन गरेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सरकार सञ्चालन सहयोग संयन्त्र गठन गरेको हो। सो समितिमा आवश्यकताका आधारमा सदस्यहरु राखिनेछ।

संयन्त्रले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा आवश्यक सुझाव तथा सल्लाह दिनेछ। संयन्त्रमा नेताहरु रामबहादुर थापा, कृष्णबहादुर महरा, मातृकाप्रसाद यादव, वर्षमान पुन, गिरिराजमणि पोखरेल, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, पम्फा भुसाल र तिलक परियार सदस्य छन्।

केन्द्रका नेता हरिबोल गजुरेलकाअनुसार समितिले सरकारले तत्काल गर्नुपर्ने काम कारबाहीका विषयमा सुझाव दिने र आवश्यक परामर्श गर्नेछ।

यस्तै बैठकले पार्टीको सङ्गठन विभाग पुनःगठन गरेको छ । नेता रामबहादुर थापाको नेतृत्वमा रहेको सो विभागमा १३ सदस्यीय बनाइएको हो । सो समितिमा सातवटा प्रदेशका इन्चार्ज सदस्य रहनेछन्। भने नेताहरु रायमाझी, पोखरेल, मणि थापा र अन्तर्राष्ट्रिय विभागका सदस्यसमेत रहने प्रवक्ता भुसालले जानकारी दिइन्।

त्यसैगरी प्रदेश नं १ को इन्चार्जमा गोपाल किराती र प्रदेश नं ६ को इन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको छ। यसअघि प्रदेश नं १ का इन्चार्ज सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चार मन्त्री र ६ नं प्रदेशका इन्चार्ज जनार्दन शर्मा ऊर्जा मन्त्री बनेका कारण खाली रहेको स्थानमा किराती र बस्नेतलाई जिम्मेवारी दिइएको प्रवक्ता भुसालले जानकारी दिइन्।

बैठकले राजनीतिक र सङ्गठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय गरिएको नेता गजुरेलले जानकारी दिए। बैठकमा सरकारको काम कारबाही र मन्त्रिपरिषद् विस्तारलगायत विषयमा समेत छलफल भएको बताइएको छ। रासस

 

प्रकाशित: ४ भाद्र २०७३ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App