२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

चीनको लिन्यी सीटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओ र महासंघकी अध्यक्ष भवानी राणा समझदारीपत्रमा हस्ताक्षरपछि हात मिलाउँदै ।

काठमाडौं – नेपाल र चीनका उद्योगीबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ। 

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटीबीच व्यवसायिक सहकार्यको समझदारी भएको हो। महासंघकी अध्यक्ष भवानी राणा र चीनको लिन्यी सीटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

सहमति अनुसार दुई देश बीचको आर्थिक व्यवसायिक विस्तारमा दुवै संस्थाले सहकार्य गर्ने, सहकार्यका सम्भाव्य क्षेत्रहरू पहिचान गर्ने, लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराउने, व्यवसायिक भ्रमणको आदान प्रदान गर्ने, दुबै देशमा व्यापार मेला लगायतका प्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने, लिन्यी सीटीबाट नेपालमा व्यापार, लगानी, प्रविधि, सीप आकर्षणका लागि सहकार्य गरिने छ। 

चिनीयाँ प्रतिनिधिमण्डल भोलि (विहीबार)देखि काठमाडौंमा सुरू हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ मा भाग लिने क्रममा नेपाल आएको हो।

हस्ताक्षरपछि महासंघकी अध्यक्ष राणाले अन्तर्राष्ट्रिय व्यापार मेलाको माध्यमबाट नेपालमा रहेका सम्भावनाहरूको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डललाई नेपालमा लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराइन। नेपाल अब स्थिरता तर्फ अगाडि बढिसकेको जानकारी गराउँदै अध्यक्ष राणाले ढुक्क भएर लगानी गर्न आग्रह गरिन। । नेपालमा यसअघि पनि धेरै चिनीयाँ कम्पनीहरूको लगानी रहेको र नेपाल एक व्यवसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा स्थापित भैसकेको समेत अध्यक्ष राणाले स्पष्ट पारिन। 

चिनियाँ प्रतिनिधिमण्डलका टोली नेता लिन्यी सीटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओ ले आफू व्यवसायिक सम्भाव्यता खोजीका लागि पहिलो पटक नेपाल भ्रमणमा आएको बताए। सो अवसरमा उपाध्यक्ष लीले महासंघसंगको समझदारीपत्रमा हस्ताक्षर सहकार्यको सुरूवात भएको बताए। 

महासंघका कार्यकारिणी समितिका सदस्यहरू, चिनीयाँ उद्यमी व्यवसायीहरू, महासंघका महासचिव सुरेश मान श्रेष्ठ लगायतका उपस्थित उक्त कार्यक्रममा चिनियाँ व्यवसायीहरूले आफ्ना उद्योग धन्दा एवं उत्पादनको बारेमा प्रस्तुतीमार्फत जानकारी समेत गराएका थिए। 

प्रकाशित: २३ फाल्गुन २०७४ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App