१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पश्चिम नेपाल भ्रमण बर्ष २०७५ को तयारी

कञ्चनपुरको शुक्लाफाँटामा पर्यटन बिकासका बिषयमा छलफल गर्दै सरोकारवालाहरु । तस्विर : नागरिक

डोटी – पश्चिम नेपालको पर्यटन प्रबर्द्धनका लागि सरोकारवालाहरुले २०७५ लाई ‘पश्चिम नेपाल भ्रमण बर्ष’का रुपमा मनाउने तयारी थालेका छन्। यहि फागनु १४ र १५ गते कञ्चनपुरको शुक्लाफाँटामा बसेको पश्चिम नेपाल पर्यटन सञ्जालको बैठकले भ्रमण बर्ष मनाउने निर्णय गरेको हो। ‘बोर्डले आन्तरिक तयारी थालिसकेको छ,’ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण बहादुर महराले भने, ‘दुई साताभित्रै कार्यक्रम सार्वजनिक हुन्छ।’

पश्चिम नेपालका पर्यटन गन्तब्यहरुको प्रबद्र्धन गर्ने उद्देश्यले भ्रमण बर्षको बार्षिक अभियान सञ्चालन गरिन लागेको हो। ‘सुदूरका पर्यटकिय गन्तब्यहरुको प्रबद्र्धन गर्ने नै मुख्य उद्देश्य रहनेछ,’ महराले भने, ‘प्रमुख गन्तब्यलाई आधार बनाएर आसपासका सबै गन्तब्यहरुको प्रबद्र्धनमा जोड दिईनेछ।’ प्रमूख गन्तब्यमा खप्तड, रारा, शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जलाई राखेर तयारी भैरहेको महराले बताए। 

त्यसबाहेक अपिनम्पा, अपि र सैपाल हिमाल, बडिमालिका, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरु, तालतलैयाहरु, संरक्षित क्षेत्रहरुलाई सहायक गन्तब्य बनाएर प्रबद्र्धनका कार्यक्रम तय गरिने तयारी छ। साथै ‘एक स्थानिय तह, एक गन्तब्य’को अबधारणा बनाएर सबै स्थानीय तहलाई पर्यटनसँग जोड्नेगरी तयारी थालिएको छ। ‘गन्तब्यको सम्भावना रहेका स्थानीय तहका प्रमूखहरुसँग प्रारम्भिक छलफल भएको छ। बाकीसँग पनि छलफल हुनेक्रममा जारी छ,’ कार्यकारी सदस्य महरा भन्छन्, ‘कम्तिमा एउटा स्थानिय तहमा एउटा गन्तब्य बनाउने सके त्यसले पर्यटकहरु यहाँ बढी दिन बिताउन सक्ने र आम्दानीका क्षेत्रहरु बढ्न सक्छन्।’ 

अभियानका क्रममा ७ नम्बर प्रदेशका सबैजसो गन्तब्य ५ र ६ नम्बर प्रदेशका केही गन्तब्यहरुलाई प्रबद्र्धन गर्नेगरी कार्यक्रम भैरहेको छ। जसमा बाँकेदेखी सुरु भएर ७ नम्बर प्रदेशका सबै जिल्ला समेट्दै ६ नम्बर प्रदेशका अधिकांश जिल्लाका पर्यटन गन्तब्यहरु समेटिनेछन्। यो बार्षिक अभियानमा नेपाल पर्यटन बोर्डका साथै, केही स्थानिय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरु र प्रदेश सरकारको सहकार्य रहने तयारी हुँदैछ। 

पश्चिम नेपालमा पर्यटनको प्रचूर सम्भावना हुँदाहुँदै पनि यसबाट फाईदा लिन नसकेको अबस्थामा बार्षिक अभियान संचालन हुने खबरलाई ब्यबसायीहरुले सकारात्मक रुपमा टिप्पणी गरेका छन्।  ‘पर्यटन सबैभन्दा सजिलो ब्यबसाय हो। त्यसमा पनि पश्चिम नेपालमा थुप्रै पर्यटकिय स्थलहरु छन्। जसलाई भजाएर हामीले मनग्य आम्दानी गर्नसक्छौ,’ कञ्चनपुरका पर्यटन ब्यबसायी प्रमानन्द भण्डारी भन्छन्, ‘तर सरकारले पर्याप्त मात्रामा ध्यान नदिदा ओझेल परेको छ। यो कार्यक्रमले पर्यटन गतिबिधि बढ्न सक्छ।’ 

सरकारी निकायले नै सक्रियता जनाउदा सकारात्मक सन्देश प्रबाह हुने बर्दियाका पर्यटन ब्यबसायी राम बहादुर शाही बताउछन्। अभियानसँगै पर्यटनमैत्री नीतिहरुको पनि उत्तिकै आवश्यकता रहेको ‘सुन्दर सुदूरपश्चिम’ का अभियान्ता गोपाल हमाल बताउँछन्। ‘हाम्रा केही नीतिहरु छन् जसले पर्यटनमा असर गर्छन्। तीनलाई पनि संगसंगै सुधार गरेर लैजानुपर्छ,’ उनले भने,‘साथै हामीसँगै जोडिएको भारतको दुधुवामा आउने पर्यटकलाई मात्रै भिœयाउने हो भने पनि पर्यटन बिकास सम्भव छ।’ 

पर्यटन गन्तब्यको प्रबद्र्धन र आधारभूत पूर्बाधारका कार्यक्रम पनि सँगसँगै लैजानुपर्नेमा दिपायलका होटल ब्यबसायी दीपक खड्का बताउछन्। ‘गन्तब्य छन्। तर पर्यटनमैत्री पुर्बाधार छैनन्। कम्तिमा पर्यटनमैत्री पूर्बाधार पनि बनाउँदै लैजाने हो भने, अहिले आउने पर्यटकबाट बाहिर सकारात्मक सन्देश जानेछ,’ उनले भने। 

प्रकाशित: २५ फाल्गुन २०७४ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App