१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

समकालीन नेपाली कथाको धार

महेश पौड्याल

हालसालै, नेपाल–भारत पुस्तकालयमा कथाकार राजेन्द्र पराजुलीको पछिल्लो कथाकृति 'शुक्रराज शास्त्रीको चस्मा'माथि विमर्श कार्यक्रम राखिएको थियो। विमर्शमा पराजुलीलाई प्रश्न सोध्नेमा थिए अर्का लेखक नारायण ढकाल। विमर्शको क्रम चल्न थालेपछि पुस्तकभित्रका कथाको विषयवस्तु र संरचनामाथि चर्चासँगै समकालीन नेपाली कथाकारितामाथि नै गम्भीर बहस र छलफल सुरु भयो। मलाई लाग्छ, विमर्शको पूर्ण अवधिको अधिकांश समय समकालीन नेपाली कथाको कथाव्यथामै केन्द्रित रह्यो। बहसमा चिन्ता स्पष्टै सुनिन्थ्योः कथा विधालाई उपन्यासले नेपथ्यमा पारिदियो। कथा संकटमा छ। यसको बजार खस्कियो।

म यस आलेखमा फरक मतसहित उभिएको छु। कथा पहिला पनि संकटमा थिएन र अहिले पनि छैन। कथा वाचन र लेखन नेपाली समुदायको नैसर्गिक स्वभाव हो। समग्र नेपाली समाजको सामूहिक अवचेतनको जगमा उभिएको कथा कहिल्यै संकटमा छैन। कथा बिकिरहेका छन्, तर नयाँभन्दा पुराना बढी। बीपी कोइराला, गुरुप्रसाद मैनाली, गोविन्द गोठाले आज पनि पाठकको रोजाइमा छन्। नयाँनयाँ आवरण र संस्करणमा यिनका कथा आज पनि सर्वाधिक बिक्रीको सूचमा रहने गर्छन्। हो, केही अलमलका कारण आजको कथाकार भने संकटमा छ। अतिशय प्रयोगवादबाट ग्रस्त कथाले पाठक नपाएको सत्य हो। वैचारिक तटस्थता, शैलीगत विशिष्टता र आफ्नो छुट्टै विश्वदृष्टिसहित आएका समकालीन कथाकार पनि पाठकको रोजाइमा छन् र बजारमा तिनका पुस्तक राम्ररी बिकिरहेका छन्। समाजको यति, गति र लयअनुरूपको साहित्य सिर्जना खासै नेपथ्यमा पर्दैन।

विमर्शमा कथाकारद्वय पराजुली र ढकाल तथा दर्शकदीर्घामा बसेका धेरैजसो जिज्ञासु पाठकले विश्वका केही सफल कथाकारको नाम पटकपटक लिए र कथाकारिताको इतिहासमा उनीहरू मानक र सर्वकालीक बनेर रहेको तर्क गरे। यसरी दोहोर्‍याएर लिइएका नामहरूमा एडगार्ड एलन पो, गाब्रियल गार्सिया मार्खेज, बेन ओकरी र सहादत हसन मन्टो परे। कसैकसैले नोबेल विजेता कथाकार एलिस मुनरोको नाम पनि लिए। भारतीय कथाकार प्रेमचन्द पनि उनीहरूको सम्झनामा आए।

जाँजाजाँदै चर्चा एलिस मुनरोको। मनोवैज्ञानिक यथार्थवादको नजिक पुगेर लेखिएका मुनरोका कथाहरूमा प्रमुख पात्र नारी र किशोरी रहने गर्छन्। साना–साना मनोवैज्ञानिक विषयवस्तुलाई यर्थाथताको परिधिबाट बुन्ने मुनरोको कथाकारितालाई कतिपयले रसियाली कथाकार चेखवसँग पनि दाँजेका छन्।

यी विश्वप्रसिद्ध कथाकारहरूको नामको उच्चारण निकै जोडतोडका साथ गरियो, तर यिनीहरू कुन विशिष्टताका कारण कालजयी हुन पुगे, त्यसमा खासै प्रवेश गरिएन। मलाई लाग्छ, उनीहरूले बोकेको ती विशिष्टता नै ती तŒवहरू हुन्, जुन नेपाली समकालीन कथाकारितामा छैन अथवा कम छ। त्यसैकारण समकालीन नेपाली कथा नेपथ्यमा परेको हुन सक्छ। उपन्यासको भारीभर्कम र जोडतोडको प्रचार–प्रसारको युगमा कथा यसै पनि संकटमा परेको देखिन्छ। त्यसमा पनि कुनै विशिष्ट कलेबर दिएर ल्याइएन भने कथाले संकटबाट गुजि्ररहनुपर्नेए निश्चित छ।

के थियो पो मार्खेज, ओकरी र मन्टोसँग? किन जमिन् मुनरो? कसरी पुनर्परिभाषित गरे उनीहरूले परम्परागत कथा लेखनलाई? कहाँनिर छुट्टै देखियो उनीहरूको लेखन? हो, यी प्रश्नहरूको उत्तर खोज्ने कोसिस यस आलेखमा गरिएको छ।

एलन पोले परम्परित अमेरिकी कथालेखनमा कहिल्यै नदेखिएको नयाँ आयाम खडा गरे। उनको त्रास र वीभत्सतामा 'ग्रोटेस्क राइटिङ' र 'म्याकेबर राइटिङ'को नामबाट प्रख्यात डरको पृष्ठभूमिमा आधारित मनोवैज्ञानिक कथाकारिताको पर्याय आजपर्यन्त भेटिएको छैन। 'टेल–टेल हर्ट', 'द फल अफ द हाउस अफ असर' आदि यस बान्कीका उनका प्रसिद्ध कथाहरू हुन्। कथामा उनले प्रयोग गरेको यस शैलीलाई उनले कवितामा पनि प्रयोग गरे र नयाँ प्रविधिका उन्नायक बन्न पुगे। उनै पो हुन्, जसले पछि विकसित भएको जासुसी कथाको जग बनाए। उनको कथा 'द मर्डर्स इन र रिउ मोर्ग' लाई पहिलो जासुसी कथा मानिन्छ।

मार्खेज धेरैले नाम लिने गरेको, तर थोरैले पर्गेलेर पढेका स्पेनिजमूलका कोलम्बियाली लेखक हुन्। उनको कथाकारिताले जादुयी यथार्थवाद अर्थात् 'म्याजिकल रियालिज्म' जस्तो नवीन लेखनशैलीलाई विकसित गर्‍यो, जसबाट प्रभावित भएर अक्टोभियो पाज र ओह्रान पामुकजस्ता लेखकले दुर्लभ उचाई प्राप्त गरे । यस विधिमा स्वाभाविक र सम्भव लाग्ने घटनालाई तिलस्मी र असम्भवजस्तो देखाउने तथा असम्भवजस्ता लाग्ने घटनालाई समान्यजस्तो देखाउने गरिन्छ। 

मार्खेजको लेखन फगत एक अर्को कथाकारिता होइन। त्यो पश्चिमा हैकमले दबदबा बनाइराखेको आजको युगमा एक वैकल्पिक विश्वदृष्टिको सूत्रपात पनि हो। फ्रेङ्कफर्ट स्कुलका नवमार्क्सवादी चिन्तकहरूले भन्ने गरेको रचनात्मक विनिर्मितिको सिद्धान्तको व्यावहारिक पक्ष भनेकै मार्खेज हुन्। उनको लेखनले पश्चिमी संरचनावादीहरूले निर्माण गरेका आख्यानको ज्यामितिलाई भत्काएर मौलिक शैलीको, दक्षिण अमेरिकी मोडललाई स्थापित गर्‍यो। विगत, वर्तमान र भविष्यमाझ कुनै विभाजन रेखा नकोरिने उनको लेखनशैलीबाट प्रभावित अनेक लेखक विश्वभरि छरिएका छन्। वास्तवमा मार्खेज एउटा युग नै हुन् र गैरपश्चिमा मुलुकबाट उठेर विश्व हल्लाउने लेखकमध्येका एक हुन्।

अफ्रिकी मूलका लेखक बेन ओकरी कथाका माध्यमबाट अफ्रिकी विश्वदृष्टिलाई सतहमा ल्याउने लेखक हुन्। उनले कविता, कथा र उपन्यासमार्फत् अश्वेत विश्वदृष्टिका माध्यमबाट पश्चिमा महाआख्यान र संकथनहरूले वर्षौं लगाएर निर्माण गरेको विभेदकारी र नश्लवादी दृष्टिकोणका विरुद्ध गैर–पश्चिमा विश्वदृष्टिलाई सतहमा ल्याएका हुन्। नाइजेरियाभरि छरिएर बसेका ३०० भन्दा बढी उपाजातिका मिथक र लोककथाको सुवास उनको कथामा पाइन्छ। उनका कथाकारिता कथ्य परम्पराको कलेबरमा कुँदिएएको एक विशिष्ट कालिगडी हो। उनका 'युद्धको छायाँमा' जस्ता प्रख्यात कथाहरू यस उक्तिका परिणति पनि हुन्। आफूले विरासतमा पाएको मौलिक सभ्यताको विशाल धरोहरको जगमा आफ्नो चिन्तनको विशिष्ट धरातल निर्माण गर्न सक्नु कुनै पनि लेखकका लागि एक गम्भीर चुनौती हो र त्यस चुनौतीलाई ओकरीले स्वीकारमात्रै गरेनन्, स्थापित पनि गरे।

जहाँसम्म मन्टोको कुरा छ, भारत–पाकिस्तान विभाजनलाई भित्रैबाट हेरेका उनी यस विभाजनको वीभत्सता र अमानवीयतालाई पूर्वाग्रहविहीन दृष्टिले, कठोर वस्तुताका साथ हेर्ने एकामात्र लेखक हुन्। त्यसैले हुनुपर्छ, सलमान रुस्दीले उनलाई 'आधुनिक भारतीय कथाका निर्विवाद उन्नायक' भनेका छन्। विश्वमा अन्यन्त्र पनि द्वन्द्व र विभाजनहरू भए। ती पृष्ठभूमिमा पनि आख्यानहरू लेखिए, तर तीमध्ये अधिकांश स्थितिमा लेखकले यो वा त्यो खेमाको पक्ष लिएको भेटिन्छ। नेपालमा पनि माओवादी द्वन्द्वका कथा हुन् वा राज्य र आमजनताको द्वन्द्वका कथा, लेखकले कुनै न कुनै खेमाको पक्ष लिएकै पाइन्छ। विभाजनमा पाकिस्तातर्फ पर्न पुगेका र आफैले कठोर दुःख भोगेका मन्टो केवल मानवताको आँखाबाट यस्ता विभाजन र तिनीहरूको विसंगतिको इमानदार चित्रणमा पारंगत छन्। लेखक अनिवार्यतः कुनै न कुनै विचाराधारा र दृष्टिबिन्दुमा दीक्षित हुन्छ र उसको लेखन त्यसैको कलेबरमा कुँदिएको हुन्छ भन्ने आमधारणालाई चुनौती दिएर मन्टोले एक विशिष्ट आख्यानकारको रूपमा आफूलाई स्थापित गरे।

जाँजाजाँदै चर्चा एलिस मुनरोको। मनोवैज्ञानिक यथार्थवादको नजिक पुगेर लेखिएका मुनरोका कथाहरूमा प्रमुख पात्र नारी र किशोरी रहने गर्छन्। साना–साना मनोवैज्ञानिक विषयवस्तुलाई यर्थाथताको परिधिबाट बुन्ने मुनरोको कथाकारितालाई कतिपयले रसियाली कथाकार चेखवसँग पनि दाँजेका छन्। वेस्ट ओन्तारियो नामक सानो सहरका वरिपरि बुनिएका उनका कथामा पात्रहरू बदलिँदो उमेर, समय र परिवेशसँग जुधिरहेका हुन्छन्, जसका कारण नयाँ द्वन्द्वहरू उत्पन्न भएर आइरहेका हुन्छन् र पात्रको मनस्थितिलाई प्रभावित पारिरहेका हुन्छन्। उनका साहित्यको लोकप्रियता नै मान्नुपर्छ, मानिसहरू पश्चिम ओन्तारियोलाई 'मुनरोको सहर' पनि भन्छन्।

पात्रलाई चित्रण गर्ने र परिभाषित गर्ने उनको अभूतपूर्व कला हरेक कथामा देखिँदै जान्छ र उनको समग्र लेखन यस कुराको पुष्टि हो। उनका कथाहरू छुट्टाछुट्टै भएर पनि एउटा अदृश्य तादात्म्यको तारले जोडिएको हुन्छन्। 'डान्स अफ हेप्पी स्टेट्स'  लाई नै हेर्ने हो भने पनि १५ वटा कथाका बीचमा एउटा क्रमिकता छ र तिनीहरू पश्चिम ओन्तारियोको एउटा सानो सहरको साँघुरो जिन्दगीका अभिव्यक्ति हुन्। उनको  अधिकांश कथामा एउटी तरुनी किशोरीका कथा भेटिन्छन्। र, उनका सबै कथालाई जोड्ने दुईवटा विषयवस्तु भेटिन्छन् :  एउटा बालिका, किशोरी वा तरुनी, जो आफैमा उसको उमेरभन्दा बढी वयस्क छे र पौढहरूको संसारलाई बु‰ने प्रयास गरिरहेकी छे। दोस्रो, त्यस सानो सरहको सामाजिक परिधिभन्दा बाहिर रहेको कुनै चरित्रको दिनचर्या। तरुण नारीको मनोदशालाई अभिव्यक्त गर्ने यस कलालाई समालोचक रोजाली मर्फी बलले अर्की केनेडियाली लेखिका मार्गरेट रलेन्ससँग पनि तुलना गरेकी छन्।

मुनरोका अधिकांश कथा सीधै घटनामा प्रवेश गर्छन्। पृष्ठभूमिको कुनै जानकारी गराइएको हुँदैन। पात्रहरूको पनि त्यस्तो पृष्ठभूमि र चित्रण गरिएको हुँदैन। हुन त प्रख्यात कथाकार केथरिन मेन्सफिल्डजस्ता लेखकले पहिले नै प्रयोगमा ल्याएको शैली हो यो, तर मुन्रोले यसलाई जमेर प्रयोग गरिन्। र, आफ्नो निजत्व यसै शैलीको विलक्षण प्रयोगमार्फत् स्थापित गरिन्। आज त कथालेखनको यो एउटा लोकप्रिय शैली नै बनिसकेको छ।

मुनरोका कथाभित्रको कथावाचक आफ्नो परिवेशको सधैँ अधुरो र अस्पष्ट चित्रणमात्र प्रस्तुत गरिरहेको हुन्छ, जसबाट जुन पाठ पढे पनि यी अस्पष्टताले उसलाई कतै यो परिवेश उसैको पो हो कि भन्ने अनुभूति दिइरहन्छ र पाठक कथासँगै हेलिन पुग्छ। उनका किशोर पात्रहरूको मनोदशा निकै अस्पष्ट भएर आइदिन्छ, लाग्छ ऊ वयस्कहरूको संसारसँगको साक्षात्कारले अल्मल्लिएको हो कि कुनै वयस्कले आफ्नो किशोरवयका अनुभूतिलाई सम्झेर अन्यमनष्क भएको हो! यो अवस्थामा किशोर होस् या प्रौढ, दुवैथरी पाठकले मुनरोका पात्रको अल्मलमा आफ्नै जीवनका अल्मलहरू चित्रित भएको पाउँछ। यसरी, नियोजितरूपमा कथामा क्रमभंगताको अविष्कारद्वारा पात्रको मनोद्वेगलाई लगेर पाठकको सम्भावित या अनुमानित मनोद्वेगसँग जोड्ने मुनरोको कला विलक्षण छ।

कथाकारका रूपमा विश्वकै लागि मानक बनेका यी लेखकहरूसँग विशिष्ट केही छ, जो अरुमा छैन। यस सूचीमा हामी रविन्द्रनाथ ठाकुर, मोपाँसा, ओ हेनरी, नेथेनियल हाउथ्रोन र चिनुवा अचेबेलाई पनि जोड्न सक्छौँ। उनीहरूले हरेक आख्यानमा आफ्नो एउटा छुट्टै शैली र  विश्वदृष्टिलाई विकसित गरे र एक वैकल्पिक तर्कका रूपमा सतहमा ल्याएर स्थापित पनि गराए। उनीहरूका आख्यानका बीच, त्यस विश्वदृष्टिमा कुनै विरोधाभास छैन। उनीहरूले आफ्नो वैचारिक स्पष्टताको जगमा उभिएर कथा लेखे र विश्वसँग संवाद गरिरहे। परम्परित र स्थापित मान्यता, कौशल र शैलीभन्दा फरक, आफ्नै लागि उनीहरूले सिर्जनाको एक छुट्टै आकाश निर्माण गरे। त्यसैले त उनीहरू जीवन्त छन्।

नेपाली कथाको वर्तमान र भविष्यको हकमा यी मूल्यांकन महत्वपूर्ण मार्गदर्शक हुन सक्छन्। बीपीको यौन मनोविज्ञान र राजनीति, मैनालीको ग्रामीण परिवेशका सूक्ष्म मनोदशा र सामाजिक यथार्थ, रमेश विकलको नेपथ्यका मानिसको चित्रण र सामाजिक विभेदको आख्यान, गोठालेको मनोवैज्ञानिक यथार्थवादी लेखन उनीहरूका विशिष्टता हुन्, जसका कारण नेपाली कथा परम्परामा उनीहरू शीर्षस्थ छन्। त्यस पुस्तापछि पनि कथाकारितामा विशिष्ट पहिचानका साथ आएका कथाकारहरू मनु ब्राजाकी, नारायण ढकाल, कृष्ण धरावासी, नयनराज पाण्डे, कुमार नगरकोटीलगायतले नेपाली पाठकलाई शैलीगत विशिष्टता स्थापित हुने केही आश्वासन दिएका छन्, र उनीहरूका कथाका पुस्तक बिक्रीमा पनि अब्बल छन्। अन्य कथाकारले पनि आफूभित्र एउटा छुट्टै शैलीगत विशिष्टता, मौलिक भावभूमि र स्पष्ट विश्वदृष्टि खोज्नुपर्छ, जो अरुसँग छ्यासमिस नहोस् र जो आफैभित्र विरोधाभासपूर्ण पनि नहोस्। अनुभव भन्छ, नेपालमा संरचनात्मक हिसाबले धेरै प्रयोगवादी आख्यान खासै जम्दैन। ती केही कुरालाई ध्यानमा राख्दै, मौलिक नेपाली अनुभव, स्थानीय ज्ञानकोश र नवीन विश्वदृष्टिका साथ आउने कथाको भविष्य उज्ज्वल देखिन्छ।

प्रकाशित: ४ भाद्र २०७३ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App