१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सीमा सुरक्षामा भारत 'गम्भीर'

काठमाडौं- भारतले नेपालसँगको सीमासुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपाल–भारत सीमामा हुने गरेका विभिन्न गतिविधि र अस्थिरताप्रति नेपालको ध्यानाकर्षण गराउँदै भारतले सीमामा सुरक्षा सतर्कता बढाउन नेपालसमक्ष आग्रहसमेत गरेको छ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा सीमासुरक्षाको मुद्दा गम्भीर रुपमा उठाएका हुन्।

नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा छ।

'नेपालको सीमामा हुने गतिविधिले भारतलाई र भारतको सीमामा हुने गतिविधिले नेपाललाई असहज महसुस हुनु हुँदैन। सीमामा अस्थिरता भए दुवैतर्फ सुरक्षा खतरा बढ्न सक्छ। हामी सुरक्षित भारत मात्र होइन, सुरक्षित नेपाल पनि हेर्न चाहन्छौं,' भारतीय गृहमन्त्री सिंहलाई उद्वृत गर्दै भेटवार्तामा सहभागी एक स्रोतले भन्यो।

विशेष दूत निधि पाँचदिने भारत भ्रमण सिलसिलामा बिहीबार नयाँदिल्ली पुगेका हुन्। उनले शुक्रबार र शनिबार महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। उनले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री सिंह र विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गरेका थिए। शनिबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्।

विशेष दूत निधिले गृहमन्त्री सिंहबाट राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। भेटवार्तामा सिंहले सीमा सुरक्षामा आफ्नो ध्यान केन्द्रित गरेका थिए। नेपाली सीमाभित्र हुने गरेका गतिविधिलाई उनले पटक–पटक उठाएका थिए। खासगरी मधेस आन्दोलनलाई इंगित गर्दै उनले सीमा नजिकका क्षेत्रमा लामो समय अस्थिरता हुँदा विभिन्न समूहले त्यसको फाइदा उठाउन सक्नेतर्फ नेपालको ध्यानाकर्षण गरेका थिए।

सीमामा हुन सक्ने आपराधिक गतिविधि, अन्तरदेशीय अपराध, मानवतस्करी, आतंकवादी समूहका गतिविधि, लागुपदार्थ ओसारपसार, नक्कली नोट कारोबार लगायत क्रियाकलाप रोक्न नेपाल–भारत सीमालाई थप व्यवस्थित गर्नुपर्नेमा भारतीय गृहमन्त्री सिंहले भेटवार्तामा जोड दिएका थिए।

'सीमासुरक्षालाई थप व्यवस्थित गर्न जरुरी छ। यसका लागि गम्भीर छलफल आवश्यक छ,' सिंहले भने।

सिंह र निधिबीचको भेटवार्तामा संयुक्त सुरक्षा चेकपोस्टका विषयमा पनि संक्षिप्त कुराकानी भएको थियो। सीमालाई बढी सुरक्षित र व्यवस्थित गर्न संयुक्त सुरक्षा चेकपोस्ट निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने सिंहले बताएका थिए। चेकपोस्ट निर्माणमा नेपालतर्फबाट सुस्त गति देखिएकामा उनले चिन्ता व्यक्त गरेका थिए। सिंहले सीमानजिक नेपालभित्र बनेको सडक बाटोमा पनि चासो व्यक्त गरेका थिए।

भारतीय गृहमन्त्री सिंह सीमासुरक्षा र सीमानजिक निर्माण भएका तथा हुने सडक बाटोमा बढी नै केन्द्रित भएपछि विशेष दूत निधिले सीमा अवलोकनका लागि भन्दै उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। 'सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कस्तो छ, सडक बाटो कस्ता छन्– अवलोकन गर्नको लागि विशेष दूतज्यूले भारतीय गृहमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ,' निधि–सिंह भेटवार्तामा सहभागी स्रोतले भन्यो।

भारतीय गृहमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको विशेष दूत निधिले पनि बताए। नागरिकसँग नयाँदिल्लीबाट टेलिफोनमा संक्षिप्त कुराकानी गर्दै उनले भने, 'भारतीय गृहमन्त्रीज्यूलाई काठमाडौं र जनकपुर भ्रमणका लागि निम्तो दिएको छु।' उनले गृह मन्त्री सिंहसँग नेपाल–भारत द्विपक्षिय सबै मुद्दामा छलफल भएको बताए।

भेटमा भारतीय गृहमन्त्रीले नेपालमा राजनीतिक स्थिरता र संविधान कार्यान्वयन भएको भारतले हेर्न चाहेको स्पष्ट पारे। संविधान कार्यान्वयनपछि राजनीतिक स्थिरता कायम हुने बताउँदै उनले त्यसपछि मात्र विकासले गति लिने बताए।

'नयाँ संविधान कार्यान्वयन भएको हामी हेर्न चाहन्छौं। यसका लागि राजनीतिक स्थिरता आवश्यक छ,' सिंहले भने, 'तपार्इंहरुले राजनीतिक स्थिर कायम गर्न र संविधान कार्यन्वयनका लागि मधेसी दलसँग जुन सहमति गरी संवाद अघि बढाउनुभएको छ, त्यसमा हामी खुसी छौं।'

संविधान संशोधनमार्फत मधेसकेन्द्रित दलको माग सम्बोधन गरी विकासका गतिविधिलाई अघि बढाउन उनले नेपालका विशेष दूत निधिलाई सुझाव दिएका थिए। जवाफमा निधिले राजनीतिक अस्थिरता छिटै अन्त्य भई नेपाल विकास र समृद्धिको बाटोतर्फ अघि बढ्ने विश्वास सिंहलाई दिलाएका थिए।

प्रकाशित: ४ भाद्र २०७३ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App