१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली सरकार र पार्टी दुवैमा  शक्तिशाली बन्दै

 विराटनगर – संसदीय दलमा प्रष्ट बहुमत हुँदाहुँदै मुख्यमन्त्री पदमा हार व्यहोर्नु परेयता एमाले प्रदेश १ मा केन्द्रीय अध्यक्ष केपी ओली विरोधी समूहभित्रको विवाद झन्–झन् बढ्दै गएको छ । ओली सरकार र पार्टीमा निरन्तर शक्तिशाली बन्दै गइरहेका बेला पार्टीभित्रको उनी विरोधी समूह भने अझ  कमजोर बन्दै गएको छ। 

 पार्टीभित्र सधैं ओली विरोधी खेमामा उभिएका  झलनाथ खनाल र माधव नेपाल समूहका  नेताहरु प्रदेश संसदीय दलको चुनावपछि आफैं विभाजित मात्रै बनेका छैनन् आपसमा बोलचालसमेत बन्द गरेका छन् । बलियो पार्टीभित्रको प्रतिपक्ष भनिएको नेपाल–खनाल पक्ष आपसी विवादले कमजोर बनेपछि त्यसको स्वाभाविक फाइदा संस्थापन ओली पक्षले लिएको छ। 

केपी ओलीको सत्तारोहणसँगै नेता माधव नेपाल पनि संस्थापनतिरै लहसिन थालेपछि प्रदेश १ मा ओली  विरोधी समूह थप दबाबमा छ।

‘अहिले हाम्रो समूह आफैँभित्र ठूलो लडाइँको अवस्थामा छ’, ओली विरोधी गुटका प्रदेशसभाका एक सदस्यले भने, ‘यसले हामीलाई कि पूर्ण रुपमा कमजोर बनाउँछ, कि नयाँ ढंगले उठ्ने अवस्था ल्याउनेछ ।’  पहिलेदेखि ओलीको विपक्षमा उभिँदै आएका नेताहरु यतिबेला कति त्रस्त छन् भने पार्टीभित्रको विवादबारे बोल्नसमेत डराइरहेका छन् । ‘सरकारले पूर्णता पाइसकेको छैन, संसदीय समितिहरु पनि बन्ने क्रममा छन् । माओवादीसँग पार्टी एकता प्रक्रिया पनि जारी छ’, ती सांसदले भने ‘यस्तो बेलामा खुलेर बोल्ने जोखिम कसले उठाउँछ ?’ 

नेताहरुले यसबारे केही नबोले पनि एमालेमा ओली विरोधी समूहभित्र आपसी विवाद र बेमेलचाहिँ छिपेको छैन । यसको सुरुवात १ नम्बर प्रदेशको मुख्यमन्त्री चयनका क्रममै प्रष्ट देखियो । प्रदेश १ मा एमालेका ५१ सांसदमध्ये ३१ जना माधव नेपाल समूहका थिए । ओली पक्षका २० जनामात्रै थिए । तर, संसदीय दलको नेतामा ओली पक्षका शेरधन राईले २६ मत ल्याएर भीम आचार्यलाई २४ मतमा सीमित पारे ।  संसदीय दलमा प्रष्ट बहुमत हुँदाहुँदै माधव नेपाल पक्षका आचार्य पराजित हुनुमा उनकै समूहभित्रकै असहयोग मुख्य कारण थियो । एमाले नेताहरुका अनुसार संसदीय दलमा उम्मेदवार बन्ने बेलामै नेपाल समूहमा असमझदारी उत्पन्न भएको थियो । झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रवीन कोइराला, जगनन्नाथ खतिवडालगायत नेता आचार्यको साटो जीवन घिमिरेलाई अघि बढाउनुपर्ने पक्षमा थिए । तर, नेपाल र केन्द्रीय सचिव योगेश भट्टराई भने ‘सिनियर’ भएका कारण आचार्यलाई नै संसदीय दलमा लैजानुपर्ने  अडानमा थिए। 

अन्ततः नेपाल समूहले आचार्यलाई अघि सारेपछि प्रदेश १ का घिमिरे, कोइराला, खतिवडा, भाष्कर काफ्लेलगायत नेताहरु खुलेरै मुख्यमन्त्रीमा राईको पक्षमा उभिए । नेपाल समूहमा  प्रभाव राख्ने प्रदेश १ का मुख्य चार नेता आचार्यको विपक्षमा उभिँदा उनको मुख्यमन्त्री बन्ने सपना चकनाचुर भयो ।  आचार्य आफूभन्दा ‘जुनियर’ राईसँग पराजित भए । मुख्यमन्त्री चयन भएलगत्तै राईले घिमिरेलाई सामाजिक विकासमन्त्री नियुक्त गरेर गुन तिरिहाले । यतिबेला घिमिरे र आचार्य समूहका नेताहरुबीच बोलचाल बन्द भएको स्रोतको दाबी छ । अहिले आचार्य आफू कुनै समूहमा नरहेको बताउँदै हिँडेका छन् भने घिमिरेचाहिँ ओली विरोधी समूहको नयाँ नेता बन्ने दौडमा लागेका छन् । अघिल्लो सातामात्रै घिमिरेकै नेतृत्वमा विराटनगरमा ओली विरोधी सांसदको भेला भएको थियो । सीमित संख्याको उक्त भेलामा आचार्य अनुपस्थित थिए । 

ओलीको सत्तारोहणसँगै नेता नेपाल पनि संस्थापनतिरै लहसिन थालेपछि प्रदेश १ मा ओली  विरोधी समूह थप दबाबमा परेको छ । विगतदेखि नै ओली विरोधी समूहमा रहेकाहरुले नै समूह छाड्ने क्रम सुरु भएपछि यो गुट अत्तालिएको छ । त्यसैले केन्द्रसँगै प्रदेशमा पनि यो  समूह नयाँ नेता खोज्ने तयारीमा जुटेको नेताहरु नै बताउँछन् । ‘हामी अब नयाँ ढंगले अघि बढ्ने प्रयासमा लागेका छौं’, एमाले केन्द्रीय कमिटीका एक सदस्यले भने, ‘प्रदेशमा भीम आचार्य र केन्द्रमा माधव नेपाल दुवैबाट हाम्रो नेतृत्व हुनसक्ने छाँट देखिन्न ।’ 

झापाबाट उदाएर एमालेभित्र बलियो पकड बनाउँदै लगे पनि ओलीका लागि पूर्वका जिल्लाहरु अन्यत्रभन्दा सांगठनिक प्रभावका दृष्टिले कमजोर मानिन्थे । केही वर्षअघि ओलीकै गृहजिल्ला झापामै उनी समर्थक प्यानल जिल्ला कमिटीमा पराजित बनेको थियो । तर, अहिले जिल्ला नेतृत्वमा ओली समूहको एकछत्र प्रभाव रहे पनि त्यही गुटभित्रै पनि दुई समूह बनेको छ । प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले नेतृत्व गरेको एउटा समूह र ओलीका पुराना सहयोगी देवेन्द्र दाहालले नेतृत्व गरेको समूह सक्रिय छन् भने विरोधी गुटमा पनि एउटाको नेतृत्व कोइराला र अर्कोको नेतृत्व  नरेश खरेलले गरेका छन् । झापामा ओली विरोधी गुटको कोइराला खेमा र ओली समर्थक कार्की समूहबीच ‘कार्यगत एकता’ छ । 

प्रकाशित: २६ फाल्गुन २०७४ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App